बुध ग्रह : सौर्यमण्डलको यो सबैभन्दा रहस्यमयी ग्रहका कैयौँ गोप्य कुरा कसरी खुलासा हुँदै छन्

बुध ग्रहको रङ्गीन तस्बिर
    • Author, फर्नान्डो डुआर्टी
    • Role, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ६ मिनेट

सौर्यमण्डलमा आठ वर्ष लामो यात्रा गरेपछि बेपिकोलोम्बो नामको अन्तरिक्षयान बुध ग्रहको भित्री भागतर्फ अघि बढेको छ। यसले हाम्रो ब्रह्माण्डमा रहेको ग्रहबारे निकै कम थाहा भएका विषयहरूको खोज गर्ने छ।

ग्रह अध्ययन गर्ने वैज्ञानिकहरूले यसअघि पनि सौर्यमण्डलको सबैभन्दा सानो यो ग्रह नजिक जाने प्रयास गरेका थिए। तर यसको नजिक जान निकै कठिन साबित भयो। बुध ग्रह चन्द्रमाभन्दा थोरै मात्रै ठूलो छ।

त्यसैले नोभेम्बरको अन्त्यमा त्यहाँ पुग्ने ठानिएको बेपिकोलोम्बोले रहस्यमयी यो ग्रहबारे धेरै कुरा बाहिर ल्याउने अपेक्षा गरिएको छ।

यसको सतहको तापक्रम दिउँसोको समयमा केही सय डिग्रीभन्दा धेरै हुँदा पनि खोँच परेका ठाउँहरूमा किन बरफ देखिन्छ भन्ने रहस्यको जबाफ पनि पत्ता लाग्ने वैज्ञानिकहरूको अपेक्षा छ।

बुध ग्रहको यो मिशन युरोपेली अन्तरिक्ष निकाय (इसा) र जापानको अन्तरिक्ष अन्वेषण निकाय (जाक्सा)ले मिलेर सञ्चालन गरेका हुन्।

रकेट उड्न लागेको तस्बिर
तस्बिरको क्याप्शन, बेपिकोलोम्बो सन् २०१८ मा अरिअन ५ रकेटबाट प्रक्षेपण भएको थियो

यो "निकै महत्त्वाकाङ्क्षी परियोजना हो" र यसले "बुध ग्रहबारे अभूतपूर्व जानकारी ल्याउन सक्छ," ईएसएको बेपिकोलोम्बो मिशनका व्यवस्थापक सान्टा मार्टिनेजले यसअघि भनेकी थिइन्।

"सौर्यमण्डल बुझ्नका लागि यसले नयाँ अध्यायको आरम्भ गर्दै छ।"

नजिक भए पनि टाढा

अहिलेसम्म दुई वटा मात्रै मिशनले बुध ग्रहलाई नजिकबाट अध्ययन गरेका छन्। नासाको 'मरिनर १०' मानवरहित यान सन् १९७४ र १९७५ मा तीन पटक बुध ग्रहको नजिकबाट उड्यो।

सन् २०११ मा मात्रै नासाकै मेशेन्जर मानवरहित यान बुधको कक्षमा प्रवेश गर्‍यो र चार वर्षसम्म रह्यो।

मङ्गल ग्रहसँग यसको तुलना गर्दा ५० भन्दा बढी अभियान मङ्गल ग्रहमा पठाइसकिएको छ। दुई ग्रहमा यस्तो ठूलो अन्तर किन छ?

