यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई, उनी को हुन्

नवनीतम नावी पिल्ले
तस्बिरको क्याप्शन, नवनीतम नावी पिल्ले नोबेल शान्ति पुरस्कार पाउने २१औँ महिला हुन्
Published
पढ्ने समय: ७ मिनेट

यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन प्रवर्धन गर्ने प्रयासका लागि सम्मानित गर्न लागिएको नोबेल पुरस्कार समितिले जनाएको छ।

उनको जन्म भारतीय मूलको तमिल परिवारमा दक्षिण अफ्रिकामा भएको थियो। उनी उक्त पुरस्कारबाट सम्मानित हुने एक्काइसौँ महिला हुन्।

अहिलेसम्म ११३ व्यक्ति र ३१ वटा संस्था नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत भएका छन्। सन् १९०१ देखि अहिलेसम्म १०७ पटक यो पुरस्कार घोषणा भएको छ।

नोबेल पुरस्कार समितिका अनुसार पिल्लेले अन्तर्राष्ट्रिय कानुनको दायरा र प्रभावलाई उल्लेखनीय रूपमा विस्तार गरेकी छन्। उनले दक्षिण अफ्रिकाको उच्च अदालत, रुवान्डाका लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण र अन्तर्राष्ट्रिय आपराधिक अदालत (आईसीसी) मा न्यायाधीशका रूपमा सेवा गरिसकेकी छन्।

उनी संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्च आयुक्त थिइन्। केही समयअघिसम्म उनी कब्जा गरिएको प्यालेस्टिनी भूभागसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिन आयोगको अध्यक्ष थिइन्। अहिले उनी म्यान्मारमाथि नरसंहारको आरोप लागेको मुद्दामा अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजी) मा न्यायाधीशको रूपमा कार्यरत छिन्।

राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्त हुँदा पिल्लेले सन् २००९ मा नेपालको पनि भ्रमण गरेकी थिइन्।

नेपालमा उनले तात्कालिक राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, नागरिक समाजका अगुवाहरू र सशस्त्र द्वन्द्वका क्रममा मारिएका केही मानिसका परिवारसँग भेटघाट गरेकी थिइन्।

त्यसपछि उनले सशस्त्र द्वन्द्वका बेला र त्यसपछि पनि नेपालमा मानवाधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै अन्तर्राष्ट्रिय कानुनअनुसार पीडित परिवारहरूलाई सत्य र न्याय दिनुपर्ने जिम्मेवारी राज्यको भएको औँल्याएकी थिइन्।

बसचालककी छोरी

पिल्ले अहिले उनी ८५ वर्षकी भइन्।

उनले सन् १९६७ मा दक्षिण अफ्रिकाको नट्याल प्रान्तमा कानुन व्यवसाय सुरु गर्ने प्रथम महिला हुन्।

दक्षिण अफ्रिकाको डर्बनमा बसोबास गर्ने बस चालककी छोरी पिल्ले रङ्गभेदको युगमा हुर्किन्। उनी त्यही बेलादेखि मानवाधिकारको क्षेत्रमा सक्रिय भइन्।

उनी दक्षिण अफ्रिकामा आफ्नै कानुन व्यवसाय सञ्चालन गर्ने उच्च अदालतको न्यायाधीश नियुक्त हुने प्रथम गैरश्वेत महिला हुन्।

रङ्गभेदका धेरै विरोधीहरूको पक्षमा वकालत गरेपछि पिल्लेलाई संयुक्त राष्ट्रसङ्घीय महासभाले रुवान्डाका लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरणको न्यायाधीशमा निर्वाचित गरेको थियो।

उनले अध्यक्षका रूपमा चार वर्षसहित उक्त न्यायाधिकरणमा कुल आठ वर्ष काम गरिन्।

पिल्लेलाई नोबेल शान्ति पुरस्कार जितेकोमा बधाई दिँदै युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेयेनले पिल्लेले "अन्यायको क्रूरतालाई प्रत्यक्ष सामना गरेको तर कहिल्यै पछि नहटेको" बताएकी छन्।

सामाजिक सञ्जाल 'एक्स'मा लेख्दै उनले पिल्लेले जस्तै "न्याय, शान्ति र मानवीय मर्यादा" का लागि जीवन समर्पित गर्ने मानिसहरू विरलै हुने जनाएकी छन्।

"अहिलेको विश्वलाई न्यायको झन् बढी आवश्यकता परेको बेलामा उनको साहस र नैतिक स्पष्टता एउटा अमूल्य मार्गदर्शन हो," उनले भनेकी छन्।

डोनल्ड ट्रम्पको मोह

डोनल्ड ट्रम्प

यसै साता संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारका लागि उपयुक्त पात्र भएको सार्वजनिक टिप्पणी गरेका थिए।

गत वर्ष पनि उनी पुरस्कारका लागि आकाङ्क्षी भएको विवरण आएको थियो। त्यस वर्ष भेनेजुएलाकी प्रजातन्त्रवादी नेत्री मारिआ कोरिना मचाडोले नोबेल शान्ति पुरस्कार पाइन्।

