क्षतिग्रस्त युक्रेनी सहरहरूबाट सर्वसाधारणहरूको उद्धार हुँदै

युक्रेनका सुमी र इर्पिन सहरहरूबाट केही सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ भाग्न सफल भएका छन्। तर मारिऊपोलमा गैरसैनिकहरूको उद्धार गर्ने प्रयास भने विफल भएको छ।

लाइभ कभरेज

  1. युक्रेनका सर्वसाधारणलाई निस्कने सुरक्षित बाटो खोलियो

    रुसी रक्षा मन्त्रालयका अनुसार चेर्निहिभ, सुमी, खार्किभ, मारिऊपोल र राजधानी किएभबाट सर्वसाधारणलाई बाहिर निकाल्नका लागि सुरक्षित बाटो खोलिएको छ।

    विगतमा गैरसैनिकहरू हताहतिमा परेपछि त्यस्ता निकास मार्गबाट सर्वसाधारणलाई निकाल्ने प्रयासहरू असफल भएका थिए।

    समाचार संस्था इन्टरफ्याक्सले रुसी रक्षामन्त्रीलाई उद्धृत गर्दै भने अनुसार, सशस्त्र सैन्यले युक्रेनमा स्थानीय समय अनुसार बिहानको ९ बजेदेखि आक्रमण रोकेको छ।

    उत्तर-पूर्वी सहर सुमीबाट खुला गरिएको मार्गलाई आंशिक रूपमा रुसी सेनाले घेरेको छ र त्यहाँ भारी गोलाबारी भइरहेको थियो। सोमवार त्यस मार्गमा ९ जनाको मृत्यु भएको विवरणहरू सार्वजनिक भएका छन्।

    सम्झौता अनुरूप युद्ध विराम स्थानीय समय अनुसार बिहान ९:०० देखि रातिको ९ बजेसम्म कायम रहने अपेक्षा गरिएको छ।

    विस्थापितहरू सुमीबाट १७५ किलोमिटर दक्षिणमा रहेको युक्रेनी सहर पोल्टावास पुग्नेछन्।

    यसअघि मस्कोले युक्रेनीहरूलाई रुस लग्नका लागि राखेको प्रस्तावलाई युक्रेनले "अनैतिक र आममानिसको जीवनलाई खतरामा पार्ने चलखेलको संज्ञा दिँदै अस्वीकार" गरेको थियो।

    युक्रेनले रुसी अधिकारीहरूलाई युद्ध विरामको सम्झौताको सम्मान गर्न आह्वान गरेको छ।

    युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेश्चुकले भारत, चीन र अन्य देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि बाहिर पुर्‍याउने योजना रहेको बताएकी छन्।

  2. तेल निर्यातमा प्रतिबन्ध लागे युरोपमा ग्यास आपूर्ति बन्द गर्ने रुसको चेतावनी

    नोर्ड स्ट्रीम

    यदि पश्चिमा देशहरूले रुसलाई तेल निर्यात गर्न प्रतिबन्ध लगाए ग्यास आपूर्तिका लागि जर्मनीसँगको मुख्य ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी मस्कोले दिएको छ।

    रुसका उपप्रधानमन्त्री अलेक्सान्डर नोभाकले त्यस्तो कदमबाट विश्वभरिको आपूर्तिमा "विनाशकारी परिणाम" आउने र तेलको मूल्य दोबर भएर प्रतिब्यारल ३०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।

    अमेरिकाले साझेदार राष्ट्रहरूसँग मिलेर रुसी तेललाई प्रतिबन्ध लगाउँदै युक्रेनमाथि आक्रमण गरेकोमा रुसलाई दण्ड दिने विषयमा विचार गरिरहेको छ। तर जर्मनी र द नेदरल्यान्ड्सले उक्त योजना सोमवार अस्वीकार गरेका छन्।

