तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'उनी त आउन पाएनन्, कमसेकम क्षतिपूर्ति छिटो आइदेओस्'
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
यदि साउदी अरबमा गत महिना एउटा ड्रोन हमलासम्बन्धी घटनामा नमारिएका भए महोत्तरीका भरत महतो अहिले आफ्नी जेठी छोरीको बिहेको चाँजोपाँजो मिलाउनमा व्यस्त हुन्थे।
"नोभेम्बर १६ तारिख उहाँ आउन लाग्नुभएको थियो। उहाँ आएपछि यही मङ्सिरमा जेठी छोरीको बिहे गर्ने तयारी थियो," महतोकी श्रीमती इन्द्रिकादेवीले मलिन स्वरमा बीबीसी न्यूज नेपालीसँग भनिन्।
"अहिले त हामीले केही सोच्नै पाएका छैनौँ। उहाँ नै संसार छोडेर गएपछि पूरै परिवार छिन्नभिन्न भएको छ। मैले आफूलाई सम्हाल्नु कि ससुराबुवा र छोराछोरीलाई सम्हाल्नु?," महतो परिवारको सहारा गुमेपछिको अवस्थाबारे उनले अगाडि थपिन्।
तीन छोरी र एक छोरालाई हेर्ने जिम्मेवारी काँधमा आइपरेपछि इन्द्रिकादेवी आफैँ बिरामी रहने गरेकी छिन्। "म बिरामी हुन थालेदेखि हेरचाह गर्ने भनेर जेठी छोरीले पढाइ बीचमै छोडिन्," इन्द्रिकाले सुनाइन्।
बाँकी तीन सन्तानले अहिले अध्ययनलाई निरन्तरता दिइरहेका छन्। तर उनीहरूको अध्ययनमा पनि 'ब्रेक' नलागोस् भनी इन्द्रिकाको चाहना छ।
क्षतिपूर्ति रकमको पर्खाइ
कहिल्यै नफर्किने गरी संसारबाट बिदा भइसकेका भरत महतोको परिवारलाई अब क्षतिपूर्ति बापत आउने रकमको ठूलो आश छ।
दुई दिनअघि इन्द्रिकादेवीले गाउँपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालय पुगेर क्षतिपूर्ति प्रक्रियाबारे बुझेको बताइन्। क्षतिपूर्ति रकम आएपछि अधिकारीहरू आफैँले खबर गर्ने जबाफ दिएको उनले सुनाइन्।
हाललाई आयआर्जनको कुनै स्रोत नरहेको महतो परिवारलाई त्यो रकमले ठूलै राहत दिने अपेक्षा छ।
"त्यो पैसाले केके गर्ने भन्ने त सोचिसकेका छैनौँ। यो पीडाबाट निस्केपछि केही सोच्न सकिएला। श्रीमतीका लागि श्रीमान् नै नभएपछि सबै सकिएजस्तो हुने रहेछ," सुस्केरा लिँदै उनले बीबीसी न्यूज नेपालीसँग भनिन्।
"उहाँ त आउन सक्नुभएन, कमसेकम क्षतिपूर्तिको रकम त छिटो आइदेओस् भन्ने अपेक्षा छ," उनले अगाडि थपिन्।
इन्द्रिकाका अनुसार महतो विगत १४ वर्षदेखि साउदी अरबमा एउटै कम्पनीमार्फत् कार्यरत रहिआएका थिए।
रकम दिन के गरिँदै छ?