ट्रम्पले अमेरिकी राष्ट्रपति बन्नुभन्दा निकै पहिलादेखि नोबेल शान्ति पुरस्कारप्रति आफ्नो मोह देखाउँदै आएका छन्।

तात्कालिक राष्ट्रपति बराक ओबामाले २००९ मा उक्त पुरस्कार पाउँदा ट्रम्पले "बिनाकारण" पाएको र उनी उपयुक्त पात्र नभएको टिप्पणी गरेका थिए।

आफ्नो पहिलो राष्ट्रपतीय कार्यकालको बीचतिर पुगेपछि ट्रम्पले नोबेल शान्ति पुरस्कार पाउने इच्छा सार्वजनिक रूपमै व्यक्त गर्न थाले। उत्तर कोरियाका नेता किम जङ अनलाई भेटेपछि ट्रम्पले "सबै जनालाई" उनी उपयुक्त पात्र हो भन्ने लाग्छ भनेका थिए।

उनी पुनः राष्ट्रपति निर्वाचित भएपछि उनको इच्छा फेरि चुलियो। उनले बारम्बार आफूले "आठवटा युद्ध" टुङ्ग्याएको दाबी गर्दै आएका छन्। तर त्यो दाबीबारे एकमत छैन। अनि युद्ध टुङ्ग्याएका कारणले मात्रै नोबेल पुरस्कार जित्न पर्याप्त नहुने बीबीसीका ह्वाइट हाउस संवाददाता बर्न्ड डेब्युस्मन जूनिअर बताउँछन्।

बुधवार ओभल अफिसबाट बोल्दै ट्रम्पले पुनः शान्ति पुरस्कारबारे टिप्पणी गरे। "निर्णय के हुन्छ भन्ने मलाई थाहा छैन। मजस्ता व्यक्तिलाई सम्भवतः नदिने उनीहरूको चलन छ। तर मैले पाए पनि नपाए पनि मैले निकै धेरै [काम] गरेको छु, मलाई त्यसको निकै ठूलो अवमूल्यन हुन्छ कि जस्तो लाग्छ।"

गत वर्ष मचाडोको नाम विजेताका रूपमा घोषणा भएपछि ह्वाइट हाउसले नोबेल समितिले "शान्तिको सट्टा राजनीति" रोजेको प्रतिक्रिया दिएको थियो।

पछि पुरस्कार लिइसकेपछि मचाडोले डोनल्ड ट्रम्पलाई भेटेर आफूले प्राप्त गरेको पुरस्कार उनलाई "हस्तान्तरण" गरेकी थिइन्।

यद्यपि नोबेल समितिले "एक पटक नोबेल पुरस्कार घोषणा भएपछि त्यसलाई रद्द गर्न, बाँड्न वा अरूलाई हस्तान्तरण गर्न नमिल्ने" जनाएको थियो।

अमेरिकी सेनाले कराकसमा भेनेजुएलाका तात्कालिक राष्ट्रपति निकोलास मदुरोलाई पक्राउ गरेको र लागुपदार्थ तस्करीबारे मुद्दा चलाएको केही सातापछि ज्यानुअरीमा मचाडो र ट्रम्पबीच ह्वाइट हाउसमा भेट भएको थियो।

यो वर्षका अरू विजेता को हुन्

आइसल्यान्डस्थित आफ्नो निवासबाहिर एन कार्सन
तस्बिरको क्याप्शन, यस वर्ष साहित्यतर्फ नोबेल पुरस्कारकी विजेता एन कार्सनको जन्म सन् १९५० मा क्यानडाको टोरोन्टोमा भएको हो अनि यो विधामा पुरस्कृत हुने उन्नाइसौँ महिला हुन्

सोमवारदेखि अहिलेसम्म पाँच विधाका विजेताको नाम घोषणा भएको छ।

  • चिकित्साशास्त्र : अमेरिकी मनोविद् तथा स्नायुविद् कार्ल डाइसरोथ अनि उनका जर्मन सहकर्मीहरू पिटर हेगेमान अनि गेयोर्ग नागेललाई अप्टोजेनेटिक्सको क्षेत्रमा महत्त्वपूर्ण गरेको कामका लागि
  • भौतिकशास्त्र : बेल्जिअममा जन्मिएका र अमेरिकामा प्राध्यापन गर्ने फ्रान्सिस हाल्सनलाई 'आइसक्यूब न्यूट्रिनो अब्जर्भेटरी' स्थापना गर्न निर्णायक योगदान पुर्‍याएर अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रिनोहरू पत्ता लगाएकाले
  • रसायनशास्त्र : फ्रान्सेली वैज्ञानिक अन्री बी कगान र जापानका केन्सो सोआईलाई प्राणीहरूमा विद्यमान रासायनिक असमतारूपको रहस्य पत्ता लगाएकाले
  • साहित्य : क्यानडाकी एन कार्सनलाई "शास्त्रीय परम्परासँगको रोचक संवादमार्फत् समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उनका साहसिक र नवीन कृतिहरूका लागि" कार्सनलाई यसपालि सम्मानित गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ।

