नवौँ राष्ट्रिय खेलकुद: सेना च्याम्पियन, अब आयोजक बन्ने पालो कर्णालीको

तस्बिर स्रोत, National Sports Council
- Author, निरञ्जन राजवंशी
- Role, पोखरा
- Published
प्राय: सबै खेलमा वर्चश्व जमाउँदै नेपाली सेना नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको च्याम्पियन बनेको छ।
सातौँ र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि विजेता बनेको सेनाले गण्डकी प्रदेशमा आयोजित प्रतियोगिताको सुरुको दिनदेखि नै अग्रता लियो र त्यसलाई समापनको दिनसम्म कायमै राख्यो।
प्रतियोगिताको अन्तिम फाइनल खेलको रूपमा राखिएको फुटबल जितेर सेनाले च्याम्पियन बन्ने शैलीलाई सुन्दर रूपमा अन्त्य समेत गर्यो।
सेनाले कुल १७२ स्वर्णसहित ३७० वटा पदक जितेको छ।
निकटतम प्रतिद्वन्द्वी नेपाल पुलिससँग उसको स्वर्ण अन्तर १०० भन्दा बढी छ।
बरु दोस्रो र तेस्रो स्थानको लागि भएको खेलमा सशस्त्र प्रहरी बल एपीएफ र नेपाल पुलिसबीच कडा टक्कर चलेको थियो।
कुल ३६ खेलमा ४०४ पदकको लागि भएको नवौँ राष्ट्रिय खेलकुद प्रतिस्पर्धा समग्रमा केही प्रशंसा, थुप्रै आलोचना, केही नरमाइला दुर्घटना अनि केही खेलाडीहरूको सफलताको मिठासमाझ सम्पन्न भएको छ।
थापाको सम्झना
नवौँ राष्ट्रिय खेलकुदलाई सबैभन्दा पहिले प्याराग्लाइडिङ खेलाडी निसिम थापाको दुखद निधनको लागि सम्झिइनेछ।
नेपाली सेनाका खेलाडी निसिमले प्रतिस्पर्धाको क्रममा दुर्घटनामा परी ज्यानै गुमाए।

तस्बिर स्रोत, National Sports Council
राष्ट्रिय खेलकुदको ४१ वर्षको इतिहासमा खेलको क्रममा खेलाडीको निधन भएको यो पहिलो घटना थियो।
यो दुर्घटनापछि प्याराग्लाइडिङको स्पर्धा मात्र रोकिएन, प्याराग्लाइडिङ उडानलाई नै देशभरि अनिश्चितकालका लागि रोकिइएपछि छनोट चरणका खेललाई नै आधिकारिक खेलमा परिणत गर्नुपर्ने स्थिति बन्यो।
थापालाई मानार्थ स्वर्ण पदक प्रदान गरियो र उनको अर्धकदको मूर्ति पोखरा रङ्गशालामा राख्ने निर्णय आयोजक राष्ट्रिय खेलकुद परिषद्ले गर्यो।
प्रतिस्पर्धा
राष्ट्रिय खेलकुदको प्रतिस्पर्धा मुख्यत: विभागीय टोलीका खेलाडीहरूबीच नै हुँदै आएको छ।
यसपाली पहिलोपटक प्रादेशिक संरचनामा प्रतियोगिताको आयोजना गरिएको थियो, जसमा सहभागी ११ टोली (७ प्रदेश, ३ विभाग, १ एनआरएनए ) भएको प्रतिस्पर्धामा सेनाले पदक तालिकामा फराकिलो फड्को मार्दा कर्णाली प्रदेशले भने पदकको लागि निकै संघर्ष गर्नुपर्यो।
च्याम्पियन सेनाले एथलेटिक्स र पौडी जस्ता पदकको थुप्रो भएको खेलदेखि बक्सिङ, जुडो, फेन्सिङ, शारीरिक सुगठन जस्ता खेलहरूमा पदक थुपार्यो।
कर्णाली २ स्वर्ण सहित १८ पदक जितेर तालिकाको पुछारमा रह्यो।
सेनापछि नेपाल प्रहरी र एपीएफबीच दोस्रो स्थानका लागि कडा टक्कर चलेको थियो। त्यसमा एपीएफले प्रहरीलाई उछिन्दै दोस्रो स्थान हात पारेको छ।

