श्रीलङ्का सङ्कटः दुई दशक देशको सत्तावरिपरि बस्दै आएका राजपक्ष बन्धुहरू को हुन्

राजपक्ष दाजुभाइ
Published

"तिमीहरूको देशमा राजपक्ष मात्र थर हुन्छ हो?" एक काल्पनिक चिनियाँ सरकारी अधिकारीले श्रीलङ्का भ्रमण गर्दा भेट भएका सबै प्रतिष्ठित व्यक्तिको थर राजपक्ष देखेपछि उनी अन्योलमा परेको विषयबारे श्रीलङ्कामा निकै प्रचलित एउटा चुट्किलाको अंश हो यो।

तर यो चुट्किला कसरी सुरु भयो भन्ने कल्पना गर्न धेरै सजिलो छ। राजपक्ष परिवारले श्रीलङ्कामा विगत दुई दशकयता बलियो पकड कायम गरेको छ।

तर उनीहरूको प्रभुत्व अहिले जोखिममा परेको छ। श्रीलङ्काले सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएयता सबैभन्दा खराब आर्थिक सङ्कट बेहोरिरहेको छ। धेरै विज्ञहरूले आर्थिक व्यवस्थापनको कमजोरीका कारण सङ्कट निम्तिएको बताएका छन्।

देशमा चर्किएको प्रदर्शनमा धेरै जनाको मृत्यु भइसकेको छ।

गत एप्रिल महिनादेखि देशभरि चर्किँदै गएको प्रदर्शनबीच पूर्वराष्ट्रपति समेत रहिसकेका प्रधानमन्त्री महिन्द राजपक्षले गत साता पदबाट राजीनामा दिए।

महिन्द वर्तमान राष्ट्रपति गोटाबय राजपक्षका दाजु हुन्।

महिन्द राजपक्ष दुई पटक राष्ट्रपति बनेका थिए
तस्बिरको क्याप्शन, महिन्द राजपक्ष दुई पटक राष्ट्रपति बनेका थिए

परिवार नै राजनीतिमा

महिन्द राजपक्षको राजीनामालाई विज्ञहरूले ठूलो घटना मानेका छन्।

"महिन्दको राजीनामा वर्षौँसम्म श्रीलङ्काको सबैभन्दा शक्तिशाली व्यक्तिको भविष्यमा आएको अपमानजनक मोड हो," बीबीसी न्यूज वेबसाइटका एशिया सम्पादक आशा परेरा भन्छिन्।

पहिला राष्ट्रपति पनि भइसकेका उनी राजनीतिमा ठूलो शक्ति नभएको परिवारका सबैभन्दा लोकप्रिय व्यक्ति बने।

राजपक्ष परिवार

दक्षिण श्रीलङ्कास्थित हम्बन्टोटा क्षेत्रको जमिनदार परिवारको यो परिवारबाट सन् १९७० मा महिन्द सबैभन्दा पहिले सांसद निर्वाचित भएका थिए। उनी त्यस बेला श्रीलङ्काको संसद्‌मा सबैभन्दा कान्छो संसद् बने।

सन् १९८०को दशकमा महिन्द र उनका दाजु चमल दुवै जना संसद्‌मा निर्वाचित भए।

सन् १९८७ देखि ८९ सम्म वामपन्थी विद्रोहीमाथि दमनको भर्त्सना गरेर उनले लोकप्रियता हासिल गरे। उनले आवाज उठाएपछि श्रीलङ्कामा राष्ट्रसङ्घले हस्तक्षेप गर्‍यो।

सन् १९९४ मा श्रीलङ्काका नयाँ राष्ट्रपति चन्द्रिका कुमारातुङ्गाले राजपक्षलाई श्रममन्त्री नियुक्त गरिन्। त्यसको दश वर्षपछि उनी प्रधानमन्त्री बने र सन् २००५ मा झिनो मतान्तरले राष्ट्रपतिमा निर्वाचित भए।

महिन्द सन् २००५ र २०१५ मा गरी श्रीलङ्काको राष्ट्रपतिमा दुई कार्यकाल निर्वाचित भए। सन् २००९ मा तीन दशक बढी चलेको रक्तपातपूर्ण पृथक्तावादी तमिल गृहयुद्ध उनले नै अन्त्यमा गराए।

तर विजयपछि उनलाई धार्मिक अल्पसङ्ख्यकविरुद्ध मानवाधिकार उल्लङ्घन गरेको र भ्रष्ट्राचार गरेको आरोप लाग्यो।

श्रीलङ्कामा ७० प्रतिशत जनसङ्ख्या सिन्हाली बौद्ध धर्मावलम्बीहरूको छ।

पूर्वराष्ट्रपति राजपक्षले यी सबै आरोप अस्वीकार गर्दै आएका छन्।

आफ्ना दाजुपछि श्रीलङ्काको राष्ट्रपति बनेका गोटाबय राजपक्षले देशको गृहयुद्ध समाप्त गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए
तस्बिरको क्याप्शन, आफ्ना दाजुपछि श्रीलङ्काको राष्ट्रपति बनेका गोटाबय राजपक्षले देशको गृहयुद्ध समाप्त गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए

