तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकामा मृत्युदण्ड दिने क्रममा घातक इन्जेक्शनबाट बचेकी कैदीलाई 'होस आयो'
संयुक्त राज्य अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा गत साता घातक इन्जेक्शन दिइए पनि बाँच्न सफल एक कैदीलाई "होस आइसकेको र कुराकानी गर्न थालेको" उनका वकिलले बताएका छन्।
हतकडी लगाइएको अवस्थामा ५० वर्षीया क्रिस्टा पाइकको सघन उपचार जारी रहेको मङ्गलवार जारी एउटा वक्तव्यमा जनाइएको छ।
पाइकलाई सन् १९९६ मा कोलीन स्लेमरको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो।
उक्त सजाय कार्यान्वयनका क्रममा गत बुधवार दुई वटा घातक इन्जेक्शन दिइए पनि त्यो विफल भएको थियो।
त्यसपछि उनलाई अस्पताल पुर्याइयो, जहाँ चिकित्सकहरूले घातक इन्जेक्शनको रसायन उनको शरीरबाट झिके।
विज्ञ तथा पाइकको कानुनी टोलीले उनको स्वास्थ्य अवस्थामा भएको सुधारलाई "अभूतपूर्व" भनेका छन्। अहिलेसम्म त्यस प्रकारकाो घातक इन्जेक्शनबाट बाँच्न सफल उनी मात्र भएको बताइएका छन्।
पाइककी वकिलले उनको स्वास्थ्यमा भएको सुधारलाई "चिकित्सकीय रूपमा अभूतपूर्व" भएको बताइन्।
उनको स्वास्थ्य अवस्थाबारेको पूर्वानुमान अझै स्पष्ट नभए पनि "कम्तीमा पनि हामी लामो समयसम्म स्वास्थ्यलाभको अपेक्षा गर्छौँ।"
फोर्डहम ल स्कूलस्थित अपराधशास्त्री तथा प्राध्यापक डेबरा डेन्नोले पाइक होसमा रहेको र बोल्न सकिरहेकोमा आफू "पूर्ण रूपमा आश्चर्यचकित" भएको बताइन्।
घटनाको नालीबेली
आफू १८ वर्षकी छँदा पाइक र उनका तत्कालीन प्रेमी ट्याडारिल शिपले १९ वर्षीय स्लेमरलाई कुटपिट गरी यातना दिएर हत्या गरेका थिए।
गत बुधवार उनको मृत्युदण्ड दिने प्रयास अन्तिम समयको कानुनी लडाइँको विषय बनेको थियो। अन्ततः अमेरिकी सर्वोच्च अदालतले घातक इन्जेक्शनमार्फत् मृत्युदण्डको प्रक्रिया अघि बढाउन अनुमति दिएको थियो।
मृत्युदण्डको प्रक्रिया अघि बढोस् भन्ने चाहँदै त्यसको साक्षी बन्न टेनेसी पुगेकी स्लेमरकी आमा मे मार्टिनेजले सो असफल प्रयासपछि एनबीसी न्यूजसँग कुरा गर्दै उक्त घटनालाई "भद्रगोल" भएको बताएकी थिइन्।
वकिल र्यान्डी स्पाइभीका अनुसार दोस्रो पटक घातक औषधि दिइएको केही मिनेटमा पनि "पाइक अझै सास फेरिरहेकी छिन् भन्ने स्पष्ट भएपछि" त्यो हेरिरहेकाहरूलाई पर्दा पछाडि एउटा अँध्यारो कोठामा राखिएको थियो।
मृत्युदण्डको प्रक्रिया सम्हाल्ने टेनेसीको डिपार्टमन्ट अफ करेक्शनले उक्त मामिलामा आफूले अपनाएको कार्यशैलीको प्रतिरक्षा गरेको थियो।
एउटा विज्ञप्तिमा उसले "महान्यायाधिवक्ताको कार्यालयबाट स्वीकृत राज्यको कानुनी र स्थापित मृत्युदण्डसम्बन्धी कार्यविधि (प्रोटोकल) को चरणबद्ध पालना गरेको" भनी उल्लेख गरेको थियो।
अदालतमा उनका वकिलहरूले पेस गरेको विवरणअनुसार पहिलो प्रयास असफल भएपछि राज्यको कार्यविधिबमोजिम पाइकलाई 'पेन्टोबार्बिटल' रसायनको दुई मात्रा दिइएको थियो। तर त्यसपछि पनि उनी जीवितै रहिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।