चितवनमा किन फेला परे सर्वाधिक सङ्ख्यामा शव
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साँझ ६:२० बजे सार्वजनिक गरेको विवरणमा अहिलेसम्म बाढीका कारण मृत्यु हुने १३२ जनाको शव चितवनमा फेला परेको जनाएको छ।
रसुवास्थित भोटेकोशी नदीमा हिजो बिहान आएको बाढीका कारण अहिलेसम्म ३५९ जनाको मृत्यु भएको पुष्टि भएको छ। तीमध्ये १७ जनाका शव रसुवामा फेला परेका हुन्।
भोटेकोशी र तल त्रिशूली एवम् नारायणी नदीका तटीय क्षेत्रमा अवस्थित आठ जिल्लामा शव फेला पर्ने क्रम जारी छ।
अतिप्रभावित क्षेत्रबाट अधिकांश शवहरू नदीमा बगेर तल पुगेका हुन्। चितवनभन्दा तल रहेका नवलपरासी पूर्व र पश्चिममा पनि पनि नारायणी नदीमा शवहरू फेला परेका छन्।
रसुवाको धुन्चे आइपुगेपछि भोटेकोशी नदीले त्रिशूलीको रूप लिन्छ। तनहुँ हुँदै आएको कालीकण्डकी नदी देवघाटमा मिसिएपछि नारायणी नदी बन्छ। भारत प्रवेश गरेपछि उक्त नदीलाई गण्डक भनिन्छ।
कहाँ कति शव फेला परे?
- रसुवाः १७
- नुवाकोटः २८
- धादिङ: ३३
- गोरखाः ३० (विभिन्न मानव अङ्गसहित)
- तनहुँः २२
- चितवनः १३२
- नवलपरासी पूर्वः ८२
- नवलपरासी पश्चिमः १५