तस्बिर स्रोत, National Sports Council
विभागपछि प्रदेशहरूबीचको प्रतिस्पर्धामा गण्डकीले बाजी मार्दै आयोजक प्रदेशको सान राख्यो।
चिर परिचित प्रतिद्वन्द्वी मानिएको वाग्मती प्रदेश पाँचौँ स्थानमा रह्यो।
गैर आवासीय नेपाली टोली एनआरएन ले १० स्वर्ण जितेर आफ्नो इज्जत कायम नै राख्यो।
चर्चित खेलाडीहरू
नेपाली सेनाकी डुवाना लामाले ९ स्वर्ण जितेर पौडीमा सनसनी मच्चाइन्।
एनआरएनएकी खेलाडी एस्ली डंगोल सापकोटाले ६ स्वर्ण जितेर पौडीकी उदियमान प्रतिभाको रूपमा परिचय बनाइन्।
एथलेटिक्समा जयरानी थारुले खेलेको ५ वटै प्रतिस्पर्धामा स्वर्ण जितेर ट्रयाक एण्ड फिल्डमा छाइन्।
शिवराज पार्कीले ३ स्वर्ण जितेर ट्रयाकमा उत्कृष्ट खेलाडीको छाप छोडेका छन्।

तस्बिर स्रोत, NAtional Sports Council
एपीएफकी प्रशिक्षक प्रमिला रिजाल भन्छिन्, "पोखराको यो ट्रयाकमा बनेको थुप्रै कीर्तिमान् र उदाएका प्रतिभाहरूले नवौँ राष्ट्रिय खेलकुदलाई अविस्मरणीय बनाएको छ।"
भारोत्तोलनकी तारादेवी पुनले लगातार छैटौँ पटक राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै बनाएको राष्ट्रिय कीर्तिमान् एउटा अविस्मरणीय उपलब्धि मध्येको एक थियो।
पच्चिस वर्षको अन्तरमा ६ वटा राष्ट्रिय खेलकुदमा भाग लिएपछि प्रहरीकी यी खेलाडीले भनिन्, "अझै खेलुँखेलुँ लागिरहेको छ। ज्यानले थकाइ मार्न मानेकै छैन।"
समग्रमा नवौँ राष्ट्रिय खेलकुद मैदान सात वर्षीया ऋतिका बुमी जस्ता नयाँ खेलाडीहरूको लागि नयाँ मञ्च बन्यो भने ६१ वर्षीय स्क्वास खेलाडी धनबहादुर घले जस्ता भेट्रान खेलाडीहरूको लागि पनि अनुभव बिसाउने थलो बनेको देखियो।
अव्यवस्थापन
पूर्वाधारको अभाव, खेल सामग्रीको कमी, भद्रगोल व्यवस्थापन, जिम्मेवार पदाधिकारीहरूको लापरबाही जस्ता विषय विगतका बृहत् खेलकुद प्रतियोगिताहरूमा देखिँदै आएको समस्या थियो।
गण्डकी प्रदेशको यो नवौँ संस्करणमा पनि यी विषयहरूले निरन्तरता पायो।
खेलाडीहरूले पोसाक लगाउन नपाउने, मैदान खेल्न लायक नहुने जस्ता नमिठो घटनासँगै खेलाडीहरूले पदक लगाउन नपाएको विषयले यसपाली पनि चर्चा पायो।
त्यसमा यसपाली थपिएको विषय चाहिँ आयोजक राष्ट्रिय खेलकुद परिषद् र आयोजनास्थल गण्डकी प्रदेशका पदाधिकारीहरू बीचको समन्वय अभाव रह्यो।
जिम्मेवारी बाँडफाँटको विषयमा एक अर्को पदाधिकारीहरूबीच देखिएका समन्वयको खाडलले प्रतियोगितालाई प्रभाव पार्यो।
फलत: नवौँ राष्ट्रिय खेलकुदलाई गण्डकी प्रदेशले आत्मियताका साथ नलिएको धेरैले अनुभव गरे।
खालीखाली मैदानले नवौँ राष्ट्रिय खेलकुदलाई जिस्काइरहेको देखियो।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले खेल पत्रकारहरूसँग भने, "सबै पक्षको जिम्मेवारी स्पष्ट थियो। यद्यपि नवौँ राष्ट्रियमा गण्डकीबाट हामीले सबैभन्दा बढी साथ पाएको खेल पत्रकारहरूबाट हो।"
अब कर्णालीको पालो
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने राष्ट्रिय खेलकुद परिषद्को पोखरामा बसेको बोर्ड बैठकले तय गरिसकेको छ।
समापन समारोहमा कर्णाली प्रदेशले १० औँ राष्ट्रियको आयोजनाको झण्डा लिइसकेको छ।
विसं २०८१ सालको मंसिर महिनामा खेल हुने तय गरिएको छ।
त्यसका निम्ति पूर्वाधार निर्माणको काम धमाधम हुन थालेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ।
परिषद्का सदस्यसचिव विश्वमित्र सञ्ज्याल भन्छन्, "हामीले नवौँलाई नजिकबाट नियाल्यौँ। यसमा भएका कमी कमजोरीलाई दशौँ अध्यायमा सच्च्याएर आयोजना गर्छौं। केन्द्रीय सरकार र प्रदेश सरकारको समन्वयमा हामीले कर्णाली प्रदेशका जनताहरूको साथसहित बृहत् खेलको आयोजना गर्नेछौँ।"




















