'न्यूमोनिक प्लेग' कोभिडजस्तै विश्वभर फैलन सक्ने सम्भावना कति

ईर्कुट्स्क क्षेत्रस्थित 'एन्टी-प्लेग इन्स्टिचट्यूट' को प्रवेशद्वार
    • Author, ज्यास्मिन फक्स-स्केली
    • Role, बीबीसी फ्यूचर
  • Published
  • पढ्ने समय: ५ मिनेट

यो कताकता अनौठो किसिमले परिचित वा पहिले नै देखिएजस्तो लाग्न सक्छ।

गत शुक्रवार साइबिरियामा 'अज्ञात' कारणको निमोनिया भएर एक महिलाको मृत्यु भयो; उनको शरीर 'प्लेग' अर्थात् महामारीसम्बन्धी जीवाणुको सम्पर्कमा आएको हुन सक्ने सम्भावना थियो।

रुसी सञ्चारमाध्यमका अनुसार त्यसपछि करिब २०० जनालाई 'आइसोलेशन'मा राखियो।

अधिकारीहरूले यससम्बन्धी चिन्तालाई तत्कालै मत्थर पार्ने प्रयास गरे तापनि अनलाइन माध्यममा भने उक्त विषयलाई लिएर विभिन्न अड्कलबाजी र त्रास फैलिरहेको छ।

दार्‍या शिपिलोभा नाम गरेकी २८ वर्षीय ती महिला साइबिरियाको इईर्कुट्स्क क्षेत्रस्थित 'एन्टी-प्लेग इन्स्टिट्यूट'मा कार्यरत थिइन्।

पुष्टि नभएका खबरहरूका अनुसार प्लेगको जीवाणु भएको टेस्ट-ट्यूब फुटेपछि वा मङ्गोलियाको सीमासँग जोडिएको बुरियाटिया क्षेत्रको भ्रमणपछि उनमा निमोनियाका जस्ता लक्षणहरू देखिएका थिए।

त्यस क्षेत्रमा जङ्गली जनावरहरूमा प्लेगको सङ्क्रमण रहेको पाइन्छ।

हालसम्म शिपिलोभाको मृत्युको कारण आधिकारिक रूपमा पुष्टि भइसकेको छैन र यसबारे प्रयोगशालामा परीक्षण भइरहेको बताइएको छ।

तर एउटा कुरा भने स्पष्ट छ। यस घटनाले विश्वव्यापी महामारीको रूप लिने सम्भावना कम रहेको विज्ञहरू बताउँछन्। यसका कारणहरूबारे पढ्नुहोस्।

प्लेगका प्रकार र भिन्नता

प्लेग 'येर्सिनिया पेस्टिस' नामक जीवाणुका कारण लाग्ने रोग हो। चिकित्सकीय दृष्टिकोणले यसका तीन प्रकारहरू छन् : ब्यूबोनिक प्लेग, न्यूमोनिक प्लेग र सेप्टिसीमिक प्लेग।

ब्यूबोनिक प्लेग सबैभन्दा बढी देखिएको प्रकार हो। यो सङ्क्रमित कीराको टोकाइबाट सर्छ। मानिसको शरीरमा प्रवेश गरेपछि यस जीवाणु 'लिम्फ नोड'सम्म पुग्छ र त्यहाँ तिघ्राको जोर्नी, घाँटी तथा काखीमा 'ब्यूबो' भनिने पीडादायी घाउहरू बनाउँछ।

ब्यूबोनिक प्लेग मानिसबाट मानिसमा सर्ने सम्भावना कम हुन्छ। तर यो जीवाणु रगतमा फैलिएर 'सेप्टिसीमिक प्लेग' वा फोक्सोमा पुगेर 'न्यूमोनिक प्लेग' गराउन सक्छ।

प्लेगका अन्य प्रकारहरूभन्दा फरक, न्यूमोनिक प्लेग भने सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा हावामा निस्कने साना थोपामार्फत् एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ।

समयमै उपचार नभएमा न्यूमोनिक प्लेग प्रायः घातक हुन्छ। यसको सङ्क्रमण भएको समयदेखि लक्षण देखिन सुरु हुने अवधि २४ घण्टाजति छोटो पनि हुन सक्छ।

सन् १३५० को आसपासको समयमा ब्यूबोनिक प्लेगबाट छुटकारा पाउन मानिसहरूले प्रार्थना गरिरहेको दृश्य समेटिएको कलाकृति। मौलिक कलाकृति : ई. कोर्बोल्डद्वारा डिजाइन गरिएको र एफ हावर्डद्वारा लिथोग्राफ गरिएको
तस्बिरको क्याप्शन, सन् १३५० को आसपासको समयमा ब्यूबोनिक प्लेगबाट छुटकारा पाउन मानिसहरूले प्रार्थना गरिरहेको दृश्य समेटिएको कलाकृति। मौलिक कलाकृति : ई. कोर्बोल्डद्वारा डिजाइन गरिएको र एफ हावर्डद्वारा लिथोग्राफ गरिएको

