दोस्रो राष्ट्रिय खेलकुदको संस्मरण: 'भित्तामा अभ्यास गरेर राष्ट्रिय खेलमा सहभागी'

टेनिस खेलाडी

तस्बिर स्रोत, Bishwa Shakya

तस्बिरको क्याप्शन, २०३५ सालतिर पृथ्वीनारायण क्याम्पसको टेनिस कोर्टमा खेल्ने खेलाडीहरूको फोटो (लेखक बायाँबाट पाँचौँ स्थानमा)
    • Author, नारायण कार्की
    • Role, पोखरा
  • Published

अहिले नवौँ राष्ट्रिय खेलकुदका निम्ति पर्यटकीय नगरी पोखराको सुन्दर मौसममा देशभरिबाट आएका खेलाडीहरूबीच ३६ वटा खेलमा श्रेष्ठता प्रदर्शनका लागि प्रतिस्पर्धा भैरहेको छ।

दोस्रो राष्ट्रिय खेल प्रतियोगिता पोखरामा भएको झन्डै चार दशकपछि नवौँ राष्ट्रिय खेल प्रतियोगिताको चहलपहल छ पोखरामा।

म यसपटक पत्रकारको हैसियतले पोखरामा जारी खेल प्रतियोगितामा नजर लगाइरहेको छु भने चार दशकअघिको खेल प्रतियोगितामा खेलाडीको हैसियतमा सहभागी भएको स्मरण पनि ताजा भैरहेको छ।

त्यतिखेर मैले लन टेनिस प्रतिस्पर्धामा लुम्बिनी अञ्चलको प्रतिनिधित्व गर्दै भाग लिने अवसर पाएको थिएँ।

काठको र्‍याकेटले भित्तामा अभ्यास

भाग लिने त भइयो।

त्यतिबेला बुटवल भैरहवातिर टेनिस कोर्ट नै थिएन।

पोखरामा राष्ट्रिय समाचार समितिमा काम गर्दा ३५।३६ सालतिर लन टेनिस खेल्ने अवसर पाएको थिएँ।

यसबीचमा म पोखराबाट बुटवल सरुवा भएँ।

काठको र्‍याकेट किनेर पृथ्वीनारायण क्याम्पसमा पोखराका साथीभाइहरूसँग खेलेको आधारमा लुम्बिनी अञ्चलबाट लन टेनिसमा प्रतिनिधित्व गर्ने गरी छनोट भयो।

टेनिस कोर्ट नै नभएपछि बुटवलस्थित इन्द्र राज्यलक्ष्मी विद्यालयमा पढाइ नभएको मौका छोपी भित्तामा बल हानेर अभ्यास गरेको रमाइलो अनुभव मैले सँगालेको छु।

तीस-बत्तिस वर्षको उमेरमा टेनिस खेल्ने स्व-अभ्यास गरी प्रतियोगिताअघि भित्ते खेल खेलेर आएको मैले नेपालका तत्कालीन नम्बर एक खेलाडी कृष्ण घलेसँग पहिलो चरणमै प्रतिस्पर्धा गर्दा भएको हारलाई नितान्त स्वाभाविक रूपमा लिएँ।

हारजितभन्दा राष्ट्रिय खेलमा सहभागिता मेरा लागि गौरवको विषय थियो।

लुम्बिनीका खेलाडीको आवास व्यवस्था गरिएको पृथ्वीनारायण क्याम्पसमा सुतेर क्याम्पसकै मैदानमा टेनिस खेलेको त्यो क्षणलाई म कहिल्यै भुल्न सक्दिनँ।

त्यो बेला र यो बेला

यो चार दशकको अवधिमा सेती नदीबाट जलश्रोत निरन्तर बगेर सागर महासागरमा मिसिएको छ। त्यही सेती नदीको किनारमा रहेको पोखरा रङ्गशालाभित्र लन टेनिसको भव्य कम्प्लेक्स छ जहाँ एउटा होइन ७ वटा टेनिस मैदानहरू निर्माण भएका छन्।

पोखरा रङ्गशालाको टेनिस कोर्ट
तस्बिरको क्याप्शन, नवौँ राष्ट्रिय खेलकुदका बेला प्रयोग भएको पोखरा रङ्गशालाको टेनिस कोर्ट

