लाइभ, त्रिशूली ३ए आयोजनाको सुरुङमा उद्धारको प्रयास जारी, एउटा शव बाहिर निकालियो

भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी गएको नौ दिनपछि त्रिशूली ३एको सुरुङमा फसेका दुई जनाको आज जीवितै उद्धार गरिएको छ। भित्र अरू मानिस खोज्ने प्रयास जारी राखिएको अधिकारीहरूले बताएका छन्।

सारांश

लाइभ कभरेज

  1. मृतकको सङ्ख्या १,२९५ पुग्यो

    रसुवा हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परेका १,२९५ जनाको शव फेला परेको र ४,८९८ जना अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।

    प्रहरीले दिउँसो २ बजे अद्यावधिक गरेको विवरणमा भेटिएका शवमध्ये १,०३० वटा शव व्यवस्थापन गरिसकिएको उल्लेख छ।

    उद्धारपछि हाल ३,६५५ जना होल्डिङ सेन्टरमा रहेको प्रहरीले जनाएको छ।

    रसुवादेखि नवलपरासी पश्चिमसम्म शवहरू (विभिन्न मानव अङ्गसहित) भेटिएको खोजी तथा उद्धारमा संलग्न निकायहरूले जनाएका छन्।

    केही शव नारायणी नदीमा बगेर भारत पनि पुगेका छन्। भारतमा भेटिएका शव नवलपरासी पश्चिम ल्याइएको प्रहरीले जनाएको छ।

  2. त्रिशूली थ्री एको सुरुङबाट एकजनाको शव निकालियो

    त्रिशूली थ्रीएमा दुईजनालाई जीवित उद्धार गरिएपछि तेस्रो भने शव फेला परेको त्यहाँ रहेका विद्युत प्राधिकरणका अधिकारीले बीबीसीलाई बताएका छन्।

    उनका अनुसार शवको अवस्थाले पहिचान गर्न कठिन छ।

    विद्युत प्राधिकरणका सहप्रबन्धक सुरेश राउतले बीबीसीसँग भने, “सुरुङभित्र फेला परेको शव सुन्निएको अवस्थामा छ र पहिचान गर्न सकिएको छैन।

    सुरुङबाट भाग्दाभाग्दै बाढीमा परेर मृत्यु भएजस्तो देखिन्छ।

  3. यी हुन् बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरू

    जलविद्युत् आयोजनाहरू देखिने नक्सा

    तिब्बतबाट रसुवा हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण ती नदीमा बनेका र बन्दै गरेका अनेकौँ जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ।

    तिनमा कार्यरत कर्मचारीहरू ठूलो सङ्ख्यामा सम्पर्कविहीन भएका छन्। तीमध्ये केही सुरुङभित्र फसेको र जीवितै हुन सक्ने ठानिएकाले खोजी तथा उद्धारकार्य आज दशौँ दिन पनि जारी छ।

    यो पनि पढ्नुहोस्

  4. यस्तो छ हताहत भएका मानिससम्बन्धी विवरण

    बाढी आएको स्थान र नदी देखिने चित्र

    रसुवा हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परेका १,२८७ जनाको शव फेला परेको र ५,०८३ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    सो निकायले दिउँसो १२ः३० बजे अद्यावधिक गरेको विवरणमा भेटिएका शवमध्ये ९६ जनाको मात्र सनाखत भई आफन्तले बुझिलिएको उल्लेख छ।

    प्रभावित स्थलहरूमा घाइते भएर हालसम्म उपचार गरिएका मानिसहरूको सङ्ख्या ५,३९७ रहेको प्राधिकरणले जनाएको छ।

    बाढी गएपछि अहिलेसम्म १३ हजार जनाभन्दा धेरैको उद्धार गरिएको र ४,५०० जनाभन्दा धेरै आश्रयस्थलमा रहेको उक्त विवरणमा जनाइएको छ।

    रसुवादेखि नवलपरासी पश्चिमसम्म शवहरू (विभिन्न मानव अङ्गसहित) भेटिएको खोजी तथा उद्धारमा संलग्न निकायहरूले जनाएका छन्। केही शव नारायणी नदीमा बगेर भारत पनि पुगेका छन्। भारतमा भेटिएका शव नवलपरासी पश्चिम ल्याइएको प्रहरीले जनाएको छ।

    कहाँ कति शव फेला परे?

