तिब्बतबाट थप १५५ नेपालीको उद्धार

चीन सरकारले भोटेकोशी-त्रिशूली बाढीपछि तिब्बततर्फ फसेका थप १५५ जना नेपालीलाई उद्धार गरी शुक्रवार नेपाल पठाएको अधिकारीहरूले बताएका छन्।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले उनीहरू दिउँसो २ बजेतिर तातोपानी नाकाबाट नेपाल प्रवेश गरेको बीबीसीलाई बताए।
उनका अनुसार उद्धार गरिएकामध्ये १४५ रसुवाका, ९ जना काठमाण्डूका र एक जना धादिङका छन्।
यसअघि बिहीवार एक नाबालकसहित ११४ नेपालीलाई चीनले उद्धार गरी तातोपानी नाकाबाटै नेपाल प्रवेश गराएको थियो।
बिहीवार मनसुन प्रतिकार्य कमान्ड पोस्टको एउटा बैठकले बाढीका कारण चीनतिर अड्किएका नेपालीलाई चीनले तातोपानी पुर्याएपछि पूर्वाधार विकास मन्त्रालयले काठमाण्डूमा उपयुक्त व्यवस्था मिलाउने र घर ठेगानासम्म पुर्याउन भूमिव्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले व्यवस्था गर्ने गराउने निर्णय गरेको थियो।















