तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अन्तरिक्षमा उत्पन्न न्यूट्रिनो पत्ता लगाउने वैज्ञानिकलाई नोबेल पुरस्कार
बेल्जिअममा जन्मिएका र अमेरिकामा प्राध्यापन गर्ने वैज्ञानिक फ्रान्सिस हाल्सनले यो वर्ष भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने भएका छन्।
नोबेल समितिका अनुसार 'आइसक्यूब न्यूट्रिनो अब्जर्भेटरी' स्थापनाका लागि निर्णायक योगदान पुर्याएको अनि अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रिनोहरू पत्ता लगाएकाले हाल्सनलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो।
नोबेल समितिका अनुसार हाल्सनले नितान्त नयाँ प्रकारको अन्तरिक्षविज्ञानको जग बसाएका छन्।
पृथ्वीको दक्षिणी ध्रुवमा भएको बरफ प्रयोग गरेर रहस्यमय न्यूट्रिनो सङ्कलन गर्न सकिने उनको मान्यता थियो। त्यसकै आधारमा आइसक्यूब न्यूट्रिनो अब्जर्भेटरी स्थापना भयो। उक्त वेधशालाले सुदूर ब्रह्माण्डमा उत्पन्न भएका न्यूट्रिनोहरूको निगरानी गर्न सक्छ।
उनले १.१ करोड स्वीडिश क्रोनर (८.७० लाख पाउन्ड) नगद पुरस्कार र पदक पाउने छन्।
अहिलेसमेत भौतिकशास्त्रतर्फ १२० पटक नोबेल पुरस्कार घोषणा भएको छ। यो विधाको पुरस्कार स्टक्होमस्थित रोयल स्वीडिश अक्याडमी अफ साइन्सेसले प्रदान गर्छ।
नोबेल पुरस्कार समितिका अनुसार बुधवार रसायनशास्त्र, बिहीवार साहित्य, शुक्रवार शान्ति अनि आगामी सोमवार अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुने छ।
नोबेल पुरस्कारसम्बन्धी केही रोचक तथ्य
समितिले विगत १२ महिनामा "मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका" व्यक्तिलाई ती पुरस्कारबाट सम्मानित गर्ने गरेको छ।
स्वीडिश व्यापारी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले पाँच विधामा पुरस्कार स्थापना गरेका थिए। उनले आफ्नो अधिकांश सम्पत्ति पुरस्कार दिने उद्देश्यसहित कोष बनाएर त्यसमा राखेका थिए।
सन् १९६८ मा स्वीडनको केन्द्रीय ब्याङ्कले अर्थशास्त्रका लागि छुट्टै पुरस्कार स्थापना गरेपछि अहिले कुल छ विधामा पुरस्कार दिइन्छ।
नोबेल पुरस्कार सबैभन्दा पहिले सन् १९०१ मा प्रदान गरिएको थियो।
जोन बार्डीनले सन् १९५६ र १९७२ मा दुई पटक भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार हात पारेका थिए।
भौतिकशास्त्रतर्फ सो पुरस्कार पाउने हालसम्मकै सबैभन्दा वृद्ध व्यक्ति आर्थर याश्किन हुन्। पुरस्कार पाउँदा उनी ९६ वर्षका थिए।
यो विधामा पुरस्कृत हुने सबैभन्दा कान्छा वैज्ञानिक लरेन्स ब्र्याग हुन्। पुरस्कृत हुँदा उनी २५ वर्षका थिए।
अहिलेसम्म पाँच महिलाले भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार हात पारेका छन्।
सन् २०१९ मा लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि डोना स्ट्रिक्ल्यान्डले यही विधामा नोबेल पुरस्कार हात पारेकी थिइन्। क्यानडाकी डा स्ट्रिक्ल्यान्डले अमेरिकाका डा आर्थर याश्किन र फ्रान्सका डा जेरा मोरूसँग लेजर फिजिक्सको क्षेत्रमा गरेका अनुसन्धानका लागि संयुक्त रूपमा नोबेल पुरस्कार पाएकी थिइन्।
भौतिकशास्त्रमा उक्त पुरस्कार पाउने उनी तेस्री महिला हुन्। उनीभन्दा पहिला सन् १९०३ मा मरी क्युरीले र सन् १९६३ मा मारिआ गोइप्पर्ट-माएरले उक्त पुरस्कार पाएका थिए।
यसअघि भौतिकशास्त्रमा कसले पाएका थिए नोबेल पुरस्कार
