सन् २०१९ मा खिचिएका अन्तरिक्षका केही अद्भुत तस्बिर

बृहस्पति ग्रहमा आफ्नो छाया पार्दै नासाले पठाएको जूनो स्पेस प्रोब
तस्बिरको क्याप्शन, बृहस्पति ग्रहमा नासाले पठाएको जूनो अन्तरिक्षयानले आफ्नो छाया देखिनेगरी खिचेको तस्बिर
    • Author, पोल रिन्कन
    • Role, विज्ञान सम्पादक, बीबीसी न्यूज वेबसाइट
  • Published

सन् २०२० को दशकमा ठूला अन्तरिक्ष अभियानहरू हुँदैछन्।

सन् २०१९ मा भने अन्तरिक्षबाट हाम्रो सौर्यमण्डलका केही अद्भुत तस्बिर प्राप्त भए।

त्यस्तै पृथ्वीमा रहेका टेलिस्कोपहरूले पनि अन्तरिक्षका केही राम्रा तस्बिरहरू खिचे।

तीमध्येका केही उत्कृष्ट तस्बिरहरू यी हुन् -

जुनोबाट देखिएको वृहस्पति ग्रह
तस्बिरको क्याप्शन, जूनोबाट देखिएको बृहस्पति ग्रह

नासाको जूनो अन्तरिक्षयानले वृहस्पति ग्रहको बादलको तस्बिर सन् २०१६ देखि पठाउन थालेको हो।

मे २९ मा खिचिएका चारवटा तस्बिरबाट निर्मित यो दृश्यमा बृहस्पति ग्रहमा बादलले बनाएको रमाइलो स्वरूप देखिन्छ।

जुनोबाट देखिएको वृहस्पति ग्रह

त्यो समयमा जूनो बृहस्पतिभन्दा ८०० देखि १,८०० किलोमिटर टाढा थियो।

हिममानव

अर्रोकोथ
तस्बिरको क्याप्शन, अर्रोकोथ

नासाले सन् २०१५ मा न्यू होराइजन्स अन्तरिक्षयानलाई वरुण ग्रहभन्दा पर रहेको कुइपर बेल्टमा पठाएको थियो।

त्यहाँ जमेका हजारौँ चिसा वस्तु छन् जसले हाम्रो सौर्यमण्डलको प्रारम्भिक समयबारे जानकारी दिन सक्छन्।

सन् २०१४ मा पत्ता लागेको र एमयू६९ नाम रखिएको एउटा वस्तुको वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन्।

पछि अल्टीमा थुले र अहिले अर्रोकोथ नामले चिनिने सो वस्तु ३९ किलोमिटर लामो छ र दुईवटा गोलो वस्तु जोडिएर बनेको छ।

आतसबाजी

एट करिनी

एट करिनी पृथ्वीभन्दा ७,५०० प्रकाशवर्ष टाढा रहेको तारामण्डल हो।

त्यहाँ कम्तीमा दुईवटा तारा छन् जसले हाम्रो सूर्यभन्दा ५० लाखगुना ऊर्जा निकाल्छ।

तीमध्ये एउटा ताराले तातो ग्यास निकालिरहेको छ र त्यसबाट बलूनको जस्तो आकार बन्छ।

यो ताजा तस्बिर भने हबल टेलिस्कोपले खिचेको हो।

मङ्गलको सेल्फी

मङ्गल ग्रहमा क्यूरोसीटी

नासाको क्यूरीओसिटी अन्तरिक्षवाहन सन् २०१२ देखि मङ्गल ग्रहको सतहमा छ।

सो रोबोटले माउन्ट शार्पको भिरालो देखिनेगरी सेल्फी खिचेको छ।

यस स्थानमा गरिएको उत्खननमा माटोमा हुने खनिज पदार्थ एकदमै धेरै रहेको देखाएको छ।

माटो बन्नका लागि पानी चाहिन्छ र यो खोजले मङ्गल ग्रहमा कुनै बेला पानी रहेको हुन सक्ने सङ्केत गर्छ।

चन्द्रमाको अर्को पाटो

चन्द्रमा

यो वर्ष ज्यानुअरी ३ मा चीनको चाँग इ-४ चन्द्रमाको पृथ्वीतर्फ नफर्किएको भागमा अवतरण गर्ने पहिलो अन्तरिक्षयान बन्यो।

त्यसको केही दिनपछि त्यहाँ पुगेको वहान र यानले एकअर्काको तस्बिर खिचे।

चाँग इ-४
तस्बिरको क्याप्शन, चाँग इ-४

सो यानमा क्यामराहरू, चन्द्रमाको भूमिमुनि उत्खनन गर्ने उपकरण, खनिज पदार्थ चिन्ने उपकरण र त्यहाँ वनस्पति उमार्ने सानो प्रयोगशाला छ।

उडान

लाइटसेल २

द प्ल्यानटरी सोसाइटीको लाइटसेल परियोजनाले पृथ्वीको माथिल्लो भागमा सौर्य ऊर्जा प्रयोग गरी उडान गर्न सम्भाव्यता अध्ययन गर्छ।

सौर्य ऊर्जा प्रयोग गरेर अन्तरिक्षयानलाई उडाउने योजना लामो समयदेखिकै हो।

जुन २५ मा प्रक्षेपण गरिएको लाइटसेल २ को उडानको यो तस्बिर जुलाई २३ मा खिचिएको हो।

सबै तस्बिरको सर्वाधिकार सुरक्षित छ।