वैदेशिक रोजगारीमा हुने ठगी रोक्न कानुन र श्रम मन्त्रालयको 'संयुक्त पहल', के फरक पर्छ?

    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

वैदेशिक रोजगारीमा हुने ठगीबारे सरकारका थुप्रै मन्त्रालयमा उजुरी र गुनासाहरू आएपछि त्यसको सम्बोधनका लागि श्रम र कानुन मन्त्रालयले एउटा संयुक्त पहल थाल्न लागेको कानुनमन्त्री सोबिता गौतमको सचिवालयले बताएको छ।

आउँदो साता एउटा कार्यदल गठन गरेर वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र नागरिकलाई सही प्रक्रियाबारे जानकारी दिन दुई मन्त्रालयले संयुक्त रूपमा पहल गर्न लागेको सचिवालयले जानकारी दिएको हो।

वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी उजुरी कार्यान्वयनको काम भइरहेको र विगतका उजुरी अद्यावधिक गरेर ठगी गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम अगाडि बढाउँदै आएको जनाएको छ।

यसअघि सरकारले वैदेशिक रोजगारीसम्बन्धी ठगीका विषयमा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू तोकिएको समयभित्र सम्पर्कमा आउन र नआए ब्याङ्क खाता र यात्रा अनुमति रोक्का गर्ने भन्दै ३५ दिने म्याद जारी गरेको थियो।

उक्त म्याद मङ्सिर १३ अर्थात् आउँदो आइतवार सकिँदै छ।

तर वैदेशिक रोजगार ऐनका कतिपय व्यवस्था संशोधन गर्न आवश्यक देखिएको र त्यसो गर्न सके मात्रै ठगी नियन्त्रण हुने, नभए व्यक्तिगत रूपमा हुने ठगीलाई नियन्त्रणमा ल्याउन चुनौतीपूर्ण रहेको एक व्यवसायीले बताएका छन्।

वैदेशिक रोजगारीमा हुने ठगी पैसा लिएर मानिसहरूलाई विदेश नपठाउने अथवा एउटा काम भनेर अर्कै काममा लगाइदिनेजस्ता नियमित प्रकृतिमा मात्रै सीमित नभई थुप्रै रहेको विभागले जनाएको छ।

"पछिल्लो समय प्रविधिको प्रयोग गरेर प्रमाणको रूपमा प्रयोग हुनसक्ने रकम हरू विभिन्न खाताबाट लेयरिङ गरेर अर्को खातामा पठाउनेलगायतका १०० भन्दा बढी प्रकारका ठगीका उजुरी आएका छन्," वैदेशिक रोजगार विभागका महानिर्देशक नवराज ढकालले भने।

सम्बन्धित मन्त्रीहरूले के भने?

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वैदेशिक रोजगारीका नाममा हुने ठगीसम्बन्धी एउटा विशेष पहल लिएर छिट्टै आउन लागिएको बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा शुक्रवार पोस्ट गर्दै उनले राजनीतिमा आएदेखि आफूले नागरिकहरूबाट सबैभन्दा धेरै सुनेका गुनासाहरूमध्ये वैदेशिक रोजगारीका नाममा हुने ठगी पनि रहेको उल्लेख गरेकी छन्।

त्यसमा सुधारका लागि श्रम मन्त्रालयले विभिन्न नीतिगत तथा प्रक्रियागत सुधारका कामहरू गरे पनि नागरिकलाई सही प्रणालीबारे जानकारी गराउन उत्तिकै आवश्यक रहेको उनले बताएकी हुन्।

"वैदेशिक रोजगारीमा जान चाहने नागरिकले कुन प्रक्रिया अवलम्बन गर्ने, कसलाई विश्वास गर्ने, ठगीबाट कसरी बच्ने र समस्या परे कहाँ सम्पर्क गर्ने भन्ने जानकारी समुदाय स्तरसम्म पुग्नुपर्छ," उनले फेसबुकमा लेखेकी छन्।

"यसै उद्देश्यका साथ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयको सहकार्यमा एउटा विशेष पहल लिएर छिट्टै आउँदै छौँ।"

वैदेशिक रोजगारीसम्बन्धी ऐन सदनमा पठाउने तयारी भइरहेको कानुन मन्त्रालयले जानकारी दिएको छ।

दुई मन्त्रालयले संयुक्त रूपमा गर्न लागेको पहल आउँदो साता घोषणा हुने मन्त्रालयले जनाएको हो।

