नेपाल र भारतबीच कुन कुन विषयमा समझदारी, दुवै देशका प्रधानमन्त्रीले के भने?

Published
पढ्ने समय: ३ मिनेट

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह बालेनको भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई विकास सहकार्य प्याकेज अन्तर्गत २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ दिने घोषणा गरेका छन्।

भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा भदौ १० को भोटेकोशी- त्रिशूली बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासलाई मजबुत बनाउन भन्दै उक्त रकम दिने उनले घोषणा गरेका हुन्।

"नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई बलियो बनाउन २४ हजार करोड नेपाली रुपैयाँ डेभेलपमेन्ट कोअपरेसन प्याकेज घोषणा गर्दछु। प्रभावित परिवारको जीवनमा फेरि लय आओस्। नयाँ अवसर मिलोस्। भविष्यमा हुन सक्ने विपद्को सामना गर्न नेपालको क्षमता अझै बढोस्," मोदीले भने।

मोदीपछि बोल्दै नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले 'नेपालका प्रत्येक विपत्तिमा विश्वासिलो छिमेकीका हिसाबले भारतले गर्दै आएको सहयोगका लागि कृतज्ञता व्यक्त गरे।

नेपाल र भारतबीच आत्मीय निकटता रहेको भन्दै उनले शब्दको सीमिततामा बाँध्न नहुने बताए।

"हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानका खेतमा समृद्धिका रूपमा देखिनुपर्छ। युवाको हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ। विद्यार्थीका सपना नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक बिस्तारका रूपमा अनुभूत गर्न सक्नुपर्छ," शाहले भने।

दुई प्रधानमन्त्रीबीच विभिन्न आठ विषयमा समझदारी भएको हो।

औपचारिक समारोहमा बालेनले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिए।

दुवै देशका प्रधानमन्त्रीको सम्बोधन अगाडि उनीहरूले विभिन्न विषयमा समझदारी पत्र आदानप्रदान गरेका थिए।

उनीहरूले संयुक्त रूपमा भारतको अयोध्या र नेपालको जनकपुर रेल सेवाको भर्चुअल उद्घाटन पनि गरे।

त्यस्तै महाकाली नदीमाथि बनेको मोटरेबल पुलको पनि संयुक्त रूपमा उद्घाटन गरे जुन पुलले नेपालको दार्चुला र धार्चुला जोड्ने छ।

नेपाल-भारतका प्रधानमन्त्री बीच प्रतिनिधिमण्डलस्तरीय बैठक भएपछि दुई देशबीच समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

समझदारी भएका विषय के के हुन्?

समझदारीमा हस्ताक्षर भएका विषयमा फरेन्सिक विज्ञानमा सहकार्य, प्रहरी प्रशिक्षण, आयुर्वेद र परम्परागत चिकित्सा, सूचनाप्रविधि तथा स्याटलाइट सञ्चार, स्वास्थ्य र चिकित्सा, सहरी विकास, पशुपालन र मत्स्यपालनलगायत रहेका छन्।

तोकिएको समयभन्दा केहीबेर ढिला भएको उक्त संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतको सम्बन्ध अटूट विश्वासको भएको बताए। दुवै देश मुस्किलको समयमा एकअर्काको साथ रहेको पनि बताए।

उनले भारत सधैँ सशक्त र समृद्ध नेपालको विकास यात्रामा सहभागी हुँदै आएको र अझै पनि सँगै अघि बढ्ने बताए।

"भारत एक सशक्त र समृद्ध विकास यात्रामा सधैँ सहभागी हुँदै आएको छ। आफ्नो सम्बन्धको नयाँ उचाइका साथ अघि बढाउन महत्त्वपूर्ण निर्णय लिएका छौँ," उनले भने।

नेपाल र नेपाली जनताको विकासका लागि सधैँ सहयोग गर्ने उनले बताए। त्यसै क्रममा उनले नेपाललाई दुई खर्ब ४० अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

त्यस्तै नेपालको क्रिकेट विकासका लागि पनि सहयोग गर्ने भारतले प्रतिबद्धता जनाएको छ।

​सुरुमा दुवै देशका प्रधानमन्त्रीज्यूहरूबीच वान-टु-वान भेटवार्ता भएको र त्यसपछि दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहितको सामूहिक द्विपक्षीय वार्ता भएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उक्त ​वार्ताका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धका समग्र पक्षका साथै व्यापार, ऊर्जा, कनेक्टिभिटी, पूर्वाधार विकास, लगानी तथा आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको हो।

यो कार्यक्रमपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गरेका छन्।

आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग प्रधानमन्त्री शाहले शिष्टाचार भेट गर्ने छन्। दुई दिने भारतको भ्रमणसकेत आजै साँझ उनी नेपाल फर्कने कार्यक्रम छ।

नेपालको परराष्ट्र मन्त्रालयले भ्रमणबारे औपचारिक जानकारी दिँदै गतसाता पूर्वाधार र सम्पर्कसञ्जालसहित सहकार्यका विभिन्न क्षेत्रमा भ्रमणका क्रममा छलफल हुने बताएको थियो।

भारतको विदेश मन्त्रालयले पनि दिल्लीले भ्रमणले दुई पक्षीय साझेदारीलाई मजबुत बनाउने र आपसी लाभमा आधारित सहकार्यलाई अघि बढाउने अवसर दिने उल्लेख गरेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।