हङ्‌कङलाई हराउँदै नेपाल एसीसी प्रिमिअर कपको सेमिफाइनलमा

नेपालका ओपनर आसिफ शेख
तस्बिरको क्याप्शन, नेपालका ओपनर आसिफ शेखले नेपाललाई उत्कृष्ट थालनी गरेका थिए
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू
  • Published

चुस्त फील्डिङ र बलिङ तथा आक्रामक ब्याटिङको सहयोगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमवार भएको रोमाञ्चक खेलमा हङ्‌कङलाई आठ विकेटले पराजित गरेको छ।

सोमवारै भएको अर्को खेलमा कतारले मलेशियालाई हराएपछि समूह 'ए'बाट नेपाल सेमिफाइनलमा पुग्ने निश्चित भएको छ।

अहिले छ अङ्कसहित नेपाल तालिकामा शीर्ष स्थानमा छ।

यसअघि नेपालले मलेशिया र कतारलाई हराएको थियो।

ओमानको 'अल अमिरात क्रिकेट मैदान'मा वर्षाको कारण खेल सुरु हुन ढिला हुँदा इनिङ्सलाई २० ओभरबाट १८ ओभरमा खुम्च्याइएको थियो।

टस जितेर फील्डिङ रोजेको नेपालले हङ्‌कङलाई एक बल खेल्नुअगाडि अलआउट गर्दै ११४ रनमा रोकेको थियो।

नेपालले १२.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

नेपालका अविनाश बोहोरा 'उत्कृष्ट खेलाडी' घोषित भए। उनले तीन विकेट लिएका थिए।

आक्रामक ब्याटिङ

ओमानको मैदानमा नेपाली क्रिकेट फ्यान
तस्बिरको क्याप्शन, ओमानको मैदानमा उल्लेख्य सङ्ख्यामा नेपाली क्रिकेट टोलीका समर्थक उपस्थित थिए

कुशल भुर्तेल र आसिफ शेखको प्रारम्भिक जोडीले आक्रामक सुरुवात गरेपछि नेपालले पाएको सामान्य लक्ष्य छिट्टै पूरा गर्‍यो।

पहिलो विकेटका लागि यो जोडीले छैटौँ ओभरभित्र ७० रनको साझेदारी गरेको थियो।

भुर्तेलले १९ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ३२ रन बनाए। आसिफ शेखले १८ बलमा ४० रन बनाउन तीन चौका र तीन छक्का पनि प्रहार गरे।

सातौँ ओभरभित्र यी दुई खेलाडी आउट भएपछि आएका कप्तान रोहित पौडेलले अविजित ‍२५ तथा सन्दीप जोराले १९ रन बनाएर खेल जिताए।

रन आउटपछि हङ्‌कङ दबावमा

गुलशन झा र अन्य खेलाडी
तस्बिरको क्याप्शन, पहिलो इनिङ्समा गुलशन झाको खेल दर्शनीय थियो

नेपालको फील्डिङ पनि सुरुदेखि नै उत्कृष्ट देखिएको थियो।

दीपेन्द्रसिंह ऐरी र गुलशन झाले दुई खेलाडीलाई उत्कृष्ट तरिकाले रन आउट गराए। त्यसबाट हङ्‌कङका ब्याटरहरू दबावमा परे।

खेलको तेस्रो ओभरमा करण केसीले मार्टिन कोइट्जको विकेट लिएसँगै नेपाली बलरहरूले विकेट लिन थालेका थिए।

पाँचौ ओभरमा हङ्‌कङका भरपर्दा खेलाडी निजाकत खान (१२ रन ) लाई ऐरीले निकै गाह्रो एङ्गलमा उत्कृष्ट 'डाइरेक्ट हिट' गरेका थिए।

त्यस्तै नवौँ ओभरमा अंशुमान रथलाई गुलशन झाले गरेको 'डाइरेक्ट हिट' अर्को दर्शनीय रनआउट थियो।अंशुले त्यति बेला २६ बलमा ३४ रन बनाएर खेलिरहेका थिए।

करण केसी
तस्बिरको क्याप्शन, हङ्‌कङविरुद्धको खेलमा करण केसीले एक विकेट लिए

यी दुई खेलाडी आउट भएपछि हङ्‌कङको इनिङ्स धरमराउन पुग्यो। बाँकी खेलाडीहरूले नियन्त्रित भएर खेल्न सकेनन्।

फलत: एक समय ६१-२ को बलियो स्थितिमा रहेको हङ्कङ १३.१ ओभरमा ७६-६ को खराब स्थितिमा पुगिसकेको थियो।

ललितनारायण राजवंशी र अविनाश बोहोराले विपक्षीको मध्यक्रमलाई ध्वस्त बनाइदिए।

अविनाश बोहोराले तीन तथा ललितनारायण राजवंशीले दुई विकेट लिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।