अहिलेसम्म हामीलाई के थाहा छ?
सीमावर्ती जिल्ला रसुवामा तिब्बत हुँदै आएको भोटेकोशी र तल त्रिशूली नदीमा बुधवार बिहान आएको विनाशकारी बाढीपछि बिहीवार बिहानसम्म कम्तीमा १६५ जनाको शव फेला परेको र सयौँ मानिस अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ।
प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा शवहरू फेला पर्ने क्रम जारी छ।
प्रभावित स्थानबाट उद्धार गरिएका ४१ जनालाई काठमाण्डू र नुवाकोटको त्रिशूलीमा उपचारार्थ भर्ना गरिएको प्रहरीले जनाएको छ।
प्राधिकरणले जनाए अनुसार पर्यटकहरू र विभिन्न निकायका सुरक्षाकर्मीहरूसहित ८२६ जना सम्पर्कविहीन छन्। तीमध्ये पर्यटकको सङ्ख्या ५७९ रहेको प्राधिकरणले जनाएको छ।
नेपाली सेनाका अनुसार रसुवा र नुवाकोटमा घाइते र जोखिममा परेका मानिसहरूलाई बिहानदेखि हेलिकप्टरबाट उद्धार गर्न थालिएको छ।
विभिन्न जलविद्युत् आयोजनाका कर्मचारी र सर्वसाधारण नागरिकहरूको उद्धार गर्न सेनाका हेलिकप्टरहरू खटेका छन्।
रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको र हाकुस्थित एउटा जलविद्युत् आयोजनाको सुरुङमा फसेका सात जनाको जीवितै उद्धार गरिएको पनि सेनाले जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान ९ः३० बजे बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि काठमाण्डूबाट हिँडेको उनको सचिवालयले जनाएको छ। उनीसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि छन्।