मुक्त हुने बन्धकलाई 'पर्खँदै' इजरेली, घर फर्कने 'आशा'मा गाजावासी

तेल अभिभमा बन्धकहरूका लागि प्रार्थना गर्दै इजरेली महिलाहरू
तस्बिरको क्याप्शन, तेल अभिभमा बन्धकहरूका लागि प्रार्थना गर्दै इजरेली महिलाहरू
Published
पढ्ने समय: ६ मिनेट

इजरेलले हमाससँगको युद्धविराम सम्झौताअन्तर्गत आइतवार मुक्त हुने पहिला तीन बन्धकहरू प्राप्त गर्ने तयारी गरिरहेको छ।

शुक्रवार राति अबेरसम्मको छलफलपछि इजरेली मन्त्रिपरिषद्ले अन्तिम स्वीकृति दिएको उक्त सम्झौता कार्यान्वयन स्थानीय समयअनुसार आइतवार बिहान ८:३० बजेबाट सुरु हुनेछ।

अर्को छ सातासम्ममा हमासको कब्जामा रहेका तीन-तीन बन्धकहरूको सट्टामा एक हजार भन्दा बढी प्यालेस्टिनी बन्दीहरूलाई इजरेलले छाड्ने तयारी गरेको छ।

युद्धविराम लागु हुने समय नजिकिँदै जाँदा आफ्नो घरबाट विस्थापित भएर अस्थायी शिविरमा बसिरहेका प्यालेस्टिनीले आफूहरूमा घर फर्कने आशा जागेको बताएका छन्।

इजरेली के भन्छन्?

इडन परिवारको तस्बिरमा बीचमा बसेकी मायानको हत्या भएको थियो भने सबैभन्दा दायाँ बसेका साची इडनलाई हमासले बन्धक बनाएको थियो
तस्बिरको क्याप्शन, इडन परिवारको तस्बिरमा बीचमा बसेकी मायानको हत्या भएको थियो भने सबैभन्दा दायाँ बसेका साची इडनलाई हमासले बन्धक बनाएको थियो

यूकेमा बसोबास गर्ने एकजना इजरेली एडम मानिटसँग बीबीसी रेडियो फाइभ लाइभका सहकर्मीहरूले कुराकानी गरेका छन्।

उनका भाइ साची इडनलाई सन् २०२३ को अक्टोबरमा हमास लडाकुहरूले बन्धक बनाएर लगेका थिए।

उनले आफू र आफ्नो परिवार चिन्तित रहेको र आफूहरूले कुन बन्धक मुक्त भएर घर फर्किए भन्ने समाचार कुरिरहेको बताए।

इडनलाई हमास बन्दुकधारीले बन्धक बनाउनुअघि उनकी १८ वर्षीय छोरी मायानको हत्या पनि गरेका थिए।

मानिटले गत वर्ष हमासले जारी गरेको एउटा भिडिओमा इडन देखापरेका भए पनि त्यसपछि उनीबारे केही खबर प्राप्त नगरेको बताए। यद्यपि हमासले उनी मारिएको बताएको छ।

उनले बीबीसीसँग भने, "हामासले यो अवस्थामा कसरी व्यवस्थापन गरिरहेको छ भनेर तपाईँ कल्पना गर्न सक्नु हुन्छ। अहिले पनि हामीलाई बन्धकहरूमध्ये को जीवित छन् र को छैनन् भन्ने थाहा छैन।"

गाजावासी के भन्छन्?

रफाहबाट विस्थापित भएर अस्थायी शिविरमा बसिरहेका बिलाल अल-नहवानी युद्धविराम सम्झौतापछि घर फर्कने आशामा छन्
तस्बिरको क्याप्शन, रफाहबाट विस्थापित भएर अस्थायी शिविरमा बसिरहेका बिलाल अल-नहवानी युद्धविराम सम्झौतापछि घर फर्कने आशामा छन्

युद्धविराम कार्यान्वयनको समय नजिकिँदै गएका बेला खान युनिसस्थित अस्थायी शिविरमा बसिरहेका गाजावादीहरूले आफ्नो गृहनगरमा फर्कने आशा गरिरहेको समाचार संस्था रोएटर्सलाई बताएका छन्।

"हामी ईश्वरका नाममा के आशा गर्छौं भने आज युद्धको अन्तिम दिन हो," महमूद शेख आबेद भन्छन्।

उनले रफाहस्थित आफ्नो घर छाडेर अस्थायी शिविरमा आउनु परेको थियो।

यद्यपि उनी अझै पनि युद्धविराम अघि बढ्नेमा चिन्तित छन्। उनी भन्छन्, "आशा छ यस [सम्झौता]को उल्लङ्घन हुने छैन।"

रफाहकै बिलाल अल-नहवानी भन्छन्, "गाजाका मानिसहरू थाकेका छन्, भोकाएका छन्। प्रत्येक घरमा मानिसहरू शहीद भएका वा घाइते भएका वा नियन्त्रणमा लिइएका छन्। यो अति भइसक्यो, गाजाका मानिसहरूले धेरै पीडा भोगिसके।"

