टर्की-सिरिया भूकम्प: ‘यस्तो अवस्थामा डाक्टर हुनु भनेको सबैभन्दा गाह्रो कुरा हो’

सिरिया
Published

"यो बच्चाको आँखामा हेर्दा मेरो मन छोयो," डा. अहमद अल-मस्री भन्छन्, "किन हो त्यो त मलाई थाहा छैन, तर उसले मलाई हेर्नेबित्तिकै म रुन थालेँ।"

सोमवारको विनाशकारी भूकम्प गएको ३० घण्टाभन्दा बढी समय बितिसकेको थियो र उनी थाकेका थिए।

उनी र अर्का डाक्टरले विद्रोहीनियन्त्रित उत्तरपश्चिमी सिरियाको अफ्रिन सहरस्थित अस्पतालमा ल्याइएका सयौँ घाइतेहरूको उपचार गरिरहेका थिए।

त्यसैबेला सातवर्षे मोहम्मद अगिद आइपुगे। उनलाई भत्किएको घरको भग्नावशेषबाट निकालिएको।

उद्धारकर्ताले उनलाई आमा र भाइबहिनीसँगै मारिएका बाबुको शवछेउमै सुतिरहेको भेटेका थिए।

"जसरी केटाले हामीलाई हेरिरहेको थियो त्यो देखेर मलाई उसले हामीलाई विश्वास गरेको जस्तो लाग्यो। उसलाई थाहा थियो- अब ऊ सुरक्षित हातमा छ," डा. मस्रीले मसँगको जूम कलमा भने।

"तर मलाई पनि के लाग्यो भने ऊसँग धेरै शक्ति छ जस्तो उसले आफ्ना चोटलाई पीडामा समातिरहेको थियो। सात वर्षको बच्चालाई केले यति बलियो बनाउँछ?"

डा. मस्री अल-शिफा अस्पतालमा कार्यरत शल्यचिकित्सक हुन्।

उक्त स्वास्थ्य केन्द्रलाई सिरियन अमेरिकन मेडिकल सोसाइटी (एसएएमएस) नामक एक परोपकारी संस्थाले सहयोग गरेको छ।

उनले विपद्लगत्तै २०० भन्दा बढी बिरामी अस्पतालमा आएको बताए। उद्धारकर्ताहरूले ल्याएका अर्का बाँचेका एक बालक मात्र १८ महिनाका थिए।

डा. मस्रीले उनलाई जाँचे र उनी ठिक भएको पुष्टि गरे। तर त्यसपछि त्यो बालकका आमाबुवा ऊसँग नभएको उनले महसुस गरे।

"अचानक मैले उसको बुबा दगुर्दै र उसलाई समातेर रोइरहेको देखेँ," उनी भन्छन्।

सिरिया

"ती व्यक्तिले परिवारमा उक्त बच्चा मात्र बाँचेको बताए। परिवारका अरू सदस्यको शव अस्पतालको सुताइएको थियो।"

डा. मस्रीका अनुसार एकैपटक व्यापक मात्रामा बिरामी आइपुग्दा अस्पतालका कर्मचारीहरू विपत्तिको मात्रा देखेर छक्क परेका थिए।

उनले भने, "भूकम्पले यति धेरै क्षति पुर्‍याउन सक्छ र यसरी बिरामीको सङ्ख्या बढ्न सक्छ भन्ने मैले कल्पना पनि गरेको थिइनँ।"

दुर्भाग्यवश उनलाई ठूला घटनाहरू सामना गर्ने बानी परेको छ।

सन् २०१३ मा उनी फील्ड अस्पतालमा काम गर्दै गरेका बेलामा स्नायुप्रणालीमा असर गर्ने सरीन ग्यास भरिएका रकेटहरू राजधानी दमास्कसका धेरै विद्रोहीनियन्त्रित उपनगरहरूमा प्रहार गरिए।

