इरान युद्धका कारण अमेरिकामा सरकारी कामकाज ठप्प हुने खतरा

तस्बिर स्रोत, Ezra Acayan/Getty Images
इरान युद्ध र पेन्टागनका लागि थप ३५० अर्ब डलरको अतिरिक्त बजेट राष्ट्रपति डोनल्ड ट्रम्पले माग गरेपछि अमेरिकी संसद्मा मतभेद बढेको छ।
बीबीसी पर्सियनका अनुसार यसले अमेरिकी सङ्घीय सरकारको कामकाज क्रिसमसअघि नै रोकिने जोखिम बढाएको छ।
रोयटर्सको रिपोर्ट अनुसार दुवै प्रमुख पार्टीका सांसदहरूले यी मतभेदहरूले सरकारको बजेटमा सहमति पुग्न गाह्रो बनाउन सक्ने चेतावनी दिएका छन्।
अमेरिकी सरकारको विद्यमान बजेट डिसेम्बर ११ सम्मका लागि छ। यो सन्दर्भमा सांसदहरूलाई सङ्घीय सरकार सञ्चालनका लागि थप वित्तीय सहयोगमा सहमति जनाउन करिब तीन साता समय छ।
अमेरिकी सिनेटमा मतभेदहरू विशेषगरी गम्भीर छन्। यहाँ दुवै पार्टीले सहमति गरेको बजेट प्याकेज कम्तीमा १०० मध्ये ६० मत स्वीकृत गर्न आवश्यक छ।
दुवै पार्टीका सांसदहरूबीच मतभेदहरू त्यतिबेला कायम छन् जब अमेरिकी संसद्को कामकाज एक साताको थ्याङ्क्सगिभिङ ब्रेकका लागि रोक्ने तयारी भइरहेको छ।
रोयटर्स समाचारका अनुसार भर्मन्टका डेमोक्र्याटिक सिनेटर पिटर वेल्चले हालसालै भने, "सबैभन्दा ठूलो चुनौती भनेको हामी युद्धलाई आर्थिक रूपमा पोषण गर्न चाहँदैनौँ र सरकारको कार्यसम्पादन गर्न रोक्न चाहँदैनौँ। यस्तो अवस्थामा हामी समाधान कसरी फेला पार्न सक्छौँ?"
उनले भने, "यो जटिल समस्या हो जुन समाधान गर्न गाह्रो छ।"
मध्यपूर्वमा तनाव फेरि बढ्दैछ। इरानले बाहरेनमा अमेरिकी आधारहरूमा आक्रमणको दाबी गरेको छ।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले उनी केवल इरानसँग 'दिगो र दीर्घकालीन' सम्झौता चाहने बताएका छन्।
फोक्स न्यूजसँगको फोन अन्तर्वार्तामा उनले भने, "म कहिल्यै सत्ता परिवर्तनमा धेरै रुचि राख्दिनँ। केही मानिसहरू सत्ता परिवर्तनको कुरा गर्छन् तर तपाईँले त्यसको अर्थ पनि स्पष्ट गर्नुपर्छ।"
"मैले अहिलेसम्म दुईवटा सरकारको अन्त्य गरे। समूह १ र समूह दुई। हामी अब समूह तीनसँग व्यवहार गर्दैछौँ। त्यसैले यसलाई अन्तिम सत्ता परिवर्तन पनि भन्न सकिन्छ।"
उनले तेस्रो समूहको दृष्टिकोण धेरै फरक नभएको पनि बताए।
"सायद बुद्धिमान छन् तर उनीहरूसँग काम गर्न धेरै कठिन छ। मेरो मतलब हामी सम्झौता गर्छौँ र अर्को दिन उनीहरूले त्यो तोड्छन्," उनले भने।
उनले इरानसँग लामो समय टिक्ने सम्झौता गर्न चाहेको पनि बताए।
"त्यसैले पन्ध्र वा २० वर्षपछि अयोग्य राष्ट्रपति सत्तामा आए पनि इरानले परमाणु हतियार प्राप्त गर्न सक्दैन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















