हेलिकप्टर तथा ड्रोन सञ्चालकसँग प्राधिकरणको विशेष अनुरोध
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपछि खोज एवं उद्धार कार्यमा हेलिकप्टर तथा ड्रोनसँग सम्बन्धित सङ्घसंस्थालाई सरकारी निकायसँग समन्वय गर्न अनुरोध गरेको छ।
“वायुसेवा सञ्चालक सङ्घ नेपाल, नेपाल ड्रोन सङ्घलगायत हेलिकप्टर र ड्रोनसँग सम्बन्धित सबै सङ्घसंस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय एवं सम्बन्धित स्थानीय तहसँग समन्वय गरी खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरण विशेष अनुरोध गर्छ,” प्राधिकरणले एउटा सूचनामार्फत् भनेको छ।
प्राधिकरणले उद्धारको पर्खाइमा रहेका व्यक्तिले उद्धारका लागि ध्यानाकर्षण गराउन आफू रहेको/बसेको ठाउँमा आगो बाली धुँवा निकालेर सङ्केत गर्न अनुरोध समेत गरेको छ। अधिकारीहरूका अनुसार बुधवार बिहान रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्ला प्रभावित भएका छन् र ती जिल्लामा विपद्मा परेका व्यक्तिहरूको उद्धार कार्य जारी छ।