नेपाली महिला क्रिकेट टोलीलाई ठूलो मौका, अब भारत-पाकिस्तानसँग आमने सामने

एसीसीले दिएको खबरले नेपाली महिला क्रिकेट टोलीमा नयाँ जोशको सञ्चार गराएको छ
तस्बिरको क्याप्शन, एसीसीले दिएको खबरले नेपाली महिला क्रिकेट टोलीमा नयाँ जोश जुर्मुराएको छ
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

"बल्ल त्यो शतकको अर्थ रह्यो," एसियाली क्रिकेट परिषद् (एसीसी) ले मङ्गलवार नेपाली महिला टोलीलाई 'महिला टी-२० आई एसिया कप' मा सिधै खेल्न दिने घोषणा गरेको ठुलो खबर सुनेपछि पूर्व कप्तान तथा टोलीकी मुख्य सदस्य रुविना क्षेत्रीले आफ्नो खुसी यसरी व्यक्त गरिन्।

डेढ महिना अगाडि एसीसी महिला प्रिमियर कपमा रुविनाले मालदिभ्सविरुद्ध अविजित ११८ रन बनाएर पहिलो अन्तर्राष्ट्रिय शतक बनाउने नेपाली महिलाको इतिहास आफ्नो नाममा लेखाएकी थिइन्।

तर सेमिफाइनलमा मलेसियासँग स्तब्ध हुँदै नेपाल एसिया कपमा छनोट हुन असफल भएपछि रुविनाले उक्त शतकको अर्थ नभएको प्रतिक्रिया दिएकी थिइन्।

एसीसीको नयाँ निर्णयपछि उनले बीबीसीसँग भनिन्, "साँच्चै नै यो महिला टोलीको लागि ठुलो खबर हो। पछिल्लो समय राम्रो खेल्दा खेल्दै पनि महत्त्वपूर्ण खेलहरूमा हार्दा टीमको मनोबल खस्केको थियो। तर यसले अब ऊर्जा दिनेछ।"

कस्ता कस्ता पराजय

एसीसीले मङ्गलवार महिला टी- २० आई एसिया कपको टाई सिट सार्वजनिक गर्दै त्यसमा नेपाल र थाइल्यान्डलाई पनि समावेश गरेको थियो।

एक विज्ञप्ति जारी गर्दै एसीसीका अध्यक्ष जय शाहले भनेका छन्, " हामी थपिएको राष्ट्र सँगै खेलमा प्रतिस्पर्धा बढेको हेर्न उत्साहित छौँ। जसले महिला क्रिकेटको बढिरहेको चर्चा र महत्त्व देखाउनेछ।"

रुविना क्षेत्रीले मलेसियामा भएको छनौट खेलमा ११८ रन प्रहार गरेकी थिइन
तस्बिरको क्याप्शन, रुविना क्षेत्रीले मलेसियामा भएको छनौट खेलमा ११८ रन प्रहार गरेकी थिइन

पछिल्लो समय नेपाली महिला टोलीले मुख्य मुख्य खेलहरू हार्न पुग्दा एसिया कप र विश्वकप छनोट जस्तो ठुला प्रतियोगिताहरू गुमाउँदै आएको थियो।

जसले गर्दा महिला टोलीलाई 'भाग्यले साथ नदिएको' समेत भन्न थालिएको थियो।

गत फागुनमा एसिया कप छनोटको रूपमा रहेको एसीसी प्रिमिअर कपको सेमिफाइनलमा मलेसियासँगको दुर्भाग्यपूर्ण पराजय त्यसको निरन्तरता थियो।

समूह चरणको सबै खेलमा प्रभावकारी जित हात पार्दै नेपाल सेमिफाइनल प्रवेश गरेको थियो। सेमिफाइनलमा जित पाउनासाथ नेपाल एसिया कपको लागि छनोट हुन्थ्यो।

विगतमा युएई र थाइल्यान्ड नेपालको वाधक बन्दै आएकोमा यसपालि मलेसिया प्रतिद्वन्द्वी रहेकोले प्रतिस्पर्धा सहज हुने अनुमान गरिएको थियो।

तर नेपालले बनाएको ११५ रनलाई पछ्याउन आएको आयोजक मलेसियाले अन्तिम बल खेल्नु अगाडि जित हात पारेपछि नेपाल जिल्लिन पुग्यो।

