मङ्गल ग्रहः नासाको पर्सिभिअरन्स रोभरले सङ्कलन गरेका नमुना किन महत्त्वपूर्ण

रोशेट शिलामा प्वाल पारेर नमुना सङ्कलन गरिएको हो
तस्बिरको क्याप्शन, रोभरले रोशट नामक शिलामा प्वाल पारेर दुई पटक नमुना सङ्कलन गरेको छ
Published

मङ्गल ग्रहमा अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स रोभरले गत साता चट्टानको दोस्रो नमुना सङ्कलन गरेपछि वैज्ञानिकहरू निकै उत्साहित बनेका छन्।

पर्सिभिअरन्सले सेप्टेम्बर ६ मा मङ्गलको चट्टानमा प्वाल पारेर औँलाजत्रो नमुना सङ्कलन गरेको थियो।

त्यसको दुई दिनपछि फेरि अर्को नमुना सङ्कलन गरियो।

सङ्कलित नमुना ज्वालामुखीबाट बनेको वैज्ञानिकहरूको विश्वास छ। अनि ती चट्टान उत्पत्ति भएको समय निर्धारण गर्न सकिन्छ।

उक्त चट्टानमा लवण पनि छ। त्यसले पानी परिवर्तन भएको सङ्केत गर्छ अनि अन्ततः त्यहाँ जीव अस्तित्वमा भएको सम्भावना पनि।

अथवा कम्तीमा पहिला जीवको अस्तित्त्व थियो भन्ने सङ्केत।

पानी हुँदैमा जीव अस्तित्वमा आउँछ भन्ने छैन। तथापि बिनापानी जीवको अस्तित्व हुने कुरा बुझ्न गाह्रो छ।

जेजेरो नामक खाडलको त्रिवेणीमा प्राचीन संरचना संरक्षित भएको मानिन्छ
तस्बिरको क्याप्शन, जेजेरो खाडलको त्रिवेणीमा प्राचीन संरचना संरक्षित भएको मानिन्छ

जेजेरो क्रेटर अर्थात् खाडलमा अर्बौँ वर्षअघि जीवलाई बस्नयोग्य परिस्थिति भएको देखिएकाले नासाले त्यहाँ पर्सिभिअरन्स रोभर पठाएको हो।

स्याटलाइट तस्बिरहरूले ४५ किलोमिटर चौडा उक्त खाडलमा कुनै बेला एउटा ताल भएको सङ्केत गर्छन्।

त्यहाँ एउटा विशाल नदी र पश्चिम भागमा त्रिवेणी बनेको र थिगर जम्मा भए जस्तो देखिन्छ।

अहिले सङ्कलन गरिएका चट्टानका नमुनाबाट त्यतिबेलाको जलीय पर्यावरणको कालखण्ड गणना गर्न सकिने अपेक्षा गरिएको छ।

नमुना सङ्कलन गर्न प्वाल पारिएको "रोशेट" शिला जेजेरोको पीँधमा छ।

अनि त्यो शिला उक्त खाडलमा भएको पुरानोमध्येको चट्टान भएको अनुमान छ।

यदि सङ्कलित नमुनाहरूमा भएका खनिज पदार्थको समय निर्धारण गर्न सकियो भने तिनले उक्त तालको अधिकतम आयु आकलन गर्ने सकिनेछ।

रोशेट शिलामा प्वाल पारेर दुई पटक नमुना सङ्कलन गरिएको हो

सम्भवतः त्यहाँ क्याल्सीअम सल्फेट वा क्याल्सीअम फस्फेटजस्ता लवणहरू छन्। ती लवणले पानीका साना फोका धारण गर्न सक्छन्।

"यहाँ पृथ्वीमा प्राचीन जीवनको सङ्केत संरक्षण गर्न लवणहरू गजबका खनिज हुन्। अनि मङ्गलका चट्टानमा पनि त्यही कुरा सत्य होस् भन्ने हाम्रो अपेक्षा छ," पर्सिभिअरन्स प्रोजेक्टकी वैज्ञानिक डा. केटी स्ट्याक मोर्गन भन्छिन्।

