इण्डोनेशिया: 'ज्वालामुखी सुनामी' मा कैयौँको मृत्यु

ज्वालामुखी
Published

इण्डोनेशियाको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा आएको सुनामीका कारण कम्तीमा १६८ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

सो देशको विपद् व्यवस्थापन निकायका अनुसार ७४५ जना घाइते भएका छन् भने दर्जनौँ भवन भत्किएका छन्।

क्राकाटोआ ज्वालामुखी विस्फोटले समुद्र मुनि पहिरो निम्त्याएको कारण सुनामी आएको हुन सक्ने उनीहरूले अनुमान गरेका छन्।

दृश्य

जाभा र सुमात्रा टापु बीचमा अवस्थित सुन्दा स्ट्रेट ले जाभा सागरलाई हिन्द महासागरसँग जोड्छ।

विपद व्यवस्थापन निकायका प्रमुखले राखेका तस्बिरहरूमा सुनामीपछिका दृश्य देखिन्छन् जसमा पानीमा डुबेका सहर तथा पल्टिएका गाडीहरू देखिन्छन्।

ज्वालामुखी
तस्बिरको क्याप्शन, अनाक क्राकाटोआ नामक यो ज्वालामुखी हालैका महिनाहरूमा धेरै पटक विस्फोट भइसक्यो। यो दृश्य जुलाई महिनाको हो।

उनले त्यसअघि पानीको तेज बहाव पसेपछि स्थानीयबासीहरू भागिरहेको दृश्य पनि राखेका थिए।

आपत्‌कालीन सेवा प्रदायक अधिकारीहरूले उक्त सुनामी क्राकाटोआ ज्वालामुखीका कारण आएको हो कि भनेर अनुसन्धान गरिरहेका छन्।

किन इण्डोनेशियामा आइरहन्छन् सुनामी?

ज्वालामुखी
तस्बिरको क्याप्शन, अगस्टमा अनाक क्राकाटोआ विस्फोट हुँदाको स्याटेलाइट तस्बिर

क्राकाटोआ सुन्दा स्ट्रेटमै रहेको ज्वालामुखी टापुमा पर्दछ।

सेप्टेम्बर महिनामा त्यहाँको मध्य टापु सुलावेसीमा शक्तिशाली भूकम्प आएपछि सुनामी पनि आएको थियो।

सो सुनामीले तटीय नगर पालुलाई पूरै प्रभावित पारेको थियो। सो विपदमा परि २ हजारले ज्यान गुमाएका थिए।

इण्डोनेशियामा धेरै भूकम्पहरू आइरहन्छन्।

किनभने उक्त देश रिङ् अफ फायर भनिने पूरै प्रशान्त महासागरको तटीय इलाकाहरूमै पर्दछ जहाँ एकदमै धेरै भूकम्प र ज्वालामुखी विस्फोटका घटना भइरहन्छन्।

इण्डोनेशियाको भूगर्भसम्बन्धी निकायका अनुसार शुक्रवार उक्त ज्वालामुखी दुई मिनेट १२ सेकेण्डसम्म विस्फोट भएको थियो।

त्यसबाट उत्पन्न खरानीयुक्त धुवाँको मुस्लो पहाडको ४ सय मिटर माथिसम्म पुगेको थियो।