वर्षाले खोसेको त्यो क्षण

गत वर्षको असारमा मलेसियामा भएको सेमिफाइनल खेल वर्षाले रद्द हुँदा नेपाली महिला टोली एसिया कपमा पुग्नबाट दुर्भाग्यपूर्ण रूपमा वञ्चित हुनु पुग्यो।

उक्त खेलमा नेपालले पहिलो बलिङ गर्दै युएईलाई १९.५ ओभरमा ८१ रनमा अलआउट गरेको थियो। नेपालकी अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन्।

तर युएईको इनिङ्स सकिए लगत्तै वर्षा सुरु भयो र त्यो रोकिएन। अन्ततः खेल रद्द भयो र लीगमा समूह विजेता भएको आधारमा युएईलाई विजयी घोषणा गरियो।

सुनौलो अवसरको नजिक पुगेर पनि वञ्चित हुनुपर्दा नेपाली खेलाडीहरू आँशु झार्दै नेपाल फर्किएका थिए।

नेपाली महिला क्रिकेट टोली

थाइल्यान्ड अवरोध

एसिया कप जस्तै आइसीसीको ग्लोबल छनोटमा पनि नेपाली टीमले सधैँ कुनै न कुनै कारणले पराजय भोग्दै आएको थियो।

त्यसमा नेपालको बाटोमा प्राय: थाइल्यान्ड तगारो बन्थ्यो।

गत भदौमा भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसी को टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले सेमिफाइनलमा थाइल्यान्डलाई फेरि पनि पन्छाउन सकेन।

थाइल्यान्डले दिएको १०६ रनको चुनौती पार गर्न आएको नेपाली टोली ५९ रनमा नै अलआउट भएपछि ग्लोबल छनोटको ढोका बन्द हुन पुग्यो।

उक्त खेल पनि मलेसियामा नै आयोजना भएको थियो।

नेपाल प्राय सेमिफाइनलमा नै रोकिने गरेकोले अहिलेसम्म ग्लोबल छनोटमा पुग्न सकेको छैन।

नेपाली महिला क्रिकेट टोलीको नेतृत्व इन्दु बर्माले सम्हालीरहेकी छन्
तस्बिरको क्याप्शन, नेपाली महिला क्रिकेट टोलीको नेतृत्व इन्दु बर्माले सम्हालिरहेकी छन्

छाप छोड्ने मौका

सिधै एसिया कप खेल्ने मौका पर्नुलाई खेलाडीहरू भाग्य बदल्ने अवसर भनेका छन्।

रुविना क्षेत्री भन्छिन्, "मलाई लाग्छ, अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार राम्रो खेलिरहेको हुनाले नै हामीले यो अवसर पाएका हौँ।"

आगामी जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा हुने उक्त प्रतियोगितामा नेपालको समूहमा भारत, पाकिस्तान र युएई रहेका छन्।

जसरी हालै पुरुष क्रिकेट टोलीले एसिया कपमा भारत र पाकिस्तानको सामना गर्ने मौका पायो, महिलाको भागमा पनि त्यही कथा दोहोरिएको छ।

लीग चरणमा खेल्ने चार टोलीमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् भने बाँकी दुई टोली बाहिरिनेछन्।

बलर खुसी डङ्गोल नेपाली टोलीकी मुख्य खेलाडी हुन्
तस्बिरको क्याप्शन, बलर खुसी डङ्गोल नेपाली टोलीकी मुख्य खेलाडी हुन्

नेपाली टोली यसअघि सन् २०१२ र २०१६ मा एसिया कपमा छनोट भइसकेको छ।

जसमा टोलीले २०१२ को संस्करणमा समूह चरणमा सीमित हुँदा २०१६ को संस्करणमा छैटौँ स्थानमा रहन सफल भएको थियो।

महिला टोलीका प्रशिक्षक जगत् टमाटा भन्छन्, " म एसीसीलाई धन्यवाद दिन चाहन्छु। अब सबैले मेहनत गरेर यो अवसरको सदुपयोग गर्नु पर्छ। ग्लोबल स्टेजमा नेपाल कम छैन भन्ने देखाउने यो सुनौलो अवसर हो।"

नेपालको खेल तालिका

  • जुलाई १९: नेपालविरुद्ध पाकिस्तान
  • जुलाई २१: नेपालविरुद्ध युएई
  • जुलाई २३: नेपालविरुद्ध भारत

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।