युक्रेन भ्रमणमा बर्नम, जेलेन्स्कीलाई लामो दूरीका क्षेप्यास्त्रको 'ब्ल्यूप्रिन्ट' दिने

    • Author, हेन्‌री मोर
  • Published
  • पढ्ने समय: ४ मिनेट

ब्रिटेनको प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणमा निस्किएका एन्डी बर्नम युक्रेनको राजधानी किएभ पुगेका छन्। किएभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटघाट गर्दै उनले लामो दूरीका क्षेप्यास्त्रका 'ब्ल्यूप्रिन्ट'हरू हस्तान्तरण गर्ने योजना छ।

प्रधानमन्त्री बर्नमले आफ्ना पूर्ववर्ती सर किअर स्टार्मरको कार्यकालमा यूके र फ्रान्सले युक्रेनलाई सहयोग जुटाउन स्थापना गरेको गठबन्धनको बैठकको अध्यक्षता गर्ने छन्।

उनले ब्रिटिश जनताको प्रतिनिधित्व गर्दै यूकेले प्रदान गर्दै आएको समर्थनको सम्मानार्थ युक्रेनले प्रदान गर्न लागेको पुरस्कार पनि ग्रहण गर्ने छन्।

युद्धका लागि महत्त्वपूर्ण हुने गरी उनले रक्षासामग्री उत्पादन गर्ने कम्पनी एमबीडीएलाई 'स्काल्प' क्षेप्यास्त्रमा प्रयोग भएका यूकेका पाटपुर्जाबारे गोप्य जानकारी उपलब्ध गराउन आफ्नो सरकार सहमत भएको घोषणा गर्ने छन्। स्काल्प यूकेको 'स्टोर्म श्याडो'जस्तै फ्रान्समा निर्मित क्षेप्यास्त्र हो।

विगत केही सातादेखि रुसले युक्रेनमा आक्रमण बढाउँदै लगेको बेला बर्नमले युक्रेनलाई यूकेले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्ने छन्। गत शुक्रवार एउटा किनमेल केन्द्रमा रुसले गरेको आक्रमणमा परी कम्तीमा १६ जनाको ज्यान गएको थियो।

बर्नम के भन्छन्

"युक्रेनको स्वतन्त्रताको ३५औँ वार्षिकोत्सवमा युक्रेनी जनताले जति समय लागे पनि यूके आज तपाईँको साथमा छ भन्ने कुरामा शङ्का गर्नु हुँदैन," भ्रमण आरम्भ गर्नुअघि बर्नमले भने।

"म युक्रेनमा हाम्रो देशले गरेको योगदानप्रति गर्व गर्छु अनि युक्रेनका जनताले हाम्रो समर्थन घट्ने छैन भन्ने कुरा सोझै मबाट सुनून् भन्ने चाहन्छु। आखिर युक्रेनको सुरक्षा हाम्रो सुरक्षा हो।"

रुसले थालेको युद्धलाई "अवैधानिक" भन्दै उनले त्यसको तुलनामा युक्रेन र यूकेको मित्रता दीर्घकालीन भएको टिप्पणी गरे। "रुसले हाम्रो दृढ सङ्कल्पप्रति शङ्का नगरोस्। न्याय र स्थायी शान्ति नभएसम्म हामी पछि हट्ने छैनौँ," उनले भने।

युक्रेनले रुसी भौतिक संरचनाहरूलाई निसाना बनाउँदै ब्रिटिश ड्रोनहरू प्रयोग गरेर हालै हमलाहरू गरेपछि त्यसको "परिणाम" भोग्नुपर्ने भन्दै मस्कोले चेतावनी दिएपछि बर्नमले युद्धबारे टिप्पणी गरेका हुन्।

किएभले मस्को र अन्य रुसी क्षेत्रहरूमा टाढाबाट गरिने आक्रमण बढाएको छ। युक्रेनले रुसको सबैभन्दा ठूला अन्लाइन विक्रेता 'वाइल्डबेरी', तेल प्रशोधन केन्द्रहरू र गोदामहरूलाई निसाना बनाउँदै आएको छ।

