मङ्गल ग्रहः नासाको पर्सिभिअरन्स रोभरले कसरी सङ्कलन गर्‍यो चट्टानको नमुना

मङ्गल गरएको चट्टान
तस्बिरको क्याप्शन, 'रोशेट' नाम दिइएको यो शिलामा प्वाल पारेर नमुना सङ्कलन गरिएको हो
    • Author, जोनाथन एमोस
    • Role, विज्ञान संवाददाता
  • Published

अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स रोभरले दोस्रो प्रयासमा मङ्गल ग्रहबाट चट्टानको नमुना सङ्कलन गरेको पुष्टि गरेको छ।

उक्त रोबटले "रोशेट" नाम दिइएको एउटा बाक्लो ढुङ्गामा प्वाल पारेर उक्त नमुना निकालेको हो।

तस्बिरहरूमा ढुङ्गाको भित्री भागबाट सुरक्षित रूपमा नमुना निकालिएको प्रमाण पाइएको छ।

गत महिना गरिएको पहिलो प्रयासमा सङ्कलन गर्न खोजिएको नमुना धूलोपिठो भएको थियो।

पृथ्वीबाहिर कुनै ग्रहबाट पृथ्वी ल्याउन चट्टान सङ्कलन गरिएको यो पहिलो पटक हुनेछ।

उक्त रोभरले आगामी वर्षभित्र दुई दर्जन वटाभन्दा बढी नमुना सङ्कलन गर्ने जिम्मा पाएको छ।

यो दशकको अन्त्यतिर अमेरिका र युरोपको संयुक्त प्रयासमा ती नमुना अनुसन्धानका लागि पृथ्वीमा ल्याइने योजना छ।

चट्टानमा प्वाल पार्ने अभ्यास साँच्चै सफल भएको घोषणा गर्नका लागि नासाले मङ्गल ग्रहमा खिचिएका थप तस्बिरहरू कुरेको थियो।

मङ्गल ग्रह

"अझ निश्चित हुन राम्रो प्रकाश भएका थप केही तस्बिर चाहिन्छ," रोभरका प्रमुख इन्जिनियर एडम स्टेल्ट्ज्नरले केही दिनअघि ट्वीट गरेका थिए।

Presentational white space
जेजेरो नामक खाडलको त्रिवेणीमा प्राचीन संरचना संरक्षित भएको मानिन्छ
तस्बिरको क्याप्शन, जेजेरो खाडलको त्रिवेणीमा प्राचीन संरचना संरक्षित भएको मानिन्छ

नासाको पर्सिभिअरन्स रोबटले गत फेब्रुअरी महिनामा मङ्गल ग्रहको जेजेरो क्रेटरमा अवतरण गरेको थियो।

मङ्गल ग्रहको मध्यरेखाबाट २० डिग्री उत्तरमा अवस्थित उक्त खाडल गहिरो छ र ४५ किलोमिटर चौडा छ।

त्यहाँ अर्बौँ वर्षअघि विशाल ताल भएको विश्वास गरिन्छ।

त्यसैले मङ्गल ग्रहमा जीवन अस्तित्वमा थियो भने जेजेरोको थेगरमा प्राचीन सूक्ष्मजीवको अंश भेटिन सक्ने वैज्ञानिकहरूको अनुमान छ।

अवतरण गरिएको ठाउँबाट रोबट दुई किलोमिटरभन्दा केही पर गुडेर "सिटडेल" नाम दिइएको डिलमा पुगेको छ।

सोही स्थानमा भएको चट्टानमा प्वाल पारेर नमुना सङ्कलन गरिएको हो।

पेभर स्टोन - मङ्गल ग्रहमा प्वाल पारिएको पहिलो चट्टान
तस्बिरको क्याप्शन, अगस्ट महिनामा पेभर स्टोनमा प्वाल पार्दा सङ्कलित नमुना धूलिएको थियो
मङ्ल ग्रहको चट्टानमा प्वाल पारेर सङ्कलन गरिएको नमुना
तस्बिरको क्याप्शन, अहिले प्वाल पार्ने साधनभित्र नमुना सङ्कलन भएको जस्तो देखिएको छ

उक्त रोबटमा भण्डार गर्ने प्रणाली पनि छ।

चट्टानमा प्वाल पारेर निकालिएको मानिसको औँलाजत्रो टुक्रा टाइटेनीअम ट्यूबमा राखिनेछ।

नली आकारको उक्त भाँडोमा नमुना राखेर सील गर्नुअघि रोभरले त्यसको तस्बिर खिच्नेछ।

गत अगस्टमा यही चरणमा पहिलो पटक सङ्कलन गरिएको नमुना ट्यूबमा नभएको भेउ वैज्ञानिकहरूले पाएका थिए। प्वाल पार्ने क्रममा चट्टान धूलोपिठो भएर भुइँमा खसेको थियो।

गत बिहीवार पृथ्वीमा पठाइएका तस्बिरहरू देखेर नासाको टोली उत्साहित छ किनभने तिनले सङ्कलित नमुना भण्डार गर्न लगिएको भाँडोको मुखभित्र भएको सङ्केत देखाएका थिए।

एप्रिल ६ मा पर्सिभिअरन्सले आफ्नो सेल्फी खिचेको थियो। यो तस्बिर ६२ वटा तस्बिरहरू जोडेर बनाइएको हो।
तस्बिरको क्याप्शन, एप्रिल ६ मा पर्सिभिअरन्सले आफ्नो सेल्फी खिचेको थियो। यो तस्बिर ६२ वटा तस्बिरहरू जोडेर बनाइएको हो
मे ७ मा हेलिकप्टर ३३ फिट माथि पुगेको ४२३ फिट पर अवतरण गरेको थियो।
तस्बिरको क्याप्शन, मे ७ मा हेलिकप्टर ३३ फिट माथि पुगेर ४२३ फिटपर अवतरण गरेको थियो

पर्सिभिअरन्सलाई त्यसको सानो हेलिकप्टर "इन्जन्यूइटी" ले आफ्नो छायामा पार्न छोडेको छैन।

सुरुमा प्रविधिको प्रदर्शन गर्न पठाइएको भए पनि उक्त ड्रोनलाई अहिले रोभरभन्दा अघिअघि मङ्ल ग्रहको भुइँको निरीक्षण गर्न नियमित रूपमा प्रयोग गरिन्छ।

अहिलेसम्म इन्जन्यूइटीले १२ पटक उडान गरेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मङ्गल ग्रहमा नासाको रोभर गुड्दा यस्तो आवाज