जेम्स वेब टेलिस्कोपः घेरा र चन्द्रमाहरू पनि देखिने वरुण ग्रहको अद्भुत तस्बिर

वरुण ग्रह
तस्बिरको क्याप्शन, तीन दशकपछि पहिलो पटक जेम्स वेबले खिचेको तस्बिरमा वरुण ग्रहको संरचना विस्तारमा देखिएको छ
    • Author, जोनाथन एमस
    • Role, बीबीसी विज्ञान संवाददाता
  • Published
  • पढ्ने समय: २ मिनेट

गत वर्ष अन्तरिक्षमा प्रक्षेपण गरिएको अतिशक्तिशाली अन्तरिक्ष टेलिस्कोप जेम्स वेबले नेप्च्यून अर्थात् वरुण ग्रहको अद्भुत तस्बिर पठाएको छ।

सन् १९८९ मा भोइजर टू प्रोब उक्त ग्रहनजिकैबाट उडेको थियो। त्यसपछि पहिलो पटक अहिले जेम्स वेब अब्जर्भेटरीका इन्फ्रारेड उपकरणहरूले वरुण ग्रहको संरचनालाई विस्तारपूर्वक देखाइदिएका छन्।

वरुण ग्रहमा ठूलो मात्रामा बरफ थुप्रिएको छ। अहिले प्राप्त तस्बिरमा उक्त हिमाच्छादित विशाल ग्रहवरिपरि रहेका घेरा र धुलोका धर्साहरू देख्न सकिन्छ।

तस्बिरमा बादलका विभिन्न खालका संरचनाहरू देखेर वैज्ञानिकहरू चकित भएका छन्।

त्यस्ता संरचनाहरूले वरुण ग्रहको वायुमण्डलबारे केही नौलो कुरा खुलाउन सक्ने अपेक्षा गरिएको छ।

तस्बिरमा उक्त विशाल ग्रहबाहेक त्यसका १४ वटा मध्येका सातवटा चन्द्रमा छन्। तीमध्ये ट्राइटन सबैभन्दा विशेष छ।

ट्राइटन किन ताराजस्तो चम्किलो?

जेम्स वेबको तस्बिरमा ट्राइटनलाई ताराजस्तो देखिन्छ।

मीथेन अब्सोर्प्शन अर्थात् अवशोषणका आधारमा उक्त टेलिस्कोपले दृश्य खिच्छ। इन्फ्रारेड वेभलेन्थमा वरुण ग्रह अन्धाकारमा पर्न जान्छ।

तर ट्राइटनको हिउँयुक्त सतहबाट औसतमा सूर्यको ७० प्रतिशत प्रकाश परावर्तित हुन्छ।

त्यसो हुँदा ट्राइटन निकै चम्किलो देखिन्छ।

वरुण ग्रह
तस्बिरको क्याप्शन, वरुण ग्रहका १४ वटा चन्द्रमा छन्। तीमध्ये ट्राइटन सबै ठूलो हो

लेस्टर यूनिभर्सिटीका प्राध्यापक ली फ्लेचर यतिखेर स्पेनको ग्रानाडास्थित युरोप्लानेट साइन्स कङ्ग्रेसमा सहभागी भएका छन्। त्यहाँ सबै जना "आआफ्ना फोनमा यसको अर्थ व्याख्या गर्ने प्रयासमा" छन्।

"तर ती घेरा देख्न पाउनु अविश्वसनीय कुरा हो। अनि हामी यसअघि कसैले नदेखेका वेभलेन्थहरू हेर्दै छौँ," उनले भने।

"सबै जना कति उत्साहित छन् भन्ने देख्न पाउनु गजबको कुरा हो," उनले बीबीसी न्यूजलाई बताए।

"लामा वेभलेन्थहरू नितान्त नयाँ हुन् र तिनले हामीलाई प्रसारका गहिरा स्वरूपहरूमा छिर्ने बाटो दिन सक्छन्। एउटा चम्किलो मध्यरेखीय धर्सो जुन बृहस्पति र शनि ग्रहका चम्किला धर्साजस्तो देखिन्छ।"

"वरुण ग्रहमा शक्तिशाली आँधीबेहरीहरू सदाझैँ सक्रिय छन्। अनि यहाँ उक्त ग्रहको पूरै परिवार प्रस्तुत भएको छ - घेरा, चन्द्रमाहरू र ट्राइटनसहित।"

वरुण ग्रह
तस्बिरको क्याप्शन, हाम्रो आकाशगङ्गाभन्दा पर अण्डाकार र चक्राकार तारामण्डलहरू पनि देखिन्छन्

कहाँ छ वरुण ग्रह?

वरुण हाम्रो सौर्यमण्डलमा सबैभन्दा पर अवस्थित ग्रह हो।

त्यो यूरेनस (अरुण ग्रह) र शनि ग्रहभन्दा पनि पर तर वामन ग्रह भनिने प्लूटोभन्दा भित्र छ।

सूर्यभन्दा झन्डै ४.५ अर्ब किलोमिटर टाढा रहेर यसले सूर्यको परिक्रमा गर्छ।

सूर्यलाई एक पटक परिक्रमा गर्न वरुण ग्रहलाई १६४.८ वर्ष लाग्छ।

सौर्यमण्डलमा रहेका अन्य विशाल ग्रहहरूजस्तै यसको वायुमण्डलमा पनि धेरै हाइड्रोजन र हीलियम ग्यास पाइन्छ।

तर त्यहाँ धेरै बरफ, पानी, अमोनिआ र मीथेन ग्यास छन्।

वरुण ग्रहको व्यास झन्डै ५०,००० किलोमिटर छ अर्थात् पृथ्वीको भन्दा चारगुना बढी।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, ब्रह्माण्डका नयाँनयाँ रहस्य पत्ता लगाउन १० अर्ब डलरको टेलिस्कोप
भिडिओ क्याप्शन सुरु हुँदैछ, ब्ल्याक होलबाट आएको आवाज यस्तो सुनिन्छ
भिडिओ क्याप्शन सुरु हुँदैछ, नासाले १० वर्ष खिचेका सूर्यका करोडौँ तस्बिर

यो पनि पढ्नुहोस्

जेम्स वेब संयुक्त राज्य अमेरिका, युरोप र क्यानडाका अन्तरिक्ष निकायहरूको सहकार्यमा सञ्चालित परियोजना हो