    • रसुवा – १४०
    • नुवाकोट – १८४
    • धादिङ – ६३
    • गोरखा – ७२
    • नवलपरासी पूर्व – २१९
    • नवलपरासी पश्चिम (भारतमा फेला परेर ल्याइएका शवसहित) – २१२
    • तनहुँ – ३८
    • चितवन – ३५९
  5. त्रिवि शिक्षण अस्पताल ल्याइएका १९३ शवमध्ये २४ को पहिचान

    भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको छ।

    राष्ट्रिय समाचार समितिका अनुसार सो अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले अस्पतालमा ल्याइएकामध्ये १७४ शवको परीक्षण भइसकेको जानकारी दिएका छन्।

    तीमध्ये अहिलेसम्म २४ जनाको शव मात्र पहिचान गरी परिवार तथा आफन्तलाई जिम्मा लगाइएको उनले बताए।

    उनका अनुसार अस्पतालमा ल्याएकामध्ये १५१ शव र १० वटा शवका विभिन्न अङ्गसहित १६१ शवको व्यवस्थापन गरिएको छ।

  6. उद्धार भएपछि सञ्जय साहले के भने

    सञ्जय साह

    तस्बिर स्रोत, PM Secetariat/Handout

    उद्धार गरिएपछि कृत्रिम अक्सिजनको सहयोगमा राखिएका सञ्जय साहले सैनिक अधिकारीहरूले सोधेको प्रश्नको उत्तर दिएको भिडिओ अहिले सामाजिक सञ्जालमा देखा परेको छ।

    बीबीसीले उक्त भिडिओको प्रामाणिकता पुष्टि गरेको छैन।

    तर उक्त भिडिओ उनलाई हेलिकप्टरमा राखेर काठमाण्डू पठाउनुअघि खिचे जस्तो देखिन्छ।

    सुरुङभित्र अरू मानिसहरू पनि छन् कि भनेर सोधिएको प्रश्नमा उनी यसो भन्छन् -

    "म कन्ट्रोल रूममा अपरेटरको काम गर्थेँ। अरू समयमा ५/६ जना मात्रै हुन्थे, त्यतिबेला चाहिँ ४०/४५ जना नै थिए।

    कन्ट्रोल रूममा म भएपछि सबैको ज्यान बचाउने दायित्व मेरो थियो। त्यस्तो दुर्घटना भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनुपर्‍यो।

    त्यस क्रममा मैले ड्याममा ठूलो दुर्घटना भएको बताएँ र सबैलाई बाहिर भाग्न लगाएँ। त्यसो गर्दा मेरो समय बित्यो र म भाग्नै पाइनँ।

    हाम्रो सम्पर्कमा… साथीहरू कुरा भएकोमा… तीन चारजना मात्रै थिए नजिक छेउछाउ कुरा गर्दा हल्ला गरेर…।

    [पावरहाउस भित्र पनि मानिसहरू] हुन सक्छन्। सबै भाग्न नसकेको होला। टनल लामो छ। टनलमा भए पनि पानीको फोर्सले भित्र लगिसकेको होला।"

    [भदौ] १० गते १० बजे दुर्घटना भएको हो। कन्ट्रोल रुममा टाइम नोट गरेको थिएँ। भित्र हरेकृष्ण महामन्त्र जप गरेर बसेँ।"

