कोभिड यूके: कोरोना भाइरस महामारी सुरु भएयता एकैदिन सर्वाधिक सङ्ख्यामा सङ्क्रमण पुष्टि, ओमिक्रोनको प्रकोप बढ्दो

कोभिड
Published

बुधवार यूकेमा ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड पुष्टि भएको छ। कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका सङ्क्रमितको यो सर्वाधिक सङ्ख्या हो।

यसअघि गत ज्यानुअरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि हुँदा यूके लकडाउनमा थियो।

इङ्ल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटीले त्यस्तो रेकर्ड सङ्ख्या आउँदा केही सातामा कैयौँपटक भङ्ग हुने बताएका छन्।

एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले क्रिस्मसका बेला जमघट गर्नुअघि मानिसहरूले के कुरा महत्त्वपूर्ण हो भन्ने प्राथमिकता निर्धारण गर्न सक्नुपर्ने बताए।

उनीसँगै उभिएर बोलेका प्रधानमन्त्री बोरिस जोनसनले कोभिड खोपको बूस्टर मात्रा लिनु निकै महत्त्वपूर्ण रहेको बताए।

जोनसनले केही ठाउँमा दुई दिनभित्रै सङ्क्रमितको सङ्ख्या दोबर भएको पाइएको बताए।

उनका अनुसार राष्ट्रव्यापी रूपमा अस्पताल भर्ना हुने दर १० प्रतिशतले र लन्डनमा झन्डै एकतिहाइले बढेको देखिन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड नेपाल: 'बूस्टर मात्रा भिन्दै कम्पनीको लगाउँदा पनि फरक पर्दैन'

यूकेमा एकसाथ दुई प्रकोप

लन्डनमा ओमिक्रोनको सङ्क्रमण फैलिरहेको छ।

प्राध्यापक विटीले यतिखेर यूकेले एकसाथ दुई छुट्टाछुट्टै प्रकोप झेलिराखेको बताए।

उनका अनुसार उक्त प्रकोप अहिले निकै छिटो फैलिरहेको ओमिक्रोन र पहिलादेखि फैलिरहेको डेल्टा भेरिअन्टका कारण बनेको हो।

अहिले भाइरससँग सम्बन्धित मृत्युको सङ्ख्या भने ह्वात्तै बढेको देखिँदैन।

विगत २८ दिनमा त्यहाँ कोभिड पुष्टि भएका मानिसमध्ये १६५ जनाको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ।

ओमिक्रोन

युरोपमा चिन्ता

युरोपेली सङ्घ ईयूको स्वास्थ्य निकायले सन् २०२२ को सुरुसम्ममा कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट युरोपमा सबैभन्दा प्रभावशाली स्ट्रेन हुने भन्दै चेतावनी दिएको छ।

उसको चेतावनीमा त्यसले अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढाउने समेत बताइएको छ।

कोभिड

युरोपियन सेन्टर फर डिजीज प्रीभेन्शन एन्ड कन्ट्रोलले सामाजिक दूरी, मास्क र बूस्टर खोप कार्यक्रममा जोड दिएको छ।

युरोपेली आयोग प्रमुख उर्जुला भोन देर लायन भन्छिन्, "नयाँ सङ्क्रमण दोबर बन्ने समय हेर्नुभयो भने ओमिक्रोनका हकमा दुई वा तीन दिन देखिन्छ। यो निकै धेरै हो।"

युरोपेली स्वास्थ्य आयुक्तले ईयू देशहरूलाई आफ्ना क्षमता बढाउन आग्रह गरेका छन्।