भारतका जेन जीले सौन्दर्य बजारमा ल्याइरहेको 'ठूलो छलाङ'

    • Author, निखिल इनामदार
    • Role, मुम्बई
  • Published
  • पढ्ने समय: ४ मिनेट

भारतका सौन्दर्य ब्र्यान्डहरूले हालसालै विश्वव्यापी पुँजीबाट धेरै चासो आकर्षित गरिरहेका छन्।

यो वर्षको मार्च महिनामा, अमेरिकी विलासी सौन्दर्य सामग्री निर्माता एस्टे लडरले भारतीय आयुर्वेदिक कम्पनी फरेस्ट इसेन्शल्सलाई पूर्ण रूपमा अधिग्रहण गर्‍यो। फ्रान्सको लोरियाल ग्रूपले जुन महिनामा डिजिटल व्यक्तिगत हेरचाह ब्रान्ड इनोभिस्टको 'मेजोरिटी' हिस्सेदारी ग्रहण गर्‍यो। यूनिलिभरले विगत केही वर्षमा आफ्नो 'भेन्चर क्यापिटल' शाखामार्फत् देशमा कम्तीमा चार थरीका सौन्दर्य सामाग्रीमा लगानी गरेको छ।

दुई सन्तानकी एकल आमा उद्यमी मीरा कुलकर्णीले एउटा सानो गराजबाट सुरु गरेको फरेस्ट इसेन्शल्स एउटा सानो स्टार्टअपबाटअर्बौँ डलरको कम्पनीमा परिणत भएको छ र विगत दुई दशकमा उसको विश्वव्यापी उपस्थिति भएको छ।

'व्यापक वृद्धि'

यसको वृद्धिले देशको सौन्दर्य उद्योगको व्यापक वृद्धिलाई प्रतिबिम्बित गर्दछ, जसको मूल्य सन् २०२५ मा लगभग २३ अर्ब डलर थियो। यस दशकको अन्त्यसम्म यसको आकार लगभग दोबर भएर ४० अर्ब डलर पुग्ने ठानिएको छ, जुन देशको कुल गार्हस्थ्य र बृहत् खुद्रा बजारको दुई गुणा दरले बढ्छ।

विज्ञहरूका अनुसार एशियाको तेस्रो ठूलो अर्थतन्त्रमा बढ्दो खर्च गर्ने शक्तिले यो वृद्धिलाई केही हदसम्म प्रेरित गरिरहेको छ।

भारतको व्यापार परामर्श संस्था रेडसीरका अनुसार सन् २०१९ मा भारतको प्रतिव्यक्ति आय २,००० अमेरिकी डलर नाघेको छ, जुन सीमा पार गरेपछि मानिसहरूले आफ्नो रुचिअनुसार गर्ने खर्च तीव्र रूपमा बढ्ने गर्छ। सन् २०३० सम्ममा करिब १५ करोड ५० लाख घरपरिवारले वार्षिक ९,५०० अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको छ।

रेडसीरका एक साझेदार कुशल भट्नागरले बीबीसीसँग भने, "ऐतिहासिक रूपमा हामीले सौन्दर्यमा कम खर्च गरेका थियौँ किनभने सबै प्रकारका साबुन वा फेस पाउडरजस्ता आधारभूत सामानबाहेक अन्य कुनै पनि चिजका लागि चाहिने क्रयशक्ति थिएन।"

कारकहरू

"तर अब अधिक खर्च गर्ने शक्तिका साथ अहिले सुधारिएको पहुँच, वितरण र उत्पादन शिक्षा छ। इन्टरनेटले यी अवरोधहरू तोड्यो, ब्र्यान्डहरूले सामाजिक सञ्जाल प्ल्याट्फर्महरू र इन्फ्लुअन्सरहरूको शक्तिको लाभ उठाउँदै उपभोक्ताहरूमा सीधा पुग्न मद्दत गरे।"

रेडसीरको प्रक्षेपणअनुसार वास्तवमा ई-कमर्सले सन् २०३० सम्ममा समग्र सौन्दर्य खर्चको लगभग ३५ प्रतिशत ओगट्ने ठानिएको छ। पाँच वर्षपहिले यो मात्र आठ प्रतिशतको थियो।

कोभिड महामारी पनि यो उद्योगका लागि एउटा मुख्य परिवर्तनकारी कारण बनेको उद्यमी वैशाली गुप्ता बताउँछिन्। उनका दुई वटा सौन्दर्य उद्यमहरू कोभिडको समयमा सुरु भएदेखि भव्य रूपमा विस्तार भएका छन्।

उनले सन् २०२३ मा बलिवुड स्टार कृति सेननसँग मिलेर छालाको हेरचाहसम्बन्धी 'भीगन' सामग्रीहरूको कम्पनी हाइफनको स्थापना गरिन्। साथै उनी स्क्रब, वाश र लोशन बनाउने एमक्याफिन पनि चलाउँछिन् र आफूलाई भारतमा क्याफिनसहितको 'पर्सनल केअर' ब्र्यान्ड आफ्नै भएको दाबी गर्छिन्।