    यो पनि पढ्नुहोस्

  7. सुरुङमा फसेको ठानिएका बाँकी मानिसको उद्धारको प्रयास जारी

    त्रिशूली ३एको सुरुङमा उद्धारकर्मीहरू

    तस्बिर स्रोत, PM Secretariat/Handout

    त्रिशूली ३एको सुरुङबाट दुई जनाको उद्धारपछि त्यहाँ फसिरहेका हुन सक्ने थप मानिसहरूलाई उद्धार गर्न टोली अझै अगाडि बढेको उद्धारस्थलनजिक रहेका नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउतले बताएका छन्।

    विगतमा उक्त सुरुङको माथिपट्टिबाट अक्सिजन दिइएकोमा अब जहाँबाट सञ्जय साह र कबीर महर्जनलाई बाहिर निकालियो त्यहीँबाट अक्सिजन पठाउने र उद्धारका लागि अघि बढ्ने काम भइरहेको उनले बताएका हुन्।

    उद्धार गरिएका दुईमध्ये कबीर महर्जनको कम्मर र घुँडामा केही चोटपटक देखिएको उनले बताए। प्रधानमन्त्रीको सचिवालयले उनको अवस्था गम्भीर रहेको जनाएको छ।

    उनलाई सैनिक अस्पतालमा सघन उपचारकक्षमा राखिएको छ।

    उक्त सुरुङको लम्बाई १७० मिटर रहेकोमा नेपाली सेनाले शुक्रवार बिहानसम्म १०० मिटर भित्रसम्म पुग्न सकिएको जनाएको थियो।

    “उहाँहरू (कबीर र सञ्जय) १७० मिटरको टनलमा केही भाग यता आउन खोज्नुभएको थियो, त्यही भएर अलि चाँडै भेटिनुभयो,” उनले भने।

    “बाँकीको उद्धारलाई हाम्रो टोली थप अक्सिजन पठाएर अगाडि जाने क्रममा हुनुहुन्छ। हामी प्रयासरत छौँ।”

    नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउत

    तस्बिर स्रोत, Suresh Raut

    तस्बिरको क्याप्शन, नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउत
  8. उद्धार गरिएका एक जना सैनिक अस्पतालको सघन उपचार कक्षमा

    कबीर महर्जन

    तस्बिर स्रोत, PMO

    त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था सामान्य रहेको र अर्काको अवस्था जटिल रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    "​जटिल अवस्थामा रहनुभएका व्यक्ति दोस्रो पटक उद्धार गरिनुभएका कबीर महर्जन हुनुहुन्छ," सचिवालयले एउटा विज्ञप्तिमा भनेको छ।

    उनलाई काठमाण्डूको छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार थालिएको विज्ञप्तिमा उल्लेख छ।

    सचिवालयका अनुसार उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य छ। तर उनको पनि सैनिक अस्पतालमा थप परीक्षण हुने विज्ञप्तिमा उल्लेख छ।

  9. उद्धार गरिएका दुवै जनालाई हेलिकप्टरबाट काठमाण्डू लगियो

    त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङबाट आज बिहान जीवितै उद्धार गरिएका सञ्जय साह र कबीर महर्जनलाई सेनाको हेलिकप्टरबाट काठमाण्डू लगिएको नेपाली सेनाले जनाएको छ।

    उनीहरूको छाउनीस्थित सैनिक अस्पतालमा उपचार गरिने बुझिएको छ।

  10. 'खुसी छौँ, रोइ पनि रहेका छौँ': उद्धार गरिएका कबीर महर्जनकी श्रीमती

    हीराशोभा महर्जन

    तस्बिर स्रोत, Handout

    आज त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका कबीर महर्जनकी श्रीमती हीराशोभा महर्जनले बीबीसीसँग कुरा गर्दै खुसी व्यक्त गरेकी छन्।

    "फेसबुकबाट फोटो देखेँ। एकदमै खुसी लाग्यो। उहाँलाई छाउनीस्थित अस्पतालमा ल्याउँदै छन्। म त्यतै जान लागेकी छु।"

    "दश दिनसम्म खानपिन केही थिएन। एकदमै डर लागेको थियो। अब हामी सबै खुसी छौँ। रोइ पनि रहेका छौँ।"

    यो पनि पढ्नुहोस्

    यो YouTube पोस्ट छोड्नुहोस्
    Google YouTube को सामग्रीलाई अनुमति छ?