"सर्वसाधारण र नीति निर्माताहरू मङ्गल ग्रह जस्ता ग्रहप्रति बढी आकर्षित छन्, किनभने त्यहाँ कुनै समय जीवन अस्तित्वमा थियो वा भविष्यमा हुन सक्छ भन्ने सम्भावनाले चासो बढाएको छ," जर्मन एरोस्पेस सेन्टर (डीएसआर)को ग्रहसम्बन्धी भौतिकशास्त्र विभागकी प्रमुख प्राध्यापक डोरिस ब्रोएर भन्छिन्।

उनका अनुसार अर्को पाटो पछि छ। बुध ग्रहमा पुग्न प्राविधिक रूपमा पनि निकै जटिल छ।

बुध ग्रह बृहस्पति वा शनिभन्दा पृथ्वीसँग नजिक भए पनि त्यहाँ पुग्न चाहिँ अझै कठिन छ। किनभने यो सूर्यको अत्यन्त नजिक छ। सूर्यको शक्तिशाली गुरुत्वाकर्षणका कारण सूर्यतर्फ तानिनबाट बच्न बुधको कक्षमा प्रवेश गर्ने अन्तरिक्ष यानले निरन्तर गति घटाइरहनुपर्छ।

सूर्यको पृष्ठभूमिमा कालो थोप्लोजस्तो देखिने बुध ग्रह
तस्बिरको क्याप्शन, यहाँ कालो थोप्लोजस्तो देखिने बुध ग्रह सूर्यबाट सबैभन्दा नजिकको ग्रह हो

बेपिकोलोम्बो अन्तरिक्ष अभियानलाई यो जोखिमबाट बचाउन सन् २०१८ मा अत्यन्त जटिल उडान मार्ग तय गरेर प्रक्षेपण गरिएको थियो। गति कम गर्नका लागि पृथ्वी, शुक्र र बुध ग्रहको गुरुत्वाकर्षण प्रयोग गरेर आफ्नो इन्धन बचाउने उद्देश्यले यसले आठ वर्षको अवधिमा नौ पटक ग्रहहरूको नजिक हुँदै उडेको थियो।

यो अभियानको नाम इटालियन इन्जिनियर तथा गणितज्ञ जुजेफे "बेपि" कोलोम्बोको सम्मानमा राखिएको हो। बुध ग्रह अध्ययनमा उनको योगदान विशेष मानिन्छ।

सन् १९७० को दशकमा मरिनर १० यानले बुध ग्रहलाई तीन पटक अवलोकन गर्न सक्ने गरी शुक्र ग्रह नजिकको क्षेत्र प्रयोग गर्ने अवधारणा सर्वप्रथम उनले नै प्रस्ताव गरेका थिए।

बुधका रहस्यहरू

बुध ग्रहबारे तथ्यहरूको इन्फोग्राफिक्स

त्यही बेलादेखि यो सानो ग्रह रहस्यहरूले भरिएको पक्का भएको थियो।

"हामी त्यसलाई सूर्यको नजिक तैरिरहेको एउटा सानो चट्टानजस्तो मात्रै सोचिरहेका थियौँ। भूबनोटका आधारमा निष्क्रिय होला ठान्थ्यौँ," बेपिकोलोम्बोका लागि इसाको विज्ञान सञ्चालनकी वैज्ञानिक डा. मिरेआ लिओन दासी भन्छिन्।

"तर हरेक मिशनले बुध ग्रहबारे मात्रै नभई सम्पूर्ण सौर्यमण्डलबारे नै हाम्रो बुझाइमा परिवर्तन ल्याइरहेका छन्।"

मेशेन्जरले बुध ग्रहका केही खोँचहरूभित्र बरफ लुकेको हुन सक्ने सम्भावित प्रमाण फेला पारेको थियो। नासाका अनुसार बुध ग्रहको सतहको तापक्रम करिब ४३० डिग्री सेल्सिअससम्म पुग्न सक्ने भएकाले यो आश्चर्यजनक खोज मानिएको थियो।