कहाँ दोस्रो राष्ट्रिय खेलकुदमा माटो, ईंटा र सिमेन्टमिश्रित एक्लो कोर्ट कहाँ राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भैरहेको प्यारापिटसहितको टेनिस खेल मैदान।

राष्ट्रिय खेलकुद परिषद्ले छुट्याएको करिब २० रोपनी जमीनमा कास्की जिल्ला टेनिस संघले जनस्तरबाट दशौँ लाख रुपैयाँ सहयोग जुटाएर अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक ६ वटा क्ले र एउटा हार्ड कोर्ट निर्माण भएको छ।

सरकारले पनि यसमा भरथेग गरेको छ।

माछापुच्रछ्रेको काखमा टेनिस कम्प्लेक्सको अवस्थिति हेरेर विदेशी खेलाडीहरू मन्त्रमुग्ध हुने गरेका छन्।

इन्टरन्याशनल टेनिस फेडरेशन आइटिएफले मान्यता दिएपछि यो मैदानमा १८ र १४ वर्षमुनिका थुप्रै देशका खेलाडीहरू आइटिएफ प्रतियोगितामा सहभागी हुँदै आएका छन्।

टेनिस खेलको लामै परम्परा भएका कारण पोखराले टेनिसका उत्कृष्ट खेलाडी तयार गरिरहेको छ।

नवौँ राष्ट्रिय खेलमा पनि टेनिसका केही स्पर्धामा गण्डकी प्रदेशले स्वर्ण सहितका पदकहरू जितेको छ।

वर्तमानमा नेपालका नम्बर एक खेलाडी पनि पोखराकै छन्।

पोखरा रङ्गशाला

तस्बिर स्रोत, RSS

पोखरा रङ्गशालाको विकास

पोखरा रङ्गशालामा १६ हजार दर्शक क्षमताको भव्य प्यारापिट, एथलेटिक्सका खेलहरूका लागि टर्फसहितको स्तरीय ट्रयाक एन्ड फिल्ड सरकारी स्तरमा निर्माण भएको छ।

करिब ४०० रोपनी जमीनमा फैलिएको रङ्गशालाको संरक्षणकालागि नेपाल भूतपूर्व खेलाडी मञ्चको संयोजनमा देशविदेशबाट करिब १ करोड रुपैयाँ सहयोग जुटाएर पक्की पर्खाल निर्माण गरिएपछि मात्र खुला चरन क्षेत्र रहेको रङ्गशालाको निर्माणले गति लिएको खेलाडीहरू स्मरण गर्छन्।

नवौँ राष्ट्रिय खेलकुदका ३६ प्रतियोगितामध्ये १५ वटा रङ्गशालाभित्रै हुनु आफैँमा एउटा उपलब्धि हो।

अझै पनि रङ्गशालाभित्र खुला जमीन रहेको हुँदा पौडी लगायतका खेलकुदको पूर्वाधार विकास गर्न सकिन्छ।

पौडी पोखरीको अभावमा अहिलेको पौडी प्रतियोगिता एउटा निजी विद्यालयको पोखरीमा गर्नुपर्‍यो।

भएका पूर्वाधारको राम्ररी व्यवस्थापन गर्न नसकिएका र खेल व्यवस्थापनमा पनि थुप्रै कमी कमजोरी देखिएका छन्।

तैपनि २०४० साल र अहिलेको पूर्वाधारमा तुलना गर्दा आनकोतान विकास भएको छ।

त्यतिबेला २१ खेल खेलाइएको थियो भने अहिले ३६ वटा खेलकुद समावेश भएका छन्।

राष्ट्रिय खेलकुदले नियमितता पाएको छैन।

नियमितता दिने सरकारको दायित्व हो।

खेलकुदमा अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन नियमित र स्तरीय प्रशिक्षण, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, अनि खेलाडीलाई जीवन निर्वाह भत्ता आवश्यक छ भन्ने मलाई लाग्छ।

खेलकुदले अनुशासित, स्वस्थ्य र चरित्रवान नागरिक तयार गर्न मद्दत पुग्ने हुँदा खेलकुदको लगानीलाई अनुत्पादक नठानी बढाउनु पर्ने पनि मलाई लाग्छ।