- सन् २०२५ - क्वान्टम मेकानिक्ससम्बन्धी अनुसन्धान गरी 'म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनलिङ र विद्युतीय सर्किटमा ऊर्जा क्वान्टाइजेशन' हुन्छ भन्ने तथ्य पत्ता लगाएकाले जोन क्लार्क, मिशेल एच डेभोर र जोन एम मार्टिनिसलाई
- सन् २०२४ - एआई र मशीन लर्निङसम्बन्धी आविष्कारका लागि अमेरिका ९१ वर्षे वैज्ञानिक जोन जे हप्फील्ड र ब्रिटिश क्यानडेली कम्प्युटर वैज्ञानिक जेफ्री ई हिन्टनलाई
- २०२३ - पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन ल'हुलिएलाई 'सूक्ष्म कालखण्ड' पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि
- २०२२ - अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरलाई 'क्वान्टम मेकानिक्स'बारे अनुसन्धान गरेकाले
- २०२१ - स्युकुरो मानाबे, क्लाउस हासल्मान, जिओर्जिओ पारिसीलाई पृथ्वीको जलवायुजस्ता जटिल प्रणालीहरूबारे मानव जातिको ज्ञान बढाएकोमा
- २०२०: रोजर पेन्रोज, राइन्हार्ड गेन्जेल र आन्द्रिया गेजलाई ब्ल्याक होलको अनुसन्धानका लागि
- २०१९: जेम्स पिबल्स, मिशेल मेयर र डिडिएर कोएलोले संयुक्त रुपमा ब्रह्माण्डबारे विभिन्न अभूतपूर्व कुरा पत्ता लगाएकाले
- २०१८: डोना स्ट्रिकल्यान्ड, आर्थर अश्किन र जेरार मुरूलाई लेजर फिजिक्सका क्षेत्रमा विभिन्न कुरा पत्ता लगाएकाले
- २०१७: रेनर वाइस, किप थ्रोन र ब्यारी बारिशलाई गुरुत्वका तरङ्गहरू पत्ता लगाएकाले
- २०१६: डेभिड थोलेस, डन्कन होल्डेन र माइकल कोस्टरलिट्सलाई पदार्थका दुर्लभ चरणबारे गरिएको अनुसन्धानका लागि
- २०१५: ताकाकी काजिता र आर्थर मक्डोनल्डलाई न्यूट्रिनोमा हुने कम्पन पत्ता लगाएकाले
- २०१४ - इसामु आकासाकी, हिरोशी आमानो र शुजि नाकामुरालाई नीलो प्रकाश उत्सर्जन गर्ने प्रभावशाली डायोड आविष्कार गरेकाले
- २०१३ - फ्रास्वाँ एङ्लर्ट र पीटर हिग्सलाई सब्एटमिक कणको द्रव्यमान उत्पत्ति बुझ्न सघाउने विधि आविष्कार गरेकाले।
मस्तिष्कभित्र हुने क्रियाहरू जान्न सघाउने तीन वैज्ञानिकहरू चिकित्साशास्त्रतर्फ पुरस्कृत
सोमवार यो वर्षको पहिलो नोबेल पुरस्कारअन्तर्गत फिजिओलजी/चिकित्साशास्त्र विधातर्फका विजेताको नाम घोषणा भएको थियो।
नोबेल समितिले यो वर्ष अमेरिकी मनोविद् तथा स्नायुविद् कार्ल डाइसरोथ अनि उनका जर्मन सहकर्मीहरू पिटर हेगेमान अनि गेयोर्ग नागेललाई अप्टोजेनेटिक्सको क्षेत्रमा महत्त्वपूर्ण गरेको कामका लागि पुरस्कृत गर्ने निर्णय गरेको छ।
उनीहरूको अनुसन्धानले वैज्ञानिकहरूलाई मस्तिष्कभित्र हुने क्रियाहरूबारे थप जान्न अनि मानवमस्तिष्कले कसरी काम गर्छ भन्ने बुझ्न सघाएको छ।
"निश्चित स्मृति, भावना अनि स्नायु र मनोरोगसँग सम्बन्धितसँग व्यवहारहरू" का लागि उत्तरदायी 'न्यूरल सर्किट'हरू कसरी खोल्न र बन्द गर्न सकिन्छ भन्ने पत्ता लगाएर तीन जनाले न्यूरोविज्ञानमा नवयुगको थालनी गरेको नोबेल समितिले जनाएको छ।
क्लिनिकल मेडिसिनमा अनुसन्धानकर्ताहरूले यो विधि प्रयोग गरेर दृष्टि गुमाएका मानिसहरूलाई फेरि देख्ने बनाउने प्रयास गर्दै आएका छन्।
तीनै जनाले आफू पुरस्कृत हुन लागेकोमा खुसी व्यक्त गरेका छन्। पुरस्कारमा प्राप्त हुने १.२ करोड स्वीडिश क्रोनोर रकमले उनीहरूले भाग लगाएर पाउने छन्।
अप्टोजेनेटिक्स के हो