    ईयूका देशहरूले ४०% ग्यास र ३० प्रतिशत तेल रुसबाट प्राप्त गर्छन्। यदि रुसबाट तेल र ग्यासको आपूर्ति रोकियो भने उनीहरूसँग माग पूरा गर्न अरू विकल्प छैन।

    प्रतिकार गर्ने रुसको अधिकार भएको तर्क गर्दै नोभाकले रुस र जर्मनीबीच स्थापित दोस्रो नोर्ड स्ट्रीम पाइपलाइन प्रमाणीकरण रोकिदिने जर्मनीको गत महिनाको निर्णयतिर औँला ठड्याएका छन्।

  3. के युक्रेनमा पुटिनले चेचन्या र एलेप्पोमा जस्तै रणनीति अपनाउलान्?

  4. युक्रेनी नागरिकलाई 'सुरक्षित बाटो दिन रुस तयार': रुसी सरकारी सञ्चारमाध्यम

    युक्रेन

    रुसले स्थानीय समयानुसार बिहान १० बजे युक्रेनमा "विरामको अवधि" घोषणा गर्ने तथा मानिसहरूलाई अन्यत्र जान बाटो दिने विवरण रुसी सरकारी सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन्।

    उनीहरूले रुसी रक्षा मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै किएभ, चेर्निहिभ, सुमी, खार्किभ र मारिऊपोल सहरबाट सर्वसाधारण मानिसहरूलाई बाहिर निकाल्न त्यसो गर्न लागिएको बताएका छन्।

    रुसले यसअघि प्रस्ताव गरेका अधिकांश निकास मार्ग रुसतिर जान्छन्। तर युक्रेनले त्यसलाई अस्वीकार गरिसकेको छ।

    युक्रेनले रुसको नयाँ प्रस्तावबारे केही टिप्पणी गरिसकेको छैन।

    यसअघि युद्ध भइरहेका स्थानबाट मानिसहरूलाई सुरक्षित रूपमा अन्यत्र लैजानै सबै प्रयास विफल भएका थिए। त्यसका लागि दुवै पक्षले एकअर्कालाई दोष दिने गरेका छन्।

  5. रुसी हवाई आक्रमणमा परेर मृत्यु हुनेमा 'बालबालिका पनि'

    युक्रेनका एक सैन्य अधिकारीले रुसी हवाई आक्रमणमा परेर सुमी र वरपरका क्षेत्रमा ज्यान गुमाउनेमध्ये बालबालिका पनि भएको बताएका छन्।

    सुमी क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ड्मित्रो झीभीत्स्कीले फेसबुकमा एउटा भिडिओ प्रकाशित गर्दै राति ११ बजेपछि रुसी लडाकु विमानहरूले सहरको पूर्वोत्तर भागमा आक्रमण गरेको बताएका छन्।

    "दुर्भाग्यवश मारिनेमध्ये बालबालिका पनि छन्," उनले भने।

    उनका अनुसार ती आक्रमणमा १० जनाभन्दा बढी मानिसको मृत्यु भएको छ।

    बीबीसीले उक्त दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

    "बालबालिकालाई मारिँदैछ," उनले आक्रमण भएको देखाउने उक्त भिडिओ फेसबुकमा प्रेषित गर्दै लेखेका छन्।

    "हामी यसका लागि कहिल्यै माफ गर्नेछैनौँ।"

  6. युद्धको अग्रमोर्चामा सैनिक जोडीले गरे बिहे

  7. 'रुस सर्वाधिक प्रतिबन्ध खेप्ने देश'

    सबैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्ने देशमा रुस, इरान, सिरिया, उत्तर कोरिया, भेनेजुएला, म्यान्मार र क्युबा पर्छन्
    तस्बिरको क्याप्शन, सबैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्ने देशमा रुस, इरान, सिरिया, उत्तर कोरिया, भेनेजुएला, म्यान्मार र क्युबा पर्छन्

