इजरेल र हमासबीच युद्धविराम सम्झौता, आइतवारबाट कार्यान्वयनमा आउने

गाजाबाट थुप्रै भग्नावशेष हटाउनुपर्ने बताइएको छ
Published
पढ्ने समय: ४ मिनेट

लामो प्रयासपछि इजरेल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ। यससँगै १५ महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ।

सम्झौताका लागि कतार र अमेरिकाले मध्यस्थता गरेका थिए। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीले युद्धविराम आइतवारबाट कार्यान्वयनमा आउने र त्यसबेलासम्म इजरेली मन्त्रिपरिषद्‍बाट यो स्वीकृत हुने तालिका रहेको बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरेली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहाइ समेटिएको जनाएका छन्।

यसैबीच, युद्धविराम सम्झौतालाई इजरेली मन्त्रिपरिषद्‌ले गर्ने भनिएको अनुमोदनमा ढिलाइ भएको छ।

तेलअभिभमा जम्मा भएका बन्धकहरूका समर्थक
तस्बिरको क्याप्शन, तेलअभिभमा जम्मा भएका बन्धकहरूका समर्थकले हमास नियन्त्रणमा रहेका प्रत्येकलाई फिर्ता ल्याउन माग गर्दै आएका छन्

गाजामा हवाई हमला, कम्तीमा '८१ जनाको मृत्यु'

गाजामा युद्धविराम घोषणा भएपछि इजरेलले गरेका हवाई हमलाहरूमा परी कम्तीमा ८१ जनाको मृत्यु भएको हमासले सञ्चालन गरेको नागरिक प्रतिरक्षा निकायले जनाएको छ।

मृतकमध्ये १९ बालबालिका र २४ महिला भएको उक्त निकायको दाबी छ। इजरेलले यसबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन।

यसअघि इजरेली प्रधानमन्त्रीले हमासले युद्धविराम सम्झौता पालना गर्न नखोजेको आरोप लगाएका थिए। तर हमासले आफू युद्धविराम सम्झौताका सबै सर्त लागु गर्न प्रतिबद्ध रहेको जनाएको छ।

युद्धविराम कहिलेसम्म

छ साता लामो हुने युद्धविरामको पहिलो चरणमा केही इजरेली बन्धकहरू छाडिने छ। त्यसको साटो इजरेलले प्यालेस्टिनी बन्दीहरू समेत छाड्ने र केही क्षेत्रबाट इजरेली फौज फिर्ता हुने छ।

यदि सो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुने छन्। यस सम्झौताले प्यालेस्टिनीहरूसम्म थप सहायता पुग्ने बाटो खोलिदिने छ।

भविष्यमा गाजामा कसले शासन गर्नेछ भन्ने र के इजरेल त्यस भूभागबाट पूर्ण रूपमा बाहिरिनेछ भन्ने सवाललाई पछि सम्बोधन गरिनेछ।

बीबीसी भेरिफाइको अध्ययन अनुसार हमाससँग अझै ९४ जना बन्धकहरू छन्। तीमध्ये ३४ जनाको मृत्यु भइसकेको हुनसक्ने ठानिएको छ।

अमेरिकी प्रतिक्रिया

बाइडन

राष्ट्रपति बाइडनले यस सम्झौता इजरेली बन्धकका परिवारमा लामो समयदेखि रहेको प्रतीक्षाको अन्त्य र प्यालेस्टिनीहरूलाई पुनर्स्थापनाको अवसर रहेको बताएका छन्।

उनले गाजावासीहरू भयानक अवस्थाबाट गुज्रिएको र अब उनीहरू हमासबाट मुक्त भएर बाँच्न सक्ने आशा गरेको बताएका छन्।

कार्यकालको अन्त्यमा रहेका बाइडनले यस सम्झौता आफूले यसअघि मे महिनामा अघि सारेकै ढाँचामा रहेको बताए।

अमेरिकी राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पले ह्वाइटहाउसले भन्दा अगाडि उक्त सम्झौता घोषणा गरेका थिए।

उनले त्यो आफ्नो राष्ट्रपतीय जितपछि मात्र सम्भव भएको बताए।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यस प्रयासका लागि भन्दै बाइडन र ट्रम्प दुवैलाई धन्यवाद दिएका छन्।

गाजामा हर्षोल्लास

खान यूनिसमा हर्षोल्लास
तस्बिरको क्याप्शन, युद्धविराम सम्झौताको खबरसँगै खान यूनिसमा मानिसहरूले खुसीयाली मनाएका छन्

सम्झौताको खबर फैलिएसँगै गाजाभरि हर्षोल्लास छाएको छ।

डेर अल-बलाह र खान यूनिसबाट प्राप्त तस्बिरमा मानिसहरू खुसीसाथ प्यालेस्टिनी झण्डा बोकेर नाराबाजी गरेको देखिन्छ।

इजरेली बन्धकहरूका परिवारहरू हर्ष र राहत महसुस गरेका छन्। उनीहरूले सम्झौता पूर्ण रूपमा कार्यान्वयन नहुने पो हो कि भन्ने चिन्ता समेत देखिन्छ।

बन्धक रिहाइको माग

इजरेली राष्ट्रपति आइज्याक हर्गजले सम्झौताका केही पक्ष "निकै पीडादायी" भए तापनि यो सही कदम भएको बताएका छन्।

हमासका मुख्य वार्ताकार खलिल अल-हयाले गाजामा थोपरिएको पीडाका लागि क्षमता नदिने बताएका छन्।

गाजा युद्धको क्षति

सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिण इजरेलमा गरेको अप्रत्याशित हमलामा १,२०० जनाको मृत्यु हुनुका साथै २५१ जना बन्धक बनाइएका थिए।

गाजा युद्ध

त्यसपछि हमासविरुद्ध इजरेलले सुरु गरेको प्रत्याक्रमणमा गाजामा ४७,००० भन्दा बढी मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको दल लिकुड पार्टीकै सदस्यलगायत कतिपय वामपन्थी नेताहरू सङ्घर्षविरामको विपक्षमा उभिएका बेला पछिल्लो सम्झौता भएको हो।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताले बन्धकहरूको रिहाइ, युद्धको अन्त्य, इजरेलको सुरक्षा र प्यालेस्टिनीहरूका लागि मानवीय सहायतामा अभिवृद्धि गराउने बताएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।