भारतमा मस्तिष्क खाने दुर्लभ रोगसँगको सङ्घर्ष

नाग्लेरिआ फालेराई अर्थात् 'गिदी खाने अमीबा'
तस्बिरको क्याप्शन, नाग्लेरिआ फालेराई अर्थात् 'गिदी खाने अमीबा' ताल, नदी र तातोपानीको मूलमा पाइन्छ
    • Author, सौतिक बिस्वास
    • Role, भारत संवाददाता
  • Published
  • पढ्ने समय: ५ मिनेट

भारतको केरला राज्यमा अत्यधिक खुसीको चाड ओणमको पूर्वसन्ध्यामा ४५ वर्षीय शोधना एम्बुलेन्समा कामिरहेकी थिइन् र बेहोस थिइन्। उनका परिवारले उनलाई एउटा अस्पताल लैजाँदै थियो।

केही दिनअघि मालापुरम जिल्लाको एउटा गाउँमा फलफूलको रसलाई बोतलमा भर्ने काम गरेर निर्वाह गर्ने ती दलित महिलाले रिँगटा लागेको र रक्तचाप बढेको बताएकी थिइन्।

डाक्टरहरूले औषधि दिएर घर पठाएका थिए। तर उनको स्थिति तीव्र गतिमा बिग्रँदै गयो। उनलाई असजिलो हुँदै गयो, चर्को कामज्वरो आयो र चाडको मुख्य दिन ५ सेप्टेम्बरमा उनको मृत्यु भयो।

दुर्लभ सङ्क्रमण

उनको मृत्युको कारक थियो नाग्लेरिआ फालेराई अर्थात् 'गिदी खाने अमीबा'। यो सङ्क्रमण यस्तो अमीबा भएको पानीसँग नाकको संसर्ग भएपछि हुने गर्छ।

यो सङ्क्रमण यति दुर्लभ छ कि धेरैजसो डाक्टरहरूले आफ्नो पूर्ण कार्यकालमा एक जना पनि यसका बिरामी भेट्दैनन्।

"हामीले त्यसलाई रोक्न सकेनौँ। शोभनाको मृत्यु भएपछि मात्र हामीले त्यो रोगबारे थाहा पायौँ," सामाजिक कार्यकर्ता तथा शोभनाकी नजिककी नातेदार अजिता काथिरादधले भनिन्।

केरलाको एउटा पोखरीछेउ पौडी नखेल्न चेतावनी दिँदै राखिएको सूचना
तस्बिरको क्याप्शन, केरलाको एउटा पोखरीछेउ पौडी नखेल्न चेतावनी दिँदै राखिएको सूचना

केरलामा यो वर्ष ७० जनालाई यस्तो रोग लागेको पाइएको छ भने १९ जनाको मृत्यु भइसकेको छ। तीनमहिने शिशुदेखि ९२ वर्षका पुरुषसम्म प्रभावित भएका छन्।

सामान्यतः नदी तथा खोलाका ('फ्रेश वाटर') पानीमा हुने ब्याक्टेरियामा पाइने यो एककोषीय जीवले मस्तिष्कमा घातक सङ्क्रमण गराउँछ। यसलाई प्राइमरी अमीओबिक मेनिन्जोएन्सेफलाइटिस (पीएम) भनिन्छ। यो सूक्ष्म जीव पौडी खेलेका बेला नाकबाट भित्र पस्छ र मस्तिष्कको कोष खान थालिहाल्छ।

केरलामा यस्ता घटनाहरू सन् २०१६ देखि देखिन थालेको र हरेक वर्ष एक वा दुई बिरामी देखिने गरेको थियो। सबैजसो ज्यान लिने सङ्क्रमण नै थिए। एउटा नयाँ अध्ययनका अनुसार सन् १९६२ यता ४८८ घटनाहरू विश्वव्यापी रूपमा अभिलेख गरिएका छन्। र तीमध्ये धेरैजसो अमेरिका, पाकिस्तान र अस्ट्रेलियाका हुन्। प्रभावितमध्ये ९५ प्रतिशतको त्यो रोगबाट मृत्यु भएको थियो।

तर केरलामा मानिसहरू बाँच्ने दरमा सुधार आएको जस्तो देखिन्छ। गत वर्ष ३९ त्यस्ता बिरामीमध्ये २३ प्रतिशतको मृत्यु भएको थियो भने यो वर्षको करिब ७० जनामा मा करिब २४.५ प्रतिशतको मृत्यु भएको छ। डाक्टरहरूले केरलामा प्रयोगशाला असाध्यै राम्रा भएका कारण समयमै त्यसबारे थाहा पाएर उपचार हुन सकेको बताएका छन्।

