सालनालसहित भग्नावशेषमुनि फेला परेकी बालिका पाल्न हजारौँ मानिस इच्छुक

अया अहिले अस्पतालमा छिन्
तस्बिरको क्याप्शन, भूकम्पले घर भत्किँदा परिवारका अन्य सदस्यको मृत्यु भए पनि भर्खर जन्मिएकी यी बालिका भने जीवितै फेला परेकी थिइन्
Published

पश्चिमोत्तर सिरियामा सोमवार विनाशकारी भूकम्पपछि भत्किएको एउटा भवनको भग्नावशेषमुनि जन्मिएकी एक बालिकालाई धर्मपुत्रीका रूपमा पालनपोषण गर्न हजारौँ मानिस अघि सरेका छन्।

जेन्देअरिस सहरमा उद्धारकर्मीहरूले उनलाई फेला पार्दा ती नवजात शिशुको नाभी उनको आमाको शरीरमा गाँसिएकै अवस्थामा थियो। उनका आमा, बुबा र चार दाजुहरूको मृत्यु भयो।

ती बालिकाको नाम अया' राखिएको छ। त्यसको अर्थ अरबी भाषामा 'चमत्कार' हुन्छ।

जन्मिनेबित्तिकै ठूलो वियोग खप्न बाध्य ती शिशु अहिले अस्पतालमा छिन्।

"उनी सोमवार यस्तो नराम्रो अवस्थामा आइपुगेकी थिइन् कि उनीलाई चोटपटक लागेको थियो, घाउहरू थिए। उनको शरीर चिसो थियो र उनलाई सास फेर्न गाह्रो भइरहेको थियो," बालरोग विशेषज्ञ हानी मारुफले भने।

अहिले उनको अवस्था स्थिर छ।

उद्धारको भिडिओ भाइरल

अयाको उपचारमा संलग्न चिकित्सक

अयाको उद्धारको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडिओमा एक व्यक्ति हातमा धुलोमा लतपत नवजात शिशु बोकेर भग्नावशेषमाथि कुदिरहेको देखिन्छ।

उनको नाम खलिल अल-सुवादी हो। उनी ती बालिकाका टाढाका नातेदार हुन्।

घरको भग्नावशेषमा ती बालिकालाई जीवितै उद्धार गरिँदा उनी त्यहाँ उपस्थित थिए।

उनले नै ती बालिकालाई अफ्रिनस्थित डा. मारुफ कार्यरत अस्पतालमा लगेका हुन्।

सामाजिक सञ्जालमा हजारौँ मानिसले उनको पालनपोषण गर्ने इच्छा व्यक्त गर्दै ती बालिकाको विवरण मागेका छन्।

"म उनलाई पाल्न चाहन्छु र उनलाई उपयुक्त जीवन दिन चाहन्छु," एक व्यक्तिले भने।

red line
red line
 जेन्देअरिस

डाक्टरकी श्रीमतीले गराउँछिन् स्तनपान

एक कुवेती टेलिभिजन प्रस्तोताले भने, "कानुनी प्रक्रियाले मलाई अनुमति दिन्छ भने म यी बालिकाको हेरचाह गर्न र उनलाई धर्मपुत्री बनाउन तयार छु।"

अस्पतालका प्रबन्धक खालिद अत्तियाले अयालाई पाल्न चाहने संसारभरिका कैयौँ मानिसले आफूलाई फोन गरेको बताएका छन्।

डा. अत्तियाले भने, "अहिले म कसैलाई पनि उनलाई धर्मपुत्री बनाउन दिनेछैन। उनका टाढाका नातेदारहरू नआएसम्म म उनलाई आफ्नै छोरीलाई जस्तै व्यवहार गर्छु।" उनकी छोरी ती बालिकाभन्दा चार महिना जेठी छिन्।

अहिलेको लागि उनकी श्रीमतीले उनलाई आफ्नै छोरीसँगै स्तनपान गराइरहेकी छिन्।

अयाको गृहनगर जेन्देअरिसमा मानिसहरूले भत्किएका भवनहरूमा अझै पनि आफ्ना प्रियजनहरूको खोजी गरिरहेका छन्।

रेड लाइन
रेड लाइन

के छ उत्तरी सिरियाको अवस्था

त्यहाँका एकजना पत्रकार मोहम्मद अल-अदनानले बीबीसीलाई भने, "स्थिति विपत्तिपूर्ण छ। भग्नावशेषमुनि धेरै मानिसहरू छन्। हामीले अझै उनीहरूलाई बाहिर निकाल्न सकेका छैनौँ।"

उनका अनुसार सहरको ९० प्रतिशत भाग ध्वस्त भइसकेको छ र अहिलेसम्म धेरैजसो सहयोग स्थानीय बासिन्दाबाट मात्र प्राप्त भएको छ।

टर्की र सिरियमा आएका दुई ठूला भूकम्प

सिरियाको गृहयुद्धको क्रममा एक दशकभन्दा बढी समयदेखि मानिसहरूलाई भग्नावशेषबाट बाहिर निकाल्ने कुरामा पोख्त ह्वाइट हेल्मेट सङ्गठनका उद्धारकर्ताहरूले जेन्देअरिसमा सहयोग गरिरहेका छन्।

"भवनको अस्थिर अवस्थाका कारण उद्धारकर्ताहरू पनि पीडित बन्न सक्छन्," मोहम्मद अल-कामेलले भने।

"हामीले भर्खरै यो भग्नावशेषबाट तीनवटा शव निकाल्यौँ र हामीलाई लाग्छ त्यहाँ एउटा परिवार अझै जीवित छ। हामी काम निरन्तर काम गरिरहनेछौँ" उनले भने।

भूकम्प गएको स्थान कसको नियन्त्रणमा

सिरियामा भूकम्पका कारण ३,३०० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ।

यो विवरणमा देशको विद्रोही-नियन्त्रित क्षेत्रमा मृत्यु भएकाहरूलाई समावेश गरिएको छैन।

संयुक्त राष्ट्रसङ्घले भूकम्पका कारण कति क्षति पुग्यो भन्ने अझै स्पष्ट भइनसकेको भन्दै उद्धार ढिलो हुँदा दोस्रो विपत्ति निम्तिन सक्ने र थप मानिसहरूको मृत्यु हुन सक्ने चेतावनी दिएको छ।

संयुक्त राष्ट्रसङ्घले पठाएको मानवीय सहायता बिहीवार पहिलो पटक इड्लिबस्थित बब अल-हवाको सीमा पार गर्दै पश्चिमोत्तर सिरियामा पुगेको छ।

सिरियाली सेनाको नियन्त्रणमा रहेका क्षेत्रमा प्रवेश नगरी भूकम्पबाट प्रभावित क्षेत्रमा राष्ट्रसङ्घीय सहायता पठाउने त्यो मात्र एउटा मार्ग हो।