सयौँ मानिसको ज्यान गयो भने हजारौँ घाइते भए।

डाक्टर मस्री
तस्बिरको क्याप्शन, डाक्टर मस्री

"त्यस बेला हामी यस्ता घटनाका लागि डाक्टरको रूपमा तालिमप्राप्त र तयार थियौँ," डा. मस्री भन्छन्। "हामी आफूलाई छिट्टै व्यवस्थित गर्न सक्षम थियौँ। तर अहिलेको अवस्थाका लागि हामी तयार थिएनौँ। यो धेरै खराब अवस्था हो।"

सोमवारको भूकम्पपछि अफ्रिनमा उनी र उनका सहकर्मीले सुरुमा सामान्य घाइते देखिएका बिरामीहरूलाई उपचार गरे। "ती चोट खासै गम्भीर छैनन् जस्तो लाग्छ तर कसैकसैका हात वा खुट्टाका अङ्ग काट्नुपर्ने हुन्छ," उनी भन्छन्।

"हाम्रा अस्पतालमा यस प्रकारको प्रकोपसँग जुझ्न सक्ने क्षमता छैन।"

"यस्ता परिस्थितिमा डाक्टर बन्नु सबैभन्दा नराम्रो कुरा हो। तपाईँ बिरामीलाई बचाउन वा कसैको पीडा कम गर्न असमर्थ हुनुहुन्छ भने त्यो सबैभन्दा नराम्रो कुरा हो। त्यो तपाईँले महसुस गर्न सक्नुहुन्छ।"

सात वर्षका बालक
तस्बिरको क्याप्शन, सात वर्षका बालक

बिजुली आपूर्ति र इन्टरनेट दुवै नभएकाले बिरामीको उपचार गर्दा आफ्नै परिवार सुरक्षित छ कि छैन भन्ने पनि थाहा नभएको उनले बताए।

उनका आमाबुवा र भाइबहिनीहरू अस्पतालबाट केही सय मिटर टाढा बस्छन् तर उनकी श्रीमती र बच्चाहरू सीमापारि दक्षिणी टर्कीको सहर गाजियान्टेपमा बस्छन्।

त्यो क्षेत्र भूकम्पको केन्द्रबिन्दुनजिक रहेकाले नराम्ररी प्रभावित भएको छ।

उनी भन्छन्, "यस्ता सङ्कटका बेलामा तपाईँले अनुभूत गर्ने सबैभन्दा नराम्रो अनुभूति तपाईँको परिवार र प्रियजनहरू सकुशल छन् कि छैनन् भनेर थाहा नहुनु हो।"

"हामीले दुईवटा आँखाले दुईटा काम गर्दै बिरामीलाई हेरिरहेका थियौँ- एउटाले उनीहरूको चोटको मूल्याङ्कन गरिरहेको हुन्थ्यो भने अर्कोले बिरामीका परिवारको सदस्य छ कि छैन भनेर हेरिरहेको हुन्थ्यो।"

मस्रीका सम्पूर्ण परिवार सकुशल रहेको आश्वासन दिन उनका भाइ अस्पताल पुगेपछि उनी केही ढुक्क भए। त्यसपछि उनले अस्पतालमा केही समय आराम पनि गरेका थिए।

त्यसपछि डा. मस्रीले काम छोडेर आफ्नो परिवारसँग बिहानको खाजा खान सफल भए।

उनी आशा गर्छन् अन्ततः उनी आफ्नी श्रीमती र बच्चाहरूलाई गाजियान्टेपमा भेट्न जान सक्नेछन्।

उनी भोलिपल्ट पनि मोहम्मदलाई जाँच गर्न गए र त्यो सातवर्षे बालकलाई उसले उनलाई चिन्यो कि चिनेन भनेर सोधे।

"तपाईँ मेरो जीवन बचााउने डाक्टर त हो नि," मोहम्मदले जबाफ दिए।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, आमाको शवसँग नाभी जोडिएकी नवजात शिशु फेला परिन्
भिडिओ क्याप्शन सुरु हुँदैछ, भत्किएको भवनको भग्नावशेषबाट यसरी जीवितै उद्धार गरियो