चिकित्साशास्त्रतर्फको पुरस्कार दिने नोबेल समितिका अध्यक्ष पेर स्भेन्निङ्सोनका अनुसार "अप्टोजेनेटिक्सले हामीलाई मस्तिष्कको नक्साङ्कन गर्ने अवसर प्रदान गर्छ, जुन हामी कुनै बेला कल्पना मात्र गर्न सक्थ्यौँ"।
यसअघि भावना, व्यवहार र शारीरिक क्रियाकलापहरूका लागि उत्तरदायी मस्तिष्कभित्र हुने सूक्ष्म प्रक्रियाहरू रहस्यमय थिए।
अप्टोजेनेटिक्स मस्तिष्कका प्रणालीहरूलाई स्पष्टसँग बुझ्ने एउटा विधि हो। यसमा 'आल्गी'बाट लिइएको एउटा विशेष प्रोटीन प्रयोग गरेर वैज्ञानिकहरूले प्रकाशको माध्यमबाट कोषहरूको विद्युतीय गतिविधिलाई नियन्त्रण गर्छन्।
सन् २००० को दशकको सुरुतिर हेगेमान र नागेलले अभूतपूर्व गुणहरू भएको 'च्यानलरोडोप्सिन' भनिने उक्त प्रोटीन पत्ता लगाएका थिए।
डाइसरोथले प्रकाशबाट नियन्त्रित हुने यो प्रोटीनलाई मुसाको मस्तिष्कमा हुने स्नायुकोषहरूलाई 'स्विच अन' गर्न कसरी प्रयोग गर्ने भन्ने तरिका विकास गरे।
त्यसयता अनुसन्धानकर्ताहरू जीवजन्तुका स्नायुकोषहरू र प्रणालीहरूले के र कसरी काम गर्छन् भनेर थप अध्ययन र खोज गर्न सफल भएका छन्।
यसअघि कसले पाएका थिए चिकित्साशास्त्रतर्फ पुरस्कार
- सन् २०२५ - शरीरको प्रतिरोध प्रणालीमा 'रेग्यलेटरी टी-सेल' भनिने विशेष कोषहरू रक्षकका रूपमा उपस्थित हुने तथ्य पत्ता लगाएकाले मेरी ब्रन्को, फ्रेड र्याम्स्डेल र शिमोन साकागुचीलाई
- सन् २०२४ - अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनलाई 'माइक्रोआरएनए' (microRNA) को आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिका पत्ता लगाएकाले
- २०२३ - हङ्गेरीमा जन्मिएकी अमेरिकी वैज्ञानिक काटालिन कारिको र संयुक्त राज्य अमेरिकाका ड्रू भाइस्मान। कोभिड-१९ विरुद्ध एमआरएनए खोप निर्माण गर्न बाटो खोलिदिने प्रविधि विकास गरेकाले
- २०२२ - स्वीडनका वैज्ञानिक स्वान्टे पाबोलाई मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेबापत
- २०२१ - डेभिड जुलिअस र आर्डम पाटपूटिअनलाई शरीरले स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियासँग सम्बन्धित अनुसन्धानका लागि
- २०२०- ब्रिटिश वैज्ञानिक माइकल हाउटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चार्ल्स राइसलाई हेपाटाइटिस सी भाइरस पत्ता लगाएकाले
- २०१९ - ब्रिटिश वैज्ञानिक पिटर र्याट्क्लिफ र संयुक्त राज्य अमेरिकाका विलियम काएलिन एवम् ग्रेग सिमेन्जालाई कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने पत्ता लगाएकाले
- २०१८ - जेम्स पी एलिसन र तासुकु होन्जोकोलाई शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएकाले
- २०१७ - जेफ्री हल, माइकल रोस्ब्याश र माइकल यङलाई शरीरले कसरी 'सर्कीडीअन रिदम' अर्थात् 'जैविक घडी' कायम राख्छ भन्ने अनुसन्धानका लागि
- २०१६ - योशिनोरी ओहसुमीलाई विकार पुनर्प्रयोग गरेर कोषहरू कसरी स्वस्थ रहन्छन् भनेर पत्ता लगाउने अनुसन्धानका लागि
- २०१५ - विलियम सी क्याम्प्बेल, सातोशी ओमुरा र यूयू टूलाई परजीवी नियन्त्रण गर्ने औषधिका लागि
- २०१४: जन ओ'कीफ, मे-ब्रिट मोजर र एड्वर्ड मोजरलाई मस्तिष्कको परिगमन प्रणाली पत्ता लगाउने अनुसन्धानका लागि
- २०१३ - जेम्स रथ्म्यान, र्यान्डी शेक्म्यान र थोमास स्युड्होफलाई कोषले कसरी पदार्थहरू परिवहन गर्छन् भने अनुसन्धानका लागि
- २०१२: जोन गर्डन र शिन्या यामानाकालाई कोषलाई 'स्टेम सेल' बनाउन सफल भएकोमा।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।