गजान तारेक जुम्लोटले भने, "हामी आशा गर्छौँ यो युद्धविराम वास्तविक हो र हामी जबलियास्थित हाम्रो घरमा फर्कनेछौँ अनि हाम्रा परिवार र साथीहरूको अवस्था थाहा पाउनेछौँ।"

इजरेलको अनुमोदन

इजरेली मन्त्रिपरिषद्

इजरेली मन्त्रिपरिषद्ले हमाससँग भएको युद्धविराम र बन्धक रिहाइसम्बन्धी सम्झौता अनुमोदन गरेसँगै आइतवारबाट त्यो कार्यान्वयनमा आउने बाटो खुलेको थियो।

इजरेल डिफेन्स फोर्सस (आईडीएफ)ले आइतवार बिहान ८:३० बजेबाट युद्धविराम कार्यान्वयनमा आउने पुष्टि गरेको छ।

शुक्रवार राती इजरेली मन्त्रिपरिषद्‌ले युद्धविरामसम्बन्धी निर्णय गर्नुअघि त्यसलाई अनुमोदन गर्न इजरेलको सुरक्षा क्याबिनेटले सरकारलाई सिफारिस गरेको थियो।

जसमा सम्झौताले "यस युद्धको उद्देश्य अन्तर्गतको उपलब्धीलाई साथ दिने" उल्लेख गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

दुईजना दक्षिणपन्थी मन्त्रीहरूले सम्झौताको विपक्षमा मतदान गरेका छन्।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको कार्यालयले जनाएअनुसार सम्झौता अनुमोदन भएसँगै पहिलो बन्धकहरूको रिहाइ निर्धारित योजनाबमोजिम आइतवारबाटै सुरु हुनेछ।

आइतवारबाटै रिहाइ हुन थाल्ने

गाजामा युद्धविरामा

सम्झौताअनुसार युद्धविरामको पहिलो दिन तीनजना बन्धकहरूलाई हमासले रिहा गर्ने अपेक्षा गरिएको इजरेलले जनाएको छ।

हमासनिकट एक स्रोतले एएफपी समाचार संस्थालाई बताए अनुसार सुरुमा छुट्ने ती मानिसहरू महिला हुनेछन्।

कतार, अमेरिका र इजिप्टले मध्यस्थता गरेको यस सम्झौता अनुसार पहिलो चरण झण्डै छ साता लामो हुनेछ।

जसक्रममा १५ महिनादेखि हमासको नियन्त्रणमा रहेका ३३ जना इजरेली बन्धकहरू चरणबद्ध रूपमा छुट्नेछन्। जसमा धेरैजसो महिला, बालबालिका र जेष्ठ नागरिकहरू हुनेछन्।

त्यसको साटो इजरेली जेलमा रहेका सयौँ प्यालेस्टिनी बन्धीहरू समेत छाडिनेछ। शुक्रवार इजरेलको न्याय मन्त्रालयले पहिलो आदानप्रदानका क्रममा छाडिने ९५ जना प्यालेस्टिनी बन्दीहरूको सूची सार्वजनिक गरेको थियो।

समाचार संस्था एएफपीका अनुसार त्यसमा ६९ जना महिला, १६ जना पुरुष र १० जना बालबालिकाहरू छन्।

दोस्रो र तेस्रो चरणमा के हुन्छ?

बुधवार युद्धविरामको घोषणा भएपछि पनि एक सयभन्दा धेरै प्यालेस्टिनीहरू मारिएको बताइएको छ
तस्बिरको क्याप्शन, बुधवार युद्धविरामको घोषणा भएपछि पनि एक सयभन्दा धेरै प्यालेस्टिनीहरू मारिएको बताइएको छ

युद्धविराम सुरु भएको १६औँ दिनमा दोस्रो चरणका लागि वार्ताहरू सुरु हुनेछन्।

दोस्रो चरणमा बाँकी सबै बन्धकहरू रिहा र गाजाबाट पूर्ण रूपमा इजरेली फौज फिर्ता हुनुपर्ने सम्झौतामा व्यवस्था गरिएको बताइएको छ।

त्यससँगै त्यहाँ "दिगो शान्ति ब्युँताउने" काम सुरु हुने बताइएको छ।

तेस्रो तथा अन्तिम चरणमा गाजा पुनर्निर्माणको कामहरू हुनेछ। त्यसका लागि वर्षौँ लाग्न सक्छ।

उक्त चरणमै त्यहाँ यदि बन्धक बनाइएकाहरूका शवहरू रहेमा त्यो समेत फिर्ता गर्ने कामहरू हुनेछ।

बीबीसी भेरिफाइको अध्ययन अनुसार हमाससँग अझै ९४ जना बन्धकहरू छन्। तीमध्ये ३४ जनाको मृत्यु भइसकेको हुनसक्ने ठानिएको छ।