कस्तो क्षेप्यास्त्र

लामो दूरीको स्काल्प क्षेप्यास्त्रको तौल १,३०० किलोग्राम र लम्बाइ ५.१० मिटर छ। युक्रेनी भूमिबाट प्रहार गर्दा यो रुसभित्र झन्डै १५० माइल टाढा रहेको निसानासम्म पुग्न सक्छ।

युक्रेनले रुसमाथि हमला गर्न प्रयोग गर्दै आएका ड्रोनहरूजत्तिकै टाढा पुग्न नसके पनि यो क्षेप्यास्त्र बनाउन निर्माण गर्न प्रयुक्त प्रविधि उपलब्ध गराउने तत्परता महत्त्वपूर्ण कदम हो।

यो क्षेप्यास्त्र निर्माण गर्ने कम्पनीका अनुसार स्काल्प पूर्वनिर्धारित र स्थिर निसानाहरूमा प्रहार गर्ने उद्देश्यले डिजाइन गरिएको हो। यसलाई जुनसुकै मौसममा अनि रात वा दिन नभनी जतिसुकै बेला पनि प्रयोग गर्न सकिन्छ। यसमा अत्याधुनिक नेभिगेशन प्रणाली जडान गरिएको छ।

एमबीडीएका अनुसार यो क्षेप्यास्त्र ब्रिटेनको रोयल एअर फोर्स, फ्रान्सेली वायुसेना र इटलीको वायुसेनाले प्रयोग गर्दै आएको छ। इराक, सिरिया र लिबियामा पनि यो क्षेप्यास्त्र प्रयोग भइसकेको छ।

रुसका बलिस्टिक क्षेप्यास्त्रहरूको सामना गर्नका लागि युक्रेनले थप 'प्याट्रिअट' इन्टरसेप्टर क्षेप्यास्त्रहरू प्राप्त हुने आशा राखेको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ती क्षेप्यास्त्रहरू उपलब्ध गराइदिन अनुरोध गरिसकेका छन्।

उनले ३६० वटा त्यस्ता क्षेप्यास्त्रको माग गरिएको तर "अन्य विकल्पहरूका लागि विभिन्न देशहरूसँग काम गरिरहेको" आइतवार बताएका थिए।

युक्रेन प्याट्रिअट क्षेप्यास्त्रका लागि अमेरिका निर्भर रहँदै आएको छ। तर इरानमा जारी युद्धका कारण यो क्षेप्यास्त्रको मौज्दात घट्दै गएकाले युक्रेन रुसले गर्ने आक्रमणको जोखिममा परेको छ।

रुसको आरोप

यूकेस्थित रुसी दूतावासले ब्रिटेनले "जानीजानी युक्रेन सङ्कटलाई चर्काउन खोजेको" आरोप लगाएको छ। "द्वन्द्वमा उसको संलग्नता जति गहिरो हुन्छ... उसले उति नै बढी मूल्य चुकाउनुपर्ने छ," दूतावासले भनेको छ।

त्यसबारे प्रतिक्रिया दिँदै बर्नमले गत साता भने, "हामी अवस्था अनुकूल हुँदाका मात्रै राम्रा साथी होइनौँ, हामी युक्रेनलाई आवश्यक परेको समयमा हुने छौँ र त्यसमा तलमाथि हुने छैन।"

बर्नम गत जुलाईमा प्रधानमन्त्री बनेपछि जेलेन्स्की डाउनिङ स्ट्रीटमा स्वागत पाउने पहिलो विदेशी नेता थिए।

यूकेका लागि रुसी राजदूत आन्द्रे केलिनले आफ्नो जिम्मेवारीबाट हटेको रुसले पुष्टि गरेको केही सातापछि ब्रिटिश प्रधानमन्त्रीले रुससँग युद्धरत देशको भ्रमण गर्न लागेका हुन्।

क्रेम्लिनले अझै लन्डनका लागि आफ्नो राजदूत नियुक्त गर्न बाँकी छ। यद्यपि रुसी दूतावासले दुई देशबीचको कूटनीतिक सम्बन्ध घटाउने आफ्नो कुनै उद्देश्य नभएको बीबीसीलाई बताएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।