अनुसन्धान गर्न सबैभन्दा पहिला ती नमुना पृथ्वी आइपुग्नुपर्छ।

युरोपेली अन्तरिक्ष निकाय ईएसएसँगको सहकार्यमा दुई महिनाभित्र दुई दर्जनभन्दा बढी नमुना सङ्कलन गर्ने र टाइटेनीअम ट्यूबमा बन्द गरी सुरक्षित राख्ने नासाको योजना छ।

त्यस्ता ट्यूबहरू जेजेरोको सतहमै छोडिनेछ। पछि अरू अभियानले सन् २०३० भित्र ती नमुना पृथ्वी ल्याउनेछन्।

"किनभने...उच्च वैज्ञानिक सम्भावना भएकाले हामीले रोशेटबाट दुईवटा नमुना लिने निर्णय गर्‍यौँ," डा. स्ट्याक मोर्गनले भनिन्।

"...नमुना सङ्कलन गर्न उच्च प्राथमिकता दिइएका प्रत्येक स्थानबाट दुईवटा नमुना लिने हाम्रो रणनीति छ," उनले भनिन्।

पेभर स्टोन - मङ्गल ग्रहमा प्वाल पारिएको पहिलो चट्टान
तस्बिरको क्याप्शन, अगस्ट महिनामा पेभर स्टोनमा प्वाल पार्दा सङ्कलित नमुना धूलोपिठो भएको थियो

रोशेट शिलासम्म पुग्न पर्सिभिअरन्स गत फेब्रुअरीमा अवतरण गरेको स्थानबाट २.२ किलोमिटरजति गुड्यो।

अहिले उक्त रोबट पश्चिममा अवस्थित "साउथ सीन्टा" नाम दिइएको ठाउँतिर जान एउटा अग्लो डिलतिर जाँदैछ।

उक्त स्थानमा भएका चट्टानमा प्वाल पारेर थप नमुना सङ्कलन गरिनेछ।

पर्सिभिअरन्स रोबटलाई "इन्जन्यूइटी" नाम दिइएको सानो हेलिकप्टरले निगरानी गरिरहेको छ।

पर्सिभिअरन्स कतै जानुअघि त्यसले जाने ठाउँको निरीक्षण गर्छ।

वैज्ञानिकहरू पछि रोभरलाई उत्तरतिर पठाउन चाहन्छन् जहाँ नदी र त्रिवेणीमा जम्मा भएको थिगर भएको मानिन्छ।

त्यहाँ प्राचीन जीवनको अवशेष पाउने उच्चतम सम्भावना छ।

एप्रिल ६ मा पर्सिभिअरन्सले आफ्नो सेल्फी खिचेको थियो। यो तस्बिर ६२ वटा तस्बिरहरू जोडेर बनाइएको हो।
तस्बिरको क्याप्शन, एप्रिल ६ मा पर्सिभिअरन्सले आफ्नो सेल्फी खिचेको थियो। यो तस्बिर ६२ वटा तस्बिरहरू जोडेर बनाइएको हो

मीनाक्षी वाध्वा मङ्गल ग्रहबाट नमुना ल्याउने नासाको योजनाकी प्रमुख वैज्ञानिक हुन्।

"पर्सिभिअरन्सले सङ्कलन गरेका चट्टानका नमुनाको महत्त्वबारे म बढाइचढाइ गर्दिनँ। यो वास्तवमै ऐतिहासिक उपलब्धि हो - अर्को सांसारिक ग्रहबाट सङ्कलित प्रथम चट्टानको भित्री भाग। यो अद्भुत छ," उनले भनिन्।

"यी दुई चट्टानका नमुनाले मङ्गल ग्रहबाट नमुना ल्याउने थालनीको प्रतिनिधित्व गर्छन्।"

"आफू स्नातक विद्यार्थी हुँदादेखि नै मेरो प्रयोगशालामा मङ्गल ग्रहबाट नमुना ल्याइएका विश्लेषण गर्ने सपना मैले देखेकी छु। अनि अहिले त्यो वास्तविकता बन्न सक्छ भन्ने अनुभूति थालेको छ।"

मे ७ मा हेलिकप्टर ३३ फिट माथि पुगेको ४२३ फिट पर अवतरण गरेको थियो।
तस्बिरको क्याप्शन, मे ७ मा हेलिकप्टर ३३ फिट माथि पुगेर ४२३ फिट पर अवतरण गरेको थियो
Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, मङ्गल ग्रहमा नासाको रोभर गुड्दा यस्तो आवाज