    सर्वाधिक प्रतिबन्ध खेप्ने देशहरूको सूचीमा रुस शीर्ष स्थानमा पुगेको अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबारे अभिलेख राख्ने वेबसाइट Castellum.ai ले देखाएको छ।

    उक्त साइटका अनुसार फेब्रुअरी २२ अगाडि नै रुसविरुद्ध २,७५४ वटा प्रतिबन्ध कायम थिए।

    युक्रेनमा आक्रमण गरेपछि रुसमाथि थप २,७७८ वटा प्रतिबन्ध लगाइयो। अहिले रुसविरुद्ध कुल ५,५३२ वटा प्रतिबन्ध छन्।

    यसअघि शीर्ष स्थानमा रहेको इरानविरुद्ध ३,५१६ वटा प्रतिबन्ध छन्। रुसले इरानलाई पनि उछिनेको छ।

    रुसले खेप्नुपरेका प्रतिबन्धमध्ये संयुक्त राज्य अमेरिकाले सर्वाधिक २१% तथा यूके र ईयूले संयुक्त रूपमा १८% प्रतिबन्ध लगाएका छन्।

    युक्रेनमा आक्रमण रोक्न दबाव दिन विश्वभरिबाट रुसविरुद्ध प्रतिबन्ध लगाउने क्रम जारी छ।

  8. 'न साइरन न बम, यहाँ सबै कुरा राम्रो छ' - पोल्यान्डमा युक्रेनी शरणार्थी

  9. युद्धमा रुसी उच्च सैन्य अधिकारीको 'मृत्यु': युक्रेन

    युक्रेनको रक्षा मन्त्रालयका अनुसार खार्किभमा जारी युद्धका क्रममा एक जना रुसी ''उच्च सैन्य अधिकारी मारिएका छन्''।

    बीबीसीले स्वतन्त्र रूपमा यस विषयको पुष्टि गर्न सकेको छैन। रुसी अधिकारीहरूले पनि उक्त विषयबारे प्रतिक्रिया जनाएका छैनन्।

    युक्रेनको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिका अनुसार भीताली जेरासाइमोभ युद्धका क्रममा मारिएका हुन्।

    कैयौँ अन्य वरिष्ठ रुसी सैन्य अधिकारीहरू पनि घाइते भएको र मारिएको बताइएको छ।

    युक्रेनी गुप्तचर निकायका अनुसार जेरासाइमोभ दोस्रो चेचेन युद्ध अनि सिरियामा भएको रुसी सैन्य कारबाहीमा सहभागी भएका थिए।

    ‘‘क्राइमिया पुनः नियन्त्रणमा लिए पश्चात्’’ उनले पदक प्राप्त गरेका थिए।

    सेना
  10. ओडेसा शहरमा विस्फोटको ठूलो आवाज

    विस्फोट

    युक्रेनको दक्षिण-पश्चिमी बन्दरगाह शहर ओडेसामा विस्फोटको ठूलो आवाज सुनिएको छ।

    पश्चिम तर्फबाट तीन अथवा चारवटा विस्फोटका आवाज सुनिएको बीबीसीका एक संवाददाताले बताएका छन्।

    विवरणमा जनाइएअनुसार युक्रेनी प्रतिरक्षा प्रणालीले रुसी क्षेप्यास्त्रहरूलाई खसाल्ने गरेको छ।

    मस्कोका लागि ओडेसा महत्त्वपूर्ण रणनीतिक शहरको रूपमा रहेको छ।

    यसअघि सोमवार रुसी हवाई हमलाले एउटा बेकरी उद्योगलाई निशाना बनाउँदा १३ जना कामदार मारिएको उद्धारकर्मीहरूले बताएका थिए।

  11. रुसले विदेशी लडाकु भर्ती गर्दैः अमेरिका

    विदेशी लडाकु

    युक्रेनमा लडाइँ गर्नका लागि रुसले सिरियाली तथा अरू विदेशी लडाकुहरूलाई भर्ती गरिरहेको अमेरिकी रक्षा अधिकारीहरूले बताएका छन्।

    अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक प्रवक्ता जोन एफ किर्बीले भनेका छन्, ''कति सिरियालीलाई भर्ती गरिएको छ वा उनीहरू कहाँ छन् त्यसबारे विस्तृत विवरण मसँग त छैन। तर मस्को पनि विदेशी लडाकुमाथि निर्भर हुनुपर्ने कुरा वास्तवमै चाखलाग्दो छ।''

  12. तेलको मूल्य थप बढ्ने चेतावनी

    तेल

    पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्य थप बढ्न सक्ने रुसले चेतावनी दिएको छ।

    अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने उसको चेतावनी छ।

  13. युक्रेनी नागरिकलाई निस्कन दिन अपील

    भावुक अपील

    मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घीय निकायका प्रमुखले युक्रेनका सर्वसाधारणलाई सुरक्षित ठाउँतर्फ जान दिन एउटा भावुक अपील गरेका छन्।

    न्यूयोर्कस्थित सुरक्षा परिषद्‌को आपत्कालीन बैठकमा मार्टिन ग्रिफिथ्सले युद्धका कारण युक्रेनमा फसेका लाखौँ सर्वसाधारणको दयनीय अवस्थाबारे चर्चा गरे।

    हिंसा, डर र पीडामा मानिसहरूले समय बिताइरहेको उनले उल्लेख गरे।

    रुसी आक्रमणमा परेका क्षेत्रबाट जुनसुकै ठाउँ वा दिशातर्फ स्वेच्छिक रूपमा मानिसहरूलाई जान दिन उनले आग्रह गरे।

    राष्ट्रसङ्घका लागि रुसी राजदूतले भने सर्वसाधारणलाई जान नदिएको कुरा अस्वीकार गरे।

  14. विश्व ब्याङ्कद्वारा ७० करोडको प्याकेज अनुमोदन

    विश्व ब्याङ्क

    विश्व ब्याङ्कले युक्रेनका लागि ७० करोड डलर बराबरको ऋण तथा अनुदान प्याकेज अनुमोदन गरेको छ।

    अस्पतालका कर्मचारीलाई तलब खुवाउन,वृद्धवृद्धालाई निवृत्तिभरण दिन र जोखिम समूहका मानिसका लागि सामाजिक कार्यक्रम सञ्चालन गर्न युक्रेनी सरकारलाई सो रकमले सहयोग पुर्‍याउने ब्याङ्कले जनाएको छ।

    केही रकमका लागि स्विडेन र द नेदरल्यान्ड्स जमानी बसिदिनेछन्।

    विश्व ब्याङ्कको उक्त प्याकेजका लागि ब्रिटेन, डेनमार्क,लाटिभिआ र लुथिआनिआ लगायत देशले पनि सहयोग गरेका छन्।

  15. लाइभ पेजमा स्वागत छ

    शुभप्रभात!

    रुसले युक्रेनमाथि आक्रमण गरेयता हामीले मुख्यमुख्य घटनाक्रमबारे अद्यावधिक गर्दै आएका छौँ।

    आज दिनभरि पनि हामीले महत्त्वपूर्ण घटनाक्रमबारे समाचार सामग्री पस्कनेछौँ।

    कृपया हामीसँगै रहनुहोला।

  16. क्षतिग्रस्त युक्रेनी सहरहरूबाट सर्वसाधारणहरूको उद्धार हुँदै

  17. रुसको चेतावनीअनुसार तेलको मूल्य कति पुग्न सक्छ

  18. युद्ध भइरहेको ठाउँको जनजीवन देखाउन टिकटकमा भिडिओ

  19. युक्रेन युद्ध कसरी टुङ्गिएला? पाँच सम्भावित परिदृश्य

  20. रुसी आक्रमणले सर्वसाधारण निकास कार्य अवरुद्ध भएको युक्रेनको दाबी