    यो लेखमा Google YouTube बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Google YouTube cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन। YouTube का सामग्रीमा विज्ञापन हुन सक्छन्।

    YouTube पोस्ट समाप्त

  11. सुरुङबाट सकुशल उद्धार गर्दाको भिडिओ

    भिडिओ क्याप्शन सुरु हुँदैछ, हेर्नुहोस्
  12. उद्धारका केही तस्बिर

    नेपाली सेनाको नेतृत्वमा रहेको उद्धारटोलीले आज बिहान त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूसँग सम्पर्क गर्न सकेको थियो।

    नेपाली सेनाको नेतृत्वमा रहेको उद्धारटोली सञ्जय शाहको उद्धार गर्दै

    तस्बिर स्रोत, Nepal Army

    नेपाली सेनाको नेतृत्वमा रहेको उद्धारटोली सञ्जय शाहको उद्धार गर्दै

    तस्बिर स्रोत, Nepal Army

    बाढीका कारण फसेका  त्रिशूली ३ ए जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीको १० दिनपछि आज जीवितै उद्धार गर्दै नेपाली सेना

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, बाढीका कारण फसेका त्रिशूली ३ ए जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीको १० दिनपछि आज जीवितै उद्धार गर्दै नेपाली सेना
  13. उद्धार गरिएका एक जनालाई बट्टार पुर्‍याइयो

    त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवितै उद्धार गरिएका एक व्यक्तिलाई हेलिकप्टरबाट काठमाण्डूतिर लगिँदै

    तस्बिर स्रोत, BBC/Shaktimaya Tamang

    त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवितै उद्धार गरिएका एक व्यक्तिलाई सेनाको हेलिकप्टरले नुवाकोटको बट्टार पुर्‍याएको छ।

  14. उद्धार गरिएका दोस्रो व्यक्तिले व्यक्त गरे 'धन्यवादको भाव'

    कबीर महर्जन

    तस्बिर स्रोत, NEA

    त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गरिएको नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउतले बीबीसी न्यूज नेपालीसँग पुष्टि गरेका छन्।

    उद्धार गरिएका पहिलो व्यक्ति सञ्जय साह हुन्। आयोजनामा मेकानिकल फोर्म्यान हुन्।

    राउतका अनुसार दोस्रो व्यक्ति मेकानिकल सूपरभाइजर कबीर महर्जन हुन्।

    "उनी [महर्जन] अलिकति हाँसे र उद्धारकर्मीतिर धन्यवादको सङ्केत गरे," राउतले भने।

    सुरुङभित्र फसेको नौ दिनपछि दशौँ दिन मानिसहरू जीवितै फेला पर्दा उद्धारकर्मी र प्राधिकरणका कर्मचारीहरू भावुक बनेको प्राधिकरणकी कर्मचारी शोभा पौडेलले बीबीसीलाई बताइन्।

  15. एक जनाको जीवितै उद्धार

    सुरुङभित्रबाट एक जनालाई जीवितै उद्धार

    तस्बिर स्रोत, Shri Ram Neupane

    त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एक जनालाई जीवितै उद्धार गरिएको नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउतले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।

    उद्धार गरिएका व्यक्तिलाई सेनाले अक्सिजन दिन थालेको पनि उनले बताए।

    "अक्सिजन कमी भएको र एकदमै थकित महसुस गरेकाले अबको केही क्षणमा (उहाँले) सोधपुछको जबाफ दिन सक्ने हुनुहुन्छ। बोलौँबोलौँ लागे पनि बोल्न गाह्रो भएको छ।"