मृतक महतोको परिवारलाई क्षतिपूर्ति र बाँकी तलबबापत झन्डै पौने एक करोड रुपैयाँ दिन लागिएको अधिकारीहरूले बीबीसीलाई बताएका छन्।
रियादस्थित नेपाली राजदूतावासका एक अधिकारीका अनुसार उक्त रकम साउदी अरबबाट नेपालको कन्सुलर सेवा विभाग पठाइसकिएको छ।
"क्षतिपूर्तिबापत एक लाख ५० हजार र बाँकी तलब बापतको ३३ हजार साउदी रियाल गरी एक लाख ८३ हजार रियाल यहाँबाट नेपालस्थित कन्सुलर सेवा विभाग पठाइसकिएको छ," राजदूतावासका एक अधिकारीले बीबीसी न्यूज नेपालीसँग भने।
ती अधिकारीका अनुसार सरकारी स्वामित्वको परियोजनामा कार्यरत भएका कारण पनि क्षतिपूर्तिबापत पीडित परिवारले सो परिणाममा रकम पाउन लागेको हो।
"सेवासुविधासम्बन्धी सर्तमा के छ भन्नेअनुसार हुन्छ। नभए खास गरी निजी कम्पनीहरूले दिनैपर्ने अथवा दिन्छन् नै भन्ने हुँदैन," उनले अगाडि थपे।
मृतकको गाउँपालिकाका अधिकारीहरूले क्षतिपूर्ति र बाँकी तलबबापतको रकम कन्सुलर सेवा विभागमा आइसकेको जानकारी पाएको बताएका छन्।
उनीहरूका अनुसार विभागबाट जिल्ला प्रशासन कार्यालयको खाता हुँदै आफूहरूकहाँ रकम पुग्नासाथ मृतकको परिवारलाई हस्तान्तरण गरिने छ।
"दुई दिनअघि मैले बुझ्दा जिप्रकाको खातामा रकम दाखिला भइसकेको थिएन। दाखिला भएपछि नाता प्रमाणित गरेर मृतकको परिवारलाई एकमुष्ट त्यो रकम हामी दिन्छौँ," लेखा हेर्ने अधिकारीले बीबीसीसँग भने।
रियादस्थित राजदूतावास अधिकारीहरूका अनुसार मृतक भरत महतोको श्रम स्वीकृतिको म्याद नसकिएको भए उनको परिवारले नेपालबाट पनि अर्को रकम पाउन सक्थ्यो।
"दुई वर्षअघि नै उहाँको श्रम स्वीकृति म्याद सकिसकेको रहेछ। नभए बीमाबाट १४ लाख र वैदेशिक रोजगार बोर्ड कल्याणकारी कोषबाट १० लाख गरी अर्को २४ लाख रुपैयाँ परिवारले पाउन सक्थ्यो," राजदूतावासका ती अधिकारीले भने।
महतोको परिवारलाई गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने जनाएको छ। "त्यो परिवारमा जागिर खाने उमेरका त छोराछोरी छैनन्, केकति हुन्छ हामीले आर्थिक सहयोग गर्न सोचेका छौँ," गाउँपालिका अध्यक्ष रामजानकी यादवले बीबीसी न्यूज नेपालीसँग भने।
घटनाको नालीबेली
साउदी अरबको पूर्वी प्रान्तमा पर्ने शेबा तेल क्षेत्रलाई गत अक्टोबर २१ तारिखका दिन निसाना बनाई एउटा ड्रोन हमला गरिएको थियो।
साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार त्यसलाई निस्तेज पार्ने क्रममा ड्रोनका टुक्राटाक्री खस्दा दुई जना मारिएका थिए भने अरू दुई जना घाइते भएका थिए।
ज्यान गुमाउनेमा एक नेपाली र एक फिलिपिनो नागरिक थिए। घटनामा परी घाइते हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक थिए।
ज्यान गुमाउने नेपालीमा महोत्तरी पिपरा गाउँपालिका, ढेकाहाका ४५ वर्षीय भरत महतो थिए, जो सरकारी स्वामित्वको साउदी अरामकोका लागि काम गर्दै आएका थिए।
महतोको शव साउदी अरबबाट गत कार्तिक २० गते नेपाल ल्याइएको थियो भने त्यसको भोलिपल्ट उनको अन्तिम संस्कार गरिएको थियो।
घटनापछि नेपालको परराष्ट्र मन्त्रालयले नागरिक र महत्त्वपूर्ण पूर्वाधार लक्षित सबै आक्रमणहरूको नेपालले स्पष्ट रूपमा निन्दा गर्ने उल्लेख गर्दै संवाद, वार्ता र कूटनीतिक प्रयासहरूमार्फत् विवादहरूको शान्तिपूर्ण समाधान गरिनुपर्ने आफ्नो पूर्वधारणा निरन्तर रहेको स्मरण गराएको थियो।
फेरि नेपाली मारिए
साउदी अरबमा भएको अर्को एउटा हमलामा परी एक नेपाली नागरिको ज्यान गएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
रियादमा मङ्गलवार भएको आक्रमणको एउटा घटनामा परी एक नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले बिहीवार साँझ पुष्टि गरेको हो।
"साउदी अधिराज्यमा गरिएका ताजा हमलाहरूमा परी एक नेपाली नागरिकको दुःखद अन्त्य भएकोप्रति हामी गहिरो रूपमा दुःखी भएका छौँ र अरू तीन जना घाइते भएकोमा चिन्तित भएका छौँ," मन्त्रालयले जारी गरेको एउटा विज्ञप्तिमा लेखिएको छ।
घाइतेमध्ये एक जना उपचारपछि निको भएका छन् भने दुई जनाको अझै उपचार भइरहेको जनाइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।