नेपालमा तारबार, भारतमा चिन्ता

wild elephants
तस्बिरको क्याप्शन, विद्युतीय तारबार लगाइएपछि नेपाली भूमिमा बर्सेनि जंगली हात्तीले पुर्याउंदै आएको क्षतिका घटनामा कमी आएको छ
    • Author, उमाकान्त खनाल
    • Role, संवाददाता, बीबीसी नेपाली सेवा
  • Published

नेपालको पूर्वी सीमावर्ती क्षेत्रको १८ किलोमिटर दुरीमा लगाइएको विद्युतीय तारबारका कारण जंगली हात्ती नेपाल पस्न नपाएको भन्दै भारतको पश्चिम बंगाल राज्य सरकारले आपत्ति जनाएको छ।

उसले आफ्नो केन्द्र सरकारलाई नेपालको सीमावर्ती क्षेत्रमा हात्तीको मार्ग खुलाउन नेपालसंग पहल गरिदिन आग्रह समेत गरेको पश्चिम बंगाल सरकारका वनमन्त्री विनयकृष्ण बर्मनले बीबीसीलाई बताए।

त्यस्तो आग्रहसहित औपचारिक पत्र समेत दिल्लीलाई लेखिएको बर्मनले जनाए।

चिन्ता

पश्चिम बंगालको सीमावर्ती जंगलबाट जंगली हात्तीका हुल करिब पाँच महिना अघिदेखि झापा बाहुनडांगी हुँदै नेपाल प्रवेश गर्न पाएका छैनन्।

बर्मनले भने,“जंगली हात्ती नेपाल पस्न नपाएपछि उत्तर बंगाल क्षेत्रमा हात्तीका हुलले विध्वंश मच्चाइरहेको छ । मान्छे मारेको छ । अन्नबालीमा क्षति पुर्याएको छ । नेपाल एउटा स्वतन्त्र मुलुक भएकाले हामी सिधै कुरा गर्न सक्दैनौ । त्यसैले हामीले केन्द्र सरकारसंग नेपालसंग कुरा गरिदिन अनुरोध गरेका हौं”।

wild elephants
तस्बिरको क्याप्शन, तारबारका कारण नेपाल छिर्न नपाएका जंगली हात्तीले आफ्नो भूभागमा क्षति पुर्याएको भन्दै भारतीय पक्षले आपत्ति जनाएको छ

हात्तीले छुँदा झट्का दिने विद्युतीय तारबार विश्व ब्यांकको सहयोगमा करिब एक करोड पचास लाख रुपैयाँको लागतमा बनेको हो ।

तारबारका कारण नेपाल पस्न नपाएपछि पश्चिम बंगालको सीमा क्षेत्रमा हात्तीले अत्यधिक दु:ख दिन थालेको उत्तर बंगाल क्षेत्रमा हात्तीको संरक्षणमा काम गर्ने राज बासु बताउँछन् ।

बासुले भने,“नेपालपट्टि तारबार लगाएपछि हात्ती त्यता जान पाएनन् । भारतपट्टि हात्तीले धेरै नोक्सान पुर्याइरहेको छ”।

पश्चिम बंगाल सरकार र हात्ती संरक्षणका अभियानकर्मीहरुको मागबारे बासुले भने, “हात्ती हिँडने बाटोका लागि कम्तीमा डेढ,दुई किलोमिटर क्षेत्र खुला राखिदिनुपर्यो”।

राहत

नेपालको वन तथा भू-संरक्षण मन्त्रालयका प्रवक्ता प्रेमनारायण कँडेलले भारत सरकारले उक्त तारबारका विषयमा अहिलेसम्म कुनै जानकारी नगराएको बताएका छन् ।

नेपाल सरकारले उक्त तारबारले नेपालका सीमावर्ती क्षेत्रका किसान तथा सर्वसाधारणलाई भारतपट्टिबाट आउने जंगली हात्तीको विध्वंशबाट राहत मिलेको बताउँदै आएको छ।

किसानहरु समेतले यसपालि अन्नबाली राम्ररी थन्क्याउन पाएको बताएका छन्।