  16. केही घण्टाभित्र सुरुङभित्र मानिसहरू भएको ठाउँमा पुग्ने अपेक्षा

    त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ठानिएका मानिसहरूबाट आवाज आएको जानकारी प्राप्त भएको नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउतले बीबीसी न्यूज नेपालीलाई जानकारी दिएका छन्।

    “यहाँ खोजी तथा उद्धारको नेतृत्व गर्नुभएको सेनाका कर्नेल गङ्गा बरालले हामीलाई भित्रबाट आवाज आएको जानकारी दिनुभएको हो,” राउतले भने।

    “सेनाको कर्नेल गङ्गा बराल सरले - हामीले यताबाट आवाज दियौँ, 'भाइहरू हामी उद्धार टोली हो, आउँदैछौँ है!' भनेपछि उताबाट हुन्छ, हुन्छ भनेर खबर आयो।”

    उनले अबको दुई तीन घण्टामा त्यहाँ पुगेर उद्धार गरिसक्ने आफ्नो अपेक्षा भएको जानकारी दिए।

    सुरुङ भएको स्थानमा गृहमन्त्री सुधन गुरुङ पुगेका छन्।

    सुरुङमा उद्धारका लागि गरिएका दुईवटा योजना 'प्लान ए र प्लान बी' जारी राख्न उनले निर्देशन दिएको राउतले बताए।

    यसबारे बीबीसीले सोद्धा नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले यसबारे आधिकारिक तरिकाले नै जानकारी दिइने बताए।

    तर अहिलेसम्म सेना झन्डै १०० मिटरभित्र प्रवेश गरिसकेको उनले बताए।

  17. त्रिशूली ३ए मा 'भित्रबाट आवाज आएको सुनियो', गृहमन्त्री पनि पुगे

    त्रिशूली ३एमा उद्धारकर्मीहरू

    तस्बिर स्रोत, Shri Ram Neupane

    त्रिशूली ३ए जलविद्युत् आयोजनामा फसेका मानिसहरूको खोजी गर्ने क्रममा "भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको" त्यहाँको उद्धारमा विज्ञका रूपमा संलग्न श्रीराम न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्। उनी सांसद पनि हुन्।

    "उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दै छौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ," उनले फेसबुकमा एउटा सङ्क्षिप्त पोस्ट गर्दै जानकारी गराएका छन्।

    यसअघि उनले उक्त जानकारी उद्धारमा खटेको सेनाबाट प्राप्त भएको लेखेका थिए।

    यद्यपि नेपाली सेना र नेपाल प्रहरीले त्यसबारे औपचारिक जानकारी दिएका छैनन्।

    सुरक्षास्रोतहरूका अनुसार गृहमन्त्री सुधन गुरुङ त्रिशूली ३ए को आयोजनास्थलमा आज बिहान हेलिकप्टरबाट पुगेका छन्।

    नेपाली सेनाले उद्धारकर्मीहरू सुरुङमा १०० मिटर भित्रसम्म पुगेको तर लेदो पन्छाउँदै अगाडि बढ्नुपर्ने स्थिति रहेको बीबीसी न्यूज नेपालीलाई बताएको छ।

    'आशाजनक सङ्केत'

    श्रीराम न्यौपानेले आज बिहान गरेको अर्को पोस्टमा लेखेका छन्, "नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक सङ्केत हो।"

    "हिजो साँझसम्म इन्जिनिअरको भूमिकामा साइटमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न थिएँ। अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडीमार्फत् काठमाण्डू फर्कने तयारीमा छु।"