चौधौँ शताब्दीमा युरोपमा ब्यूबोनिक र न्यूमोनिक प्लेगका कारण 'ब्ल्याक डेथ'को महामारी फैलिँदा २ करोड ५० लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो।

त्यसले त्यहाँको जनसङ्ख्याको एक तिहाइदेखि दुईतिहाइ हिस्सा समाप्त पारेको थियो। यो कुरा भर्खरै खुलेका व्यापारिक मार्गहरू तथा पानीजहाजमार्फत् अन्न र पिठोजस्ता सामग्रीको आयातका कारण भएको बताइएको थियो।

जोखिमको आकलन

तर प्लेगको विस्तारका लागि आधुनिक परिस्थितिहरू निकै कम अनुकूल छन्।

पहिलो कुरा, उपचार नगरिएमा 'येर्सिनिया पेस्टिस'को 'न्यूमोनिक' रूप प्रायः घातक हुने भए तापनि आजभोलि यसलाई सहजै उपलब्ध हुने सामान्य एन्टिबायोटिकको प्रयोगबाट निको पार्न सकिन्छ।

"ब्यूबोनिक प्लेगको उपचारका लागि हामीसँग दुई वटा निकै प्रभावकारी विधिहरू उपलब्ध छन्," अक्स्फर्ड विश्वविद्यालयमा गरिबीसम्बन्धी सङ्क्रामक रोगहरूका प्राध्यापक पिअरो ओलियारो भन्छन्।

सन् २०२५ मा ओलियारो र उनका सहकर्मीहरूले माडगास्करमा ब्यूबोनिक प्लेगको उपचारका लागि पहिलो पटक 'र्‍यान्डमाइज्ड कन्ट्रोल्ड परीक्षण'को नतिजा सार्वजनिक गरे।

उक्त अध्ययनले मुखबाट लिइने सिप्रोफ्लक्ससिन र सुईमार्फत् दिइने अमीनोग्लाइकसाइड नामक दुई एन्टिबायोटिकहरू ब्यूबोनिक प्लेगको उपचारमा क्रमशः ९१ प्रतिशत र ९२ प्रतिशत प्रभावकारी रहेको देखाएको थियो।

प्लेगको सङ्क्रमण 'न्यूमोनिक' रूपमा परिणत भएका थोरै सङ्ख्याका बिरामीहरूमा पनि समयमै उपचार पाउँदा ८५ प्रतिशत मानिसहरू निको भएर बाँच्न सफल भए।

प्लेगको महामारी फैलने सम्भावना निकै कम हुनुको अर्को कारण कोरोनाभाइरसको विपरीत, न्यूमोनिक प्लेग लक्षणहरू देखिन थालेपछि मात्र फैलिन सक्नु रहेको छ।

यस्ता लक्षणहरू सामान्यतया २४ घण्टाभित्रै देखा पर्छन् र ती निकै गम्भीर तथा स्पष्ट हुन्छन्। यसको अर्थ सङ्क्रमण अरूमा सर्नुअघि नै थप बिरामीहरूलाई छिटो पहिचान गर्न, एक्ल्याएर अलग्गै राख्न र उपचार गर्न सकिन्छ।

"हाम्रो ध्यान नपुग्न सक्ने, [सङ्क्रामक] मानिसहरू विमान चढेर यात्रा गरिरहेका हुन सक्ने वा जताततै नयाँ सङ्क्रमण फैलिरहेको देखिने अवस्था यो होइन," बर्मिङ्गम विश्वविद्यालयमा भाइरल इम्युनलजीकी असोसिएट प्रोफेसर जानिया स्टामाटाकी भन्छिन्।

उनका अनुसार यस्तो अवस्था निकै छिटो र स्पष्ट रूपमा थाहा हुन्छ।

कति सतर्कता चाहिन्छ?

प्लेगको इतिहास देखाउने चित्र
तस्बिरको क्याप्शन, मानव इतिहासमा प्लेगका तीनवटा महामारीहरू भएका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सङ्क्रमित बिरामीहरूको सम्पर्कमा आएका सबै व्यक्तिहरूको पहिचान गरी निगरानी भइरहेको छ र हालसम्म उनीहरूमा कुनै पनि रोगको लक्षण देखिएको छैन।

यो कदम अमेरिकी 'सेन्टर फर डिजिज कन्ट्रोल' को जनस्वास्थ्यसम्बन्धी सुझावअनुरूप छ।

उक्त संस्था जोखिममा रहेका व्यक्तिहरूको पहिचान गरी उनीहरूको निगरानी, ​​जाँच र क्वारन्टीन तथा एन्टिबायोटिक उपलब्ध गराउन सिफारिस गर्छ।

विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता क्रिस्टिआन लिन्टमायरले मङ्गलवार सङ्गठनको प्रारम्भिक जोखिम मूल्याङ्कन सार्वजनिक गरेका थिए।

उनले पत्रकारहरूलाई भने : "ईर्कुत्स्कका लागि जोखिम मध्यमदेखि न्यून छ, समग्र रुसी महासङ्घका लागि जोखिम न्यून छ र विश्व स्वास्थ्य सङ्गठनको युरोपेली क्षेत्रका लागि जोखिम अत्यन्त न्यून छ।"

के प्रयोगशालाबाट फैलन सक्छ?