"बिरामीको सङ्ख्या बढिरहेको छ तर मृत्यु हुनेको सङ्ख्या घटिरहेको छ। रोग तत्काल पत्ता लाग्दा मानिस मर्ने सङ्ख्या घटेको हो," तिरुवनन्तपुरमस्थित शिक्षण अस्पतालमा सङ्क्रामक रोग सङ्कायका प्रमुख अरविन्द रेघुकुमारले भने। शीघ्र रोग पत्ता लाग्दा एन्टिमाइक्रोबायल औषधि र स्टेरोइडको मिश्रणको प्रयोगले मानिसहरूको जीवन बचिरहेको छ।

जोखिम

केरलामा ५५ लाख कुवा र ५५ हजार जति पोखरी छन्
तस्बिरको क्याप्शन, केरलामा ५५ लाख कुवा र ५५ हजार जति पोखरी छन्

वैज्ञानिकहरूले स्वतन्त्र रूपमा बाँचिरहेका अमीबाहरूका ४०० प्रजाति पत्ता लगाएका छन्, जसमध्ये छ वटाले मानिसमा रोग उत्पन्न गर्छन्। तिनैमध्ये एक नाग्लेरिआ फालेराईले मस्तिष्कमा सङ्क्रमण गराउँछ। केरलाको सार्वजनिक स्वास्थसम्बन्धी प्रयोगशालाले पाँच थरी मुख्य रोग पत्ता लगाउन सक्छन्।

भारतको यो दक्षिणी राज्यमा भूमिगत पानी र प्राकृतिक स्रोतमाथि मानिसहरू अति निर्भर छन्। धेरैजसो पोखरी र कुवाहरू प्रदूषित भएकाले पनि मानिसहरूमा जोखिम बढेको छ। गत वर्षका घटनाहरूमध्ये एउटामा एक युवाले पोखरीको पानी मिसिएको उमालिएको गाँजा सुँघ्दा सङ्क्रमण भएको भनिएको थियो। प्रदूषित पानीमार्फत् यो घातक अमीबा कसरी मान्छेमा सर्छ भन्ने त्यो एक उदाहरण थियो।

केरलामा ५५ लाख कुवाहरू र ५५ हजार पोखरी छन् र दशौँ लाख मानिसले आफूलाई दैनिक रूपमा चाहिने पानी त्यस्तै कुवाबाट पूर्ति गर्ने गर्छन्। ती सबैको प्रशोधन असम्भवप्राय: भएकाले खतरा छ।

"केहीमा पोखरीमा नुहाएका कारण सङ्क्रमण भएको छ भने केहीमा स्विमिङ पूलबाट सङ्क्रमण भएको छ। केरलामा नाकमा पानी हालेर सफा गर्ने धार्मिक धार्मिक चलन पनि छ। प्रदूषित पोखरी वा कुवा जे भए पनि खतरा चाहिँ वास्तविक छ," एक अगुवा एपिडीमिओलजिस्ट अनिश टीएसले भने।

स्वास्थ्य अधिकारीहरूले त्यसलाई सम्बोधन गर्ने प्रयास गरेका छन्। अगस्टको अन्त्यसम्ममा २७ लाख कुवाहरूमा 'क्लोरिनेशन' गरिएको वा पानी सफा गर्न क्लोरीन हालिएको छ।

तर सबै पोखरीहरूमा क्लोरीन हाल्दा माछा मर्छन् र तीन करोड मानिस बस्ने राज्यमा सबै पानीका स्रोत 'क्लोरिनेट' गर्न पनि सम्भव देखिन्न।

त्यसैले स्थानीय अधिकारीहरूले पोखरीवरिपरि ननुहाउन सचेत गराउँदै बोर्डहरू राखेका छन्।

अधिकारीहरूले सचेतनामा जोड दिएका छन्। मानिसहरूलाई सफा ट्याङ्की र पोखरीहरू प्रयोग गर्न, नाकमा राख्नका लागि सफा पानी प्रयोग गर्न, बगैँचामा पानी छर्किँदा बच्चाहरूलाई नजिक जान रोक्न र असुरक्षित पोखरीहरू प्रयोग नगर्न भनिएको छ।

वास्तविक खतराबारे मानिसहरूलाई शिक्षित गर्न सजिलो छैन। त्यसैले निर्देशन जारी भएको एक वर्षभन्दा बढी भए पनि कार्यान्वयन प्रभावकारी भएको छैन।

"यो कठिन समस्या हो," अमेरिकाको यूनिभर्सिटी अफ जोर्जामा सङ्क्रामक रोगका प्रोफेसर डेनिस काइलले बीबीसीलाई भने, "केही ठाउँमा पानीमा अमीबा हुन सक्ने चेतावनीसहितका सूचना टाँगिएका छन् तर पानीको कुनै पनि अप्रशोधित स्रोतमा अमीबा हुन सक्छ, जस्तो कि ताल, पोखरी र स्विमिङ पूलहरू।"

उनी भन्छन्, "मानवनिर्मित पानीजन्य मनोरञ्जन स्थलहरूजस्ता नियन्त्रित वातावरणहरूमा राम्रोसँग नियमन गर्ने हो र क्लोरिनेशन गर्ने हो भने सङ्क्रमण हुने जोखिम धेरै घट्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।