तर त्यसका लागि कार्यविधिमा काम भइरहेको र उक्त कार्यविधिपछि बन्ने कार्यदलले कस्तो पहल र कस्ता कार्यक्रमहरू कहाँकहाँ गर्ने भन्ने तय गर्ने कानुनमन्त्रीको सचिवालयले जनाएको छ।

यसैबीच युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले पनि वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरू कानुनी प्रक्रियाबाट उम्किन नसक्ने भन्दै चेतावनी दिएका छन्।

"वैदेशिक रोजगारीको प्रलोभन देखाई सर्वसाधारणको रकम ठगी गर्ने, पक्राउ पुर्जी जारी भएपछि पनि लुकेर बस्ने तथा मोबाइल नम्बर र सिमकार्ड परिवर्तन गरी कानुनी प्रक्रियाबाट उम्किन खोज्नेहरूलाई अन्तिम चेतावनी," सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्।

"पक्राउ पुर्जी जारी भएका सबै सम्बन्धित व्यक्तिहरूलाई तोकिएको समयभित्र वैदेशिक रोजगार विभागमा उपस्थित भई मुद्दाको कानुनी प्रक्रिया पूरा गर्न र पीडितको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउन आग्रह गर्दछु।"

अन्यथा कानुनअनुसार बैङ्क खाता रोक्का, राहदानी तथा विदेश यात्रामा प्रतिबन्ध र सम्पत्ति रोक्कासम्बन्धी आवश्यक कानुनी कारबाही अगाडि बढाइने उनले उल्लेख गरेका छन्।

पीडितको उजुरी सम्बोधनका लागि के हुँदै छ?

विभागका महानिर्देशक नवराज ढकालका अनुसार ठगीसम्बन्धी विभागमा प्राप्त भएका उजुरीहरू अद्यावधिक गर्न बाँकी छ।

"विभिन्न घटनाक्रममा विभागमा रहेका कतिपय रेकर्ड नपाइएको अवस्था छ। जुनजुन निकायमा त्यस्ता उजुरीको प्रतिलिपि हुन सक्छ, उहाँहरूबाट सङ्कलन गरिरहेका छौँ," विभागका महानिर्देशक ढकाल भने।

"साउन १ गतेदेखि पूर्णतः अनलाइन प्रणालीमा गएको छ। त्यस्ता उजुरीको सङ्ख्या हजार पुगिसकेको छ। त्योभन्दा अगाडिको उजुरीहरूको प्रारम्भिक आकलन अनुसार २८/२९ हजार भन्ने छ। त्यसलाई हामी अपडेट गर्दै छौँ।"

विभागको उद्देश्य पीडितलाई न्याय दिन, क्षतिपूर्ति दिन वा ठगिएको रकम फिर्ता गरिदिन सहजीकरण गर्ने रहेको उनले दाबी गरे।

"हामी क्रमशः रेकर्ड प्राप्त गर्दै छौँ। प्रारम्भिक रूपमा नै अवधि पुगेपछि हजारौँको खाता रोक्का हुन्छ," महानिर्देशक ढकालले भने।

व्यवसायी के भन्छन्?

वैदेशिक रोजगारीका विषयमा संस्थागतभन्दा पनि व्यक्तिगत ठगी धेरै हुने गरेको अनुभव आफ्नो रहेको वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले बताएका छन्।

तर वैदेशिक रोजगार ऐनले संस्थागत ठगी हेर्ने हुँदा व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा हुने ठगीका लागि पर्याप्त कानुन नदेखिएको भन्दै त्यसतर्फ ध्यान दिइन आवश्यक रहेको उनले बताए।

"कुनै बिचौलियाले वैदेशिक रोजगारीमा जाने व्यक्तिसँग पैसा लियो र पैसा लिनुको उद्देश्य उल्लेख गरिएको छैन भने त्यो मुद्दा हेर्ने निकाय छैन। त्यसैले कानुन बनाउन आवश्यक छ," खत्रीले बताए।

"तर त्यो कानुन बन्नुभन्दा अघि वैदेशिक रोजगार ऐन २०६४ का त्रुटियुक्त दफाहरू समयसापेक्ष संशोधन गरेर संस्थागत रूपमा वैदेशिक रोजगारीमा जाने श्रमिकले दिने पारदर्शी र वैज्ञानिक सेवा शुल्क निर्धारण नगरी ठगी नियन्त्रण हुँदैन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।