सामान्यतया प्रयोगशालाको वातावरणमा सङ्क्रमण फैलिनु अत्यन्त दुर्लभ घटना हो किनकि दुर्घटनावश हुने जोखिम वा सम्पर्कलाई रोक्न त्यहाँ कडा नियम तथा कार्यविधिहरू लागु गरिएका हुन्छन्।

"यी अत्यन्त विशिष्ट प्रयोगशालाहरू हुन्," स्टामाटाकी भन्छिन्। "त्यहाँ सुरक्षाका अनेकौँ तहहरू हुन्छन्।"

स्टामाटाकीले भनेअनुसार, उदाहरणका लागि, अनुसन्धानकर्ताहरूले पूर्ण व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाउँछन्। त्यसका साथै, नमुनाहरूलाई 'बायोसेफ्टी क्याबिनेट' भित्र मात्र चलाइन्छ। यी सुरक्षा क्याबिनेटहरूमा 'निगेटिभ' हावाको चाप कायम गरिएको हुन्छ, जसको अर्थ हावाको बहाव भित्रतिर र प्रयोगकर्ताबाट टाढाको दिशामा हुन्छ।

"यदि कुनै ट्यूब फुट्यो भने, त्यो क्याबिनेटभित्रै फुट्छ र प्रयोगकर्ता सुरक्षित रहन्छन्," उनी भन्छिन्।

स्टामाटाकीका अनुसार ट्यूब ओसारपसार गर्दा पनि त्यसलाई अर्को एउटा सुरक्षित बाहिरी पात्रभित्र राखिन्छ। साथै, यस्ता प्रयोगशालामा काम गर्नुअघि प्राविधिकहरूले कडा तालिम लिने गर्छन्।

चौधौँ शताब्दीमा प्लेग निकै तीव्र गतिमा फैलिनुको एउटा मुख्य कारण त्यस समयको कमजोर जीवनस्तर थियो। सडकहरूमा फोहोर र खानाका अवशेषहरू छरिएका हुन्थे, जसले रोग सार्ने कीरा बोक्ने काला मुसाहरूका लागि उपयुक्त वासस्थान तयार गर्थ्यो।

मानिसहरू एकअर्काका धेरै नजिक बस्थे र व्यापारीहरू साँघुरा जहाजहरूमा महिनौँ बिताउँथे। विश्वको धेरैजसो भागमा अहिले यस्तो अवस्था छैन।

यद्यपि प्लेग केवल इतिहासको रोग होइन भन्ने कुरा पनि बुझ्नु आवश्यक छ।

अफ्रिका, एशिया, दक्षिण अमेरिका र संयुक्त राज्य अमेरिकामा समेत मुसा प्रजातिहरूमा प्लेगको प्रकोप निरन्तर देखिन्छ।

हरेक वर्ष मानिसहरूमा पनि यसको सङ्क्रमण देखिन्छ। उदाहरणका लागि, अमेरिकामा प्रत्येक वर्ष औसतमा सात जनामा ​​प्लेगको सङ्क्रमण पुष्टि हुने गरेको छ।

विश्वका केही भागहरूमा कहिलेकाहीँ स्थानीय स्तरमा महामारी फैलिने गर्छ, जस क्रममा 'न्यूमोनिक प्लेग' मानिसबाट मानिसमा सर्ने गर्छ।

सन् २०१७ मा माडगास्करमा फैलिएको महामारीका कारण प्लेगका २,४१७ घटनाहरू देखिएका थिए र २०९ जनाको मृत्यु भएको थियो।

तर ओलियारोले बताएअनुसार प्लेगको प्रकोप प्रायः सीमित क्षेत्रमै सीमित रहने कुरा यसको अन्त्य हुनुको प्रमाण हो। यसले सामान्यतया विश्वव्यापी महामारीको रूप लिँदैन।

यद्यपि प्लेगको प्रकोपले विश्वव्यापी रूप लिने सम्भावना कम भए तापनि यसको अर्थ प्लेगको उपचार र रोकथाममा लगानी गर्नुहुँदैन भन्ने चाहिँ होइन।

"विश्वव्यापी स्तरमा यसले धेरै मानिसहरूलाई असर नपार्न सक्छ, तर यसले पीडा भने दिन्छ," ओलियारो भन्छन्। "यो एक महत्त्वपूर्ण रोग हो, त्यसैले प्लेगको अस्तित्व छ भन्ने कुरा हामीले बिर्सनुहुँदैन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।