चुनौती बाँकी

सम्झौताले हमासलाई फाइदा पुर्‍याउने भन्दै केही मन्त्रीहरूले राजीनामा दिने चेतावनी दिएका थिए।

यसअघि बिहीवार नै सुरक्षा क्याबिनेटको बैठक बस्न तय भए पनि नेतन्याहुले आफ्नो वचनबाट हमास पछि हटिरहेको भन्दै स्थगित गरेका थिए।

तर शुक्रवार बिहान हमासले युद्धविरामसम्बन्धी उत्पन्न अवरोधहरू हटेको बतायो।

"युद्धविराम सम्झौताका शर्तहरू मान्न कब्जाकारीहरूको विफलताका कारण उत्पन्न अवरोधहरू मध्यस्थकर्ताहरूको उदार प्रयासहरूबाट आज बिहानै हल भएको छ," हमासले एउटा वक्तव्यमा भनेको छ।

गाजासँग जोडिएको इजिप्टको सीमावर्ती भागमा सयौँको सङ्ख्यामा राहत बोकेका लरीहरू त्यहाँ जाने अनुमति पर्खिरहेका छन्
तस्बिरको क्याप्शन, गाजासँग जोडिएको इजिप्टको सीमावर्ती भागमा सयौँको सङ्ख्यामा राहत बोकेका लरीहरू त्यहाँ जाने अनुमति पर्खिरहेका छन्

अर्कोतर्फ इजरेलमा चरम दक्षिणपन्थी राष्ट्रवादीहरूले जेरुसलेममा प्रदर्शनहरू गरेका छन्।

इजरेली रक्षामन्त्रीले वेस्ट ब्याङ्कमा बस्ती बसाल्नेहरूविरुद्ध प्रशासनिक पक्राउ आदेश रद्द गरेका छन्।

बुधवार युद्धविराम र बन्धक रिहाइसम्बन्धी सम्झौता घोषणा भएयता इजरेली हमलामा परेर ३३ जना बालबालिकासहित १२० जनाभन्दा बढी प्यालेस्टिनीहरू मारिएका गाजास्थित हमासद्वारा सञ्चालित नागरिक प्रतिरक्षा निकायले जनाएको छ।

इजरेली राष्ट्रपति आइज्याक हर्ट्सोकले सम्झौताको स्वागत गरेका छन्। तर अगाडि चुनौतीहरू रहेको उनले बताएका छन्।

"राज्य र उसका नागरिकबीचको ठूलो वाचा पूरा गर्नेतर्फ यो एउटा महत्त्वपूर्ण कदम हो। यसभन्दा ठूलो नैतिक, मानवीय, यहुदी र इजरेली कर्तव्य अर्को छैन। हामीले हाम्रा सबै बन्धकहरूलाई घर फर्काउनैपर्छ," सामाजिक सञ्जाल एक्समा गरेको एउटा पोस्टमा उनले भनेका छन्।

युद्धविराम कहिलेसम्म

इजरेलमा बन्धकका परिवार र प्रियजनहरूले सम्झौताको पूर्ण कार्यान्वयन गर्न दबाब दिइरहेका छन्
तस्बिरको क्याप्शन, इजरेलमा बन्धकका परिवार र प्रियजनहरूले सम्झौताको पूर्ण कार्यान्वयन गर्न दबाब दिइरहेका छन्

छ साता लामो हुने युद्धविरामको पहिलो चरणमा तीनजना इजरेली बन्धकहरू छाडेपछि इजरेलले प्यालेस्टिनी बन्दीहरू समेत छाड्ने र केही क्षेत्रबाट इजरेली फौज फिर्ता हुने छ।

यदि सो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुने छन्। यो सम्झौताले प्यालेस्टिनीहरूसम्म थप सहायता पुग्ने बाटो खोलिदिने छ।

भविष्यमा गाजामा कसले शासन गर्नेछ भन्ने र के इजरेल त्यस भूभागबाट पूर्ण रूपमा बाहिरिनेछ भन्ने सवाललाई पछि सम्बोधन गरिने छ।

गाजा युद्धको क्षति

पुनर्निर्माणमा लामो समय लाग्न बताइन्छ

सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिण इजरेलमा गरेको अप्रत्याशित हमलामा १,२०० जनाको मृत्यु हुनुका साथै २५१ जना बन्धक बनाइएका थिए।

त्यसपछि हमासविरुद्ध इजरेलले सुरु गरेको प्रत्याक्रमणमा गाजामा ४६,८७६ भन्दा बढी मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरेली प्रधानमन्त्री नेतन्याहुको दल लिकुड पार्टीकै सदस्यलगायत कतिपय वामपन्थी नेताहरू सङ्घर्षविरामको विपक्षमा उभिएका बेला पछिल्लो सम्झौता भएको हो।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताले बन्धकहरूको रिहाइ, युद्धको अन्त्य, इजरेलको सुरक्षा र प्यालेस्टिनीहरूका लागि मानवीय सहायतामा अभिवृद्धि गराउने बताएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।