दिवङ्गत प्रहरी कर्मचारीका परिवारजनलाई १० लाखको अतिरिक्त राहत दिइने
भदौ १० गतेको बाढीमा परेर ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारजनलाई प्रहरी नियमावली बमोजिम उपलब्ध हुने सेवा-सुविधाका अतिरिक्त जनही १० लाख रुपैयाँ राहतस्वरूप दिइने नेपाल प्रहरीले बताएको छ।
“साथै दिवङ्गत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गरिने,” निर्णय भएको उसले बताएको छ।
परिवारबाट इच्छुक एकजनालाई सीपमूलक तालिम तथा रोजगारीका लागि आवश्यक पहल गरिने तथा नेपाल प्रहरी स्कूलमा सन्ततिलाई शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नीति निर्माण समितिले गरेको उल्लेख छ।
बाढीमा परी अझैसम्म नेपाल प्रहरीका २५ जना सम्पर्कविहीन रहेका छन्।
नेपाली सेनाका ४५ जना तथा सशस्त्र प्रहरीका १३ जना पनि सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार त्यसरी सम्पर्कविहीन बनेकाहरूमा भन्सार कार्यालयका १४ जना, र अध्यागमन कार्यालयका ३ जना छन्।
राहत, खोज तथा उद्धारकार्यमा २१ हजारभन्दा धेरै सुरक्षाकर्मीहरू परिचालित छन् जसमध्ये ९ हजारभन्दा धेरै नेपाल प्रहरीका छन् भने नेपाली सेनाका झन्डै ८ हजार अनि सशस्त्र प्रहरीका ४ हजारभन्दा धेरै रहेका छन्।

तस्बिर स्रोत, Nepal Police

