अब आगामी साता सोमवार अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुने छ।

यसअघि कसकसले पाएका थिए नोबेल शान्ति पुरस्कार

अल्फ्रेड नोबेल
तस्बिरको क्याप्शन, नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ। उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ
  • सन् २०२५ : भेनेजुएलाकी प्रजातन्त्रवादी नेत्री मारिआ कोरिना मचाडोलाई उनले प्रजातन्त्रका पक्षमा निर्वाह गरेको भूमिकाका लागि
  • सन् २०२४ः जापानी संस्था 'निहान हिडन्क्यो' "विश्‍वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न गरेकोमा"
  • सन् २०२३ः इरानकी नर्गिस मोहम्मदीलाई महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि
  • २०२२: बेलारुसी मानवाधिकारकर्मी एलीयास बीलियाट्स्की र रुसी मानवाधिकार सङ्गठन मेमोरियल तथा युक्रेनी मानव अधिकार सङ्गठन सेन्टर फर सिभिल लिबर्टीजलाई संयुक्त रूपमा
  • २०२१ः पत्रकारद्वय मरिया रेसा र दिमित्री मुरातोभलाई फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिएकाले
  • २०२०ः संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई भोकमरी नियन्त्रण गर्न तथा शान्ति स्थापना गर्न सघाएकोमा
  • २०१९ः ईथियोपियाका प्रधानमन्त्री एबी अहमद अलीलाई शान्ति र अन्तर्राष्ट्रिय सहकार्य स्थापना गर्न तथा छिमेकी एरिट्रियासँगको सीमा विवाद समाधान गर्न अग्रसरता लिएको हुनाले
  • २०१८ः डेनिस मूक्वेगे र नादिया मुरादलाई युद्ध र सशस्त्र द्वन्द्वमा यौन हिंसालाई अस्त्रका रूपमा प्रयोग गर्ने क्रम अन्त्य गराउने प्रयासका लागि
  • २०१७ः इन्टर्न्याश्नल क्याम्पेन टू अबोलिश न्यूक्लिअर वेपन्स (आईक्यान) लाई परमाणुअस्त्रको प्रयोगको प्रयोग हुँदा निम्तिन सक्ने विनाशकारी परिणामबारे चेतना फैलाउने काम गरेको तथा त्यस्ता अस्त्रलाई सन्धिमार्फत प्रतिबन्ध लगाउने प्रयास गरेको हुनाले
  • २०१६ः कोलम्बियाका राष्ट्रिपति हुआँ मानुएल सान्टोसलाई ५० वर्षे गृहयुद्ध अन्त्य गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले
  • २०१५ः न्याश्नल डाइलग क्वार्टेटलाई ट्यूनिशियामा २०११ मा भएको क्रान्तिपछि बहुलवादी प्रजातन्त्र स्थापना गराउन महत्त्वपूर्ण योगदान पुर्‍याएकाले
  • २०१४ः भारतका कैलाश सत्यार्थी र पाकिस्तानी किशोरी मलाला युसुफ्जाईलाई बालबालिकाको दमनविरुद्ध तथा शिक्षा पाउने अधिकारका लागि सङ्घर्ष गरेकाले

अमेरिकाका तात्कालिक राष्ट्रपति बराक ओबामाले पनि सन् २००९ मा नोबल शान्ति पुरस्कार पाएका थिए। "अन्तर्राष्ट्रिय कूटनीति र मानिसहरूबीचको सहकार्यलाई सुदृढ पार्न अभूतपूर्व प्रयास गरेकाले" उनलाई नोबेल पुरस्कार दिइएको थियो।

तर उनलाई पुरस्कार दिइएकोमा आलोचना पनि भएको थियो किनभने नोबेल पुरस्कारका लागि मनोनयन गर्ने मिति सकिनुभन्दा केही दिनअघि मात्र ओबामा राष्ट्रपति बनेका थिए।

अन्य उल्लेख्य विजेताहरूमध्येमा जिमी कार्टर (सन् २००२), युरोपेली सङ्घ (सन् २०१२), संयुक्त राष्ट्रसङ्घ र त्यसका तात्कालिक महासचिव कोफी अन्नान (सन् २००१ मा संयुक्त रूपमा) र कोलकाताकी मदर टेरेसा (सन् १९७९) छन्।

युसुफ्जाई अहिलेसम्म नोबेल पुरस्कार पाउने सबैभन्दा कान्छी व्यक्ति हुन्।

कसले गर्छ निर्णय

भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्वीडनको स्टक्होममा प्रदान गरिन्छ।

नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ। त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँचसदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ।

प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिश क्रोनर पाउँछन्।

यदि एकभन्दा बढी विजेता भएमा उक्त रकम उनीहरूबीच भाग लगाइन्छ। उक्त रकम पाउनका लागि उनीहरूले एउटा मन्तव्य दिनुपर्छ।

नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ। उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।