अर्को रहस्य चाहिँ बुध ग्रह कहाँ र कसरी उत्पत्ति भएको थियो भन्ने हो।

मेशेन्जरले सूर्यको अत्यन्तै नजिक रहेको बुध ग्रहको सतहमा अनुमान नै गर्न नसकिने किसिमका रासायनिक तत्त्वहरू फेला पारेको थियो। केही वैज्ञानिकहरूले यो ग्रहको उत्पत्ति धेरै टाढा र अहिले मङ्गल ग्रह रहेको क्षेत्रतिर भएको हुन सक्ने अनुमान गरेका छन्। अनि अर्बौँ वर्षअघि कुनै ठूलो वस्तुसँग सम्भवतः भर्खरै उत्पत्ति भएको पृथ्वीसँग ठोक्किएपछि यो हालको कक्षमा आइपुगेको हुन सक्ने अनुमान गरेका छन्।

त्यस्तो ठक्करका कारण बुध ग्रहको बाहिरी सतहको केही भाग चोइटिएको हुन सक्ने र भित्री भाग असामान्य रूपमा ठूलो रहेको हुनसक्ने अनुमान गरिएको छ।

पृथ्वीबाहेक सौर्यमण्डलका ग्रहहरूमध्ये बुध ग्रह मात्रै चुम्बकीय क्षेत्र भएको ग्रह हो। तर सैद्धान्तिक रूपमा यति सानो ग्रहको चुम्बकीय क्षेत्र हुनु नै आफैँमा अनौठो हो।

वैज्ञानिकहरू बुध ग्रह "खुम्चिँदै गएको" प्रक्रियाबारे पनि थप बुझ्न चाहन्छन्। यस वर्ष प्रकाशित एक अध्ययनले पछिल्लो ४.५ अर्ब वर्षमा चिसिँदै जाँदा बुध ग्रहको चौडाइ करिब २३ किलोमिटरले घटेको हुन सक्ने देखाएको छ। अघिल्ला अनुमानभन्दा यसले अझै धेरै बढी खुम्चिएको देखाएको हो।

"बुध ग्रहबारे अझै धेरै अनुत्तरित प्रश्न छन्," बेपिकोलोम्बो परियोजनामा काम गरिरहेकी इटलीको न्याश्नल इन्स्टिट्यूट अफ एस्ट्रोफिजिक्सकी ग्रह–भूगर्भविद् डा भालेन्टिना गलुत्सी भन्छिन्।

"हाम्रो अभियानले ती प्रश्नहरूको उत्तर दिन सक्ने आशा गरेका छौँ।"

अलग अलग यान

बेपिकोलोम्बो खासमा तीन वटा अलग अलग भाग मिलाएर बनाइएको हो।

तीमध्ये मर्करी ट्रान्सफर मोड्यूल (एमटीएम) एउटा चालक यान हो। यसले आफ्नो साथमा रहने अन्य उपकरणहरूलाई पृथ्वीबाट बुध ग्रहसम्मको ९.९ अर्ब किलोमिटर लामो यात्रामा बोकेको हो।

आफ्नो जिम्मेवारी पूरा गरेपछि एमटीएम सेप्टेम्बरको आरम्भमा अलग गरिएको थियो।

यानको तस्बिर
तस्बिरको क्याप्शन, बेपिकोलोम्बो मिशनले बुध ग्रहमा एकै पटक दुई वटा मानवरहित यान पठाएको छ

बाँकी रहेका दुई यान इसाको मर्करी प्लानेटरी अर्बिटर (एमपीओ) र जाक्साको मर्करी म्याग्नेटोस्फेरिक अर्बिटर (मिओ) अब २१ नोभेम्बरमा बुध ग्रहको कक्षमा प्रवेश गर्ने अपेक्षा गरिएको छ। त्यसको करिब साढे दुई सातापछि ती एक अर्काबाट अलग हुनेछन्।

युरोपेली अर्बिटर बुध ग्रहको सतह नजिकको कक्षमा रहने छ। यसले अन्य कामका साथै ग्रहको सतहमा रहेका खनिजहरूको अध्ययन गर्ने छ। छायामा रहेका खोँचहरूमा बरफको खोजी गर्ने छ। साथै बुध ग्रहको भित्री भागबारे अनुसन्धान गर्ने छ।