  18. दशौँ दिन पनि खोजी र उद्धारको प्रयास जारी

    नमस्कार। बीबीसी न्यूज नेपालीको यो लाइभ पेजमा तपाईँलाई स्वागत छ।

    भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आएको आज दशौँ दिन हो। यो लाइभ पेजमा हामी बाढीले निम्त्याएको विनाश र खोजी तथा उद्धारकार्यसँग सम्बन्धित विषयमा जानकारी गराउने छौँ।

    बाढीबाट प्रभावित क्षेत्रमा अझै पनि ठूलो सङ्ख्यामा मानिसहरू सम्पर्कविहीन छन्। सरकारले तिनको खोजी आफ्नो उच्च प्राथमिकतामा भएको बताउँदै आएको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागका अनुसार हिजो साँझसम्म सम्पर्कविहीन मानिसहरूको सङ्ख्या ५,००० भन्दा बढी थियो।

    खोज, राहत तथा उद्धारकार्यमा २१,४०० जति सुरक्षाकर्मी परिचालन भएको प्राधिकरणले जनाएको छ।

  19. अहिलेसम्म हामीलाई केके थाहा छ?

    भोटेकोशी-त्रिशूली बाढीको नवौँ दिनमा यस घटनासम्बन्धी मुख्यमुख्य अप्डेट यसप्रकार छन्।

    • बाढीले निम्त्याएको विपत्तिमा नेपालमा १,२५९ जनाभन्दा बढी मानिसको मृत्यु भएको बिहीवार साँझ ७ बजेसम्मको तथ्याङ्क सार्वजनिक भएको छ।
    • बाढीबाट रु. ३ खर्ब ८७ अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
    • आगामी भदौ २२ गते सोमवारका दिन गत साता भोटेकोशी-त्रिशूली बाढीमा परी ज्यान गुमाउने मानिसहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने सरकारले निर्णय गरेको छ।
    • बाढी आउँदा कामविशेषले तिब्बततर्फ रहेका एक नाबालकसहित ११४ नेपाली नागरिकलाई चीन सरकारले सकुशल उद्धार गरी तातोपानी नाकाबाट नेपाल प्रवेश गराएको छ।
    • मानिसहरू फसेको आशङ्का गरिएको त्रिशूली-३ए जलविद्युत् आयोजनाको सुरुङको मुख खुलाउने काम जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ तर यसमा उल्लेख्य सफलता हात परेको छैन।
    • परिवारजनले बेपत्ता आफन्तको अन्तिम संस्कार गर्न थालेका छन्। शवमध्ये ९५ जनाको मात्र सनाखत भई बुझिलिएको सरकारी भनाइ छ।

    यससँगै हामी आजका लागि यो पेज स्थगित गर्दै छौँ। हाम्रो लाइभ पेज हेरिदिनुभएकामा धन्यवाद।

    हामी यो पेजमा पुनः भोलि बिहानदेखिका नयाँ सूचना अप्डेट गर्ने छौँ।

    अन्य समाचारका लागि हाम्रो वेबसाइट हेर्नुहोला। हाम्रा सामग्रीहरू फेसबुक, इन्स्टाग्राम यूट्यूबमा पनि उपलब्ध छन्।

    शुभरात्रि।

  20. ३ खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक सरकारी अनुमान

    प्रभावित घर

    तस्बिर स्रोत, EPA/SHUTTERSTOCK

    भोटेकोशी-त्रिशूली बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    बिहीवार साँझ काठमाण्डूमा आयोजित प्रेस ब्रीफिङका क्रममा प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीले क्षतिको प्रारम्भिक आँकडा सार्वजनिक गरेका हुन्।

    "भवन, सडक, दूरसञ्चार, कृषि, चौपाया सबैको हेर्दा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षेत्रगत क्षति भएको एकदमै प्रारम्भिक तथ्याङ्क आएको छ," उनले भने।

    उप्रेतीका अनुसार सबै क्षेत्रमा 'अर्ली रिकभरी' का लागि अनुमानित ७ अर्ब ९५ करोड लाग्न सक्ने देखिएको छ।