"कोभिडले मानिसहरूलाई आफ्नो हेरचाह गर्न र आफूलाई हेर्ने समय दियो अनि यो डिजिटल हस्तक्षेपका विभिन्न तहसँग मेल खान्छ। अचानक भारतीय उपभोक्ताहरूले सौन्दर्य र छाला स्याहारसम्बन्धी शिक्षामा पहुँच पाए, जुन उनीहरूले पहिले कहिल्यै पाएका थिएनन् - जस्तै कोरिया वा युरोपमा के ट्रेन्डिङ थियो वा छाला सेतो बनाउन वा डन्डिफोर नियन्त्रण गर्ने कुन सामाग्री चाहिन्छ भन्ने उनीहरूले थाहा पाए," गुप्ताले बीबीसीसँग भनिन्।

"त्यो ज्ञानको आधारले उपभोक्ताले के चाहेको हो भन्ने ठ्याक्कै थाहा पाए। त्यही बेला हो भारतमा छालाको हेरचाहको बाढी सुरु भएको।"

गत वर्ष गुप्ताका ब्र्यान्डहरूको आयमा शतप्रतिशत वृद्धि भयो र उनी अब पनि दोहोरो अङ्कको बलियो वृद्धि हुने आशा गर्छिन्।

हाइफन र एमक्याफिन दुवै अब भारतमा उनीहरूको कोटीमा शीर्ष १० ब्र्यान्डहरूमध्ये एक भएको उनी बताउँछिन्।

"यो एउटा संरचनात्मक विकासको कथा हो र हामी यो बजार के बन्न सक्छ भन्ने सुरुवातमा छौँ," गुप्ताले भनिन्।

दीपिका पादुकोणदेखि कट्रिना कैफ र शिल्पा शेट्टीसम्मका बलिवुड स्टारहरूले पनि हालैका वर्षहरूमा छालाको हेरचाहसम्बन्धी कम्पनीहरू सुरु गरेका छन्।

ग्राहकहरूको वृद्धि देशका सबै कुनाबाट भइरहेको छ र ठूला सहरहरूमा मात्र सीमित छैन।

जेन जीको भूमिका

गुप्ताका अनुसार यो क्षेत्रको वृद्धिले जेन जीले अगाडि बढाइरहेको तथ्य अर्को विशेष छ। 'मिलेनिअल'ले छाला र समग्र व्यक्तिगत हेरचाहमा गरेकोभन्दा लगभग दोबर खर्च जेन जीले गरिरहेका छन्।

भारतको सबैभन्दा ठूलो ई-कमर्स प्ल्याट्फर्म फ्लिपकार्टको तथ्याङ्कले यसको पुष्टि गर्छ। यसको सौन्दर्य र व्यक्तिगत हेरचाह खरिदकर्ताहरूको लगभग ५६ प्रतिशत जेन जी हुन् र तीमध्ये ७० प्रतिशतले सामाजिक सञ्जालमार्फत् सामानहरूबारे थाहा पाउँछन्।

फ्लिपकार्टमा तीनमध्ये दुई सौन्दर्यसम्बन्धी खोज ('सर्च') मुख्य सहरीभन्दा बाहिरको क्षेत्रबाट आउँछ।

रेडसीरका अनुसार जेन जी र जेन अल्फाको सौन्दर्य खर्चको हिस्सा सन् २०२४ मा ३२ प्रतिशतबाट बढेर सन् २०३० सम्ममा लगभग ५० प्रतिशत हुने छ।

फ्लिपकार्टमा ब्रान्ड रणनीतिको नेतृत्व गर्ने प्रियङ्का भार्गवका अनुसार यो एउटा परिवर्तनको बिन्दु हो। उनी भन्छिन्, "कुनै समय 'आकाङ्क्षी वर्ग' रहेको यो अहिले धेरै युवा भारतीयहरूका लागि दैनिक आफ्नो हेरचाहको अभिव्यक्ति बनेको छ।"

यहाँबाट अगाडि बढ्दा उपभोक्ताले अझै राम्रो सामान खोज्ने हुने सम्भावना छ किनकि यहाँबाट बजार बढ्छ र विकासको अर्को चरण खास सामाग्रीहरू, छाला विशेषज्ञद्वारा समर्थित उत्पादनहरू र छालाको पोषणमा ध्यान केन्द्रित गर्ने ब्र्यान्डहरू हुने विज्ञहरू बताउँछन्।

भट्नागरका अनुसार केही मात्रै व्यक्तिगत ब्र्यान्डहरूले अहिलेसम्म अर्थपूर्ण रूपमा उचाइ पाएका छन् तर वृद्धिको यो गतिमा कम्तीमा १०-१५ सौन्दर्य कम्पनीहरूले आगामी तीनदेखि पाँच वर्षमा २० करोड डलर राजस्व पार गर्ने छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।