जापानी यानले भने अझ माथिल्लो कक्षमा परिक्रमा गर्ने छ। यसले बुध ग्रहको चुम्बकीय क्षेत्र, विद्युतीय कण र त्यहाँ हुने धुलोको निगरानी गर्ने छ।

वैज्ञानिकहरूका अनुसार यो दोहोरो शैलीको काम गराइ योजनाअनुसार अघि बढे अहिलेसम्मकै व्यापक अध्ययन सम्भव हुने छ।

चरम परिस्थिति

बुध ग्रहसम्म पुग्नु ठूलो चुनौतीको एउटा पक्ष मात्रै थियो। त्यहाँ यान सञ्चालन गर्नु अर्को अत्यन्त कठिन प्राविधिक चुनौती हो।

बुध ग्रहमा सूर्यको प्रकाश पृथ्वीमा भन्दा १० गुणा बढी सघन हुन्छ। यसले यानमा रहेका संवेदनशील उपकरणहरूलाई क्षति पुर्‍याउन सक्छ। साथै, त्यहाँ दिनको समयमा तापक्रम ४३० डिग्री सेल्सिअस वा त्योभन्दा माथिसम्म पुग्न सक्छ भने राति माइनस १८० डिग्री सेल्सियससम्म झर्न सक्छ।

त्यसैले आवश्यकताअनुसार यानलाई कहिले चिसो र कहिले तातो राख्न इन्जिनियरहरूले विशेष उपाय विकास गर्नुपरेको थियो।

तर नासाको मेशेन्जर अभियानले यो गर्न सम्भव रहेको पुष्टि गरिसकेको थियो। अमेरिकी यानले अन्तरिक्ष अनुसन्धानमा एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको थियो। तर अब बेपिकोलोम्बोले आफ्ना दुई यान र अझ आधुनिक उपकरणहरूको सहायताले मेशेन्जरले अनुत्तरित छोडेका केही प्रमुख प्रश्नहरूको उत्तर खोज्ने लक्ष्य राखेको छ।

बुध ग्रहको तस्बिर
तस्बिरको क्याप्शन, बेपिकोलोम्बोले सन् २०२१मा बुध ग्रहको तस्बिर पठाएको थियो

मेशेन्जरले बुध ग्रहको उत्तरी गोलार्द्धको विस्तृत अध्ययन गरेको थियो। "बेपिकोलोम्बोले हामीलाई दक्षिणी गोलार्द्धबारे त्यस्तै जानकारी दिने छ," नासाको मेशेन्जर अभियानकी परियोजना उपप्रमुख वैज्ञानिक डा. डेबोरा डोमिङ भन्छिन्।

यसको सहयोगमा बुध ग्रहका बाँकी रहेका केही रहस्य बुझ्नुका साथै खगोलविद्हरूले आफ्ना ताराको अत्यन्त नजिक परिक्रमा गर्ने ग्रहहरूको अध्ययन गर्ने फराकिलो अवसर पनि देखिरहेका छन्।

अन्य तारामण्डलमा यस्ता अवस्थिति भएका धेरै ग्रहहरू फेला परिसकेका छन्। के तिनको सतहमा पनि पानीको बरफ हुन सक्छ?

तर दुर्भाग्यवश, ती ग्रहहरू हामीबाट यति टाढा छन् कि तिनको विस्तृत अध्ययन गर्न सकिँदैन।

डोमिङ हाम्रो आफ्नै सौर्यमण्डलका ग्रहहरूको अध्ययन नै ती सबै कुरा बुझ्न महत्त्वपूर्ण रहेको र त्यसमा बेपीकोलोम्बोले सहयोग पुर्‍याउने बताउँछिन्।

"सबैको अन्तिम लक्ष्य भनेको पृथ्वीबाहिर जीवनको खोजी गर्नु हो, हैन त?" उनी भन्छिन्।

हाम्रो आफ्नै सौर्यमण्डलको अध्ययनबाट जीवनको उत्पत्ति सहित धेरै कुरा थाहा हुने उनी बताउँछिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।