राजनीतिक पारिवार

विवादले राजपक्ष परिवारलाई श्रीलङ्काको राजनीतिमा एकाधिकार कायम गर्न रोक्न सकेन।

गोटाबय श्रीलङ्काको रक्षामन्त्री थिए। उनले गृहयुद्धको अन्त्यका लागि खेलेका भूमिकाको कतिपयले प्रशंसा समेत गरेका थिए।

चमलले पनि कृषि, मत्स्य र सिँचाइ मन्त्रालय सम्हाले। अर्का भाइ बसिलले अर्थ र आर्थिक विकास मन्त्रालयको जिम्मेवारी छोटो अवधिका लागि पाए।

चार दाजुभाइका धेरै आफन्तहरू पनि श्रीलङ्कामा सार्वजनिक पदमा पुगेका छन्।

बसिल राजपक्षले पटकपटक प्रभावशाली राजनीतिक पद पाएका छन्
तस्बिरको क्याप्शन, बसिल राजपक्षले पटकपटक प्रभावशाली राजनीतिक पद पाएका छन्

महिन्दका छोरा नमल हालै श्रीलङ्काको खेलकुदमन्त्री बने। अर्का छोरा योषित पनि प्रधानमन्त्रीका 'चीफ अफ स्टाफ' भए।

यद्यपि महिन्दले सन् २०१५ को राष्ट्रपतीय निर्वाचनमा अप्रत्याशित हार बेहोरेपछि यो परिवारलाई झट्का लागेको थियो।

संवैधानिक प्रावधानले पूर्वराष्ट्रपतिलाई पुनः उम्मेदवार हुन रोक लगाएपछि भाइ गोटाबयलाई उक्त पदमा अघि सारेर चार वर्षपछि प्रधानमन्त्रीको रूपमा शक्तिमा फर्किएका थिए।

राष्ट्रियतावादी मुद्दा अघि सारेर नयाँ राष्ट्रपतिले देशमा कानुनी शासनलाई संस्थागत गर्ने प्रयास गरे।

तर सन् २०१९ को एप्रिलमा इस्लामिक स्टेटसँग सम्बद्ध आतङ्कवादी आक्रमणमा श्रीलङ्कामा २५० जनाभन्दा बढी मानिसको मृत्यु भयो।

चमल राजपक्ष यसअघि सिँचाइमन्त्री थिए
तस्बिरको क्याप्शन, चमल राजपक्ष यसअघि सिँचाइमन्त्री थिए

भ्रष्टाचारको आरोप

यो परिवार जति धेरै शक्तिमा पुगे पनि उनीहरूविरुद्ध भ्रष्टाचारको आरोप लागिरह्यो। कोभिड महामारीलगत्तै देशमा आर्थिक सङ्कट निम्त्याउन जिम्मेवार रहेको आरोप यो परिवारमाथि लागेको छ।

"धेरै मानिसहरूलाई यो विश्वास छ कि महिन्द राजपक्षले आफ्नो परिवारको आर्थिक लाभका निम्ति देशको सम्पत्ति रित्याउने बाटो खोलिदिए," आशा परेरा थप्छिन्।

राजपक्ष परिवारलाई देशबाट "लुटिएको सम्पत्ति" फिर्ता गर्न आग्रह गरिएका पर्चाहरू श्रीलङ्काको आन्दोलनमा प्रशस्त देखिन्छन्।

राजपक्षको प्रतिष्ठा खस्किँदै गएपछि यो परिवारमा समेत विभाजन आयो।

एप्रिलको अन्त्यमा महिन्द र गोटाबयबीच मनमुटाव बढेको र समर्थकहरूलाई आफ्नो पक्षमा लिन शक्ति सङ्घर्ष भएका विवरणहरू आए।

कोलम्बोमा ग्यास तानातान

'घर फर्किऊ'

देशमा आर्थिक सङ्कट गहिरिँदै गएपछि यसअघि उनलाई जिताएका मानिसहरूले नै राष्ट्रपति गोटाबयलाई उनको उपनामप्रति सङ्केत गर्दै "गोटा, घर फर्किऊ" लेखिएका प्ल्याकार्ड लिएर प्रदर्शन गरेका छन्।

सरकारविरोधी प्रदर्शनमा सरकार समर्थकहरूले आक्रमणको प्रयास गरेपछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले हम्बन्टोटामा राजपक्ष परिवारको पुर्ख्यौली घरसहित यो परिवारको स्वामित्वमा रहेका धेरै सम्पत्तिहरू जलाइदिएका छन्।

प्रदर्शनकारीहरूले राजपक्ष बन्धुका आमाबुवाको समाधिस्थल र उनीहरूका नाममा बनाइएको स्मारक पनि नष्ट गरे।

गोटाबयमाथि स्मारक निर्माणमा राज्यको रकम दुरुपयोग गरेको आरोप लागेको थियो।