श्रीलङ्का सङ्कट: भिडले राजपक्ष सत्ताको पकड तोड्यो

कोलम्बोस्थित राष्ट्रपतिको निवासमा हजारौँको भिड पसेको थियो
तस्बिरको क्याप्शन, कोलम्बोस्थित राष्ट्रपतिको निवासमा हजारौँको भिड पसेको थियो
    • Author, अनवरअसन इतिराजन
    • Role, बीबीसी न्यूज, कोलम्बो
  • Published

यो श्रीलङ्काका लागि असाधारण समय हो- ठूलो आक्रोश र हिंसाको दिन घर्किँदै गर्दा यो देशका दुई वरिष्ठ नेताहरू सत्ताबाट बाहिरिन सहमत भएका छन्।

यो समाचार प्रवाह हुने बित्तिकै कोलम्बोको प्रमुख प्रदर्शन स्थलमा हर्षोल्लास प्रवाह गर्‍यो। शहरका कैयौँ स्थानमा आतसबाजी गरियो।

म गाला फेस प्रदर्शन क्षेत्रमा हुँदा नै कैयौँ मानिसहरू घर फर्कन थाले, तर हजारौँ त्यहीँ थिए। कतिपय गीत गाइरहेका थिए त कतिले बाजा बजाउँदै उत्सव मनाइरहेका छन्।

गजबको घटनाक्रम।

केही दिन अघि राष्ट्रपति गोटबय राजपक्ष र प्रधानमन्त्री रनिल विक्रमसिङ्ग संसद्‌मा मुस्काइरहेको फोटो सामाजिक सञ्जालमा धेरै शेअर गरिएको थियो।

कैयौँले उनीहरूप्रति आक्रोश व्यक्त गरेका थिए।

उनीहरूले भनेका थिए - दशौँ लाख मानिसहरू पूरा छाक खान सङ्घर्ष गरिरहेका बेला यी दुई पुरुषहरू खुशी देखिन्छन्।

तर राजनीतिमा एक हप्ता निकै लामो समय हो।

सुरक्षा फौजले पानीका फोहोरा र अश्रु ग्यास प्रयोग गरेर भिड तितरवितर पार्न खोजेका थिए
तस्बिरको क्याप्शन, सुरक्षा फौजले पानीका फोहोरा र अश्रु ग्यास प्रयोग गरेर भिड तितरवितर पार्न खोजेका थिए

अधिकारीहरू बढ्दो मुद्रास्फितिबीच खाना इन्धन र औषधि आयात गर्न सङ्घर्ष गरिरहेका बेला सर्वसाधारणले महिनौँदेखि प्रदर्शन गरिरहेका छन् र राष्ट्रपति राजपक्षको राजीनामा प्रदर्शनकारीको मुख्य माग रहेको छ।

श्रीलङ्कामा विदेशी मुद्रा सञ्चितीको चरम अभाव भएको छ र उसले इन्टरन्याशनल मनिटरी फन्ड आईएमएफसँग आपत्‌कालीन ऋण सहयोग दिलाउन आग्रह गरेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, राष्ट्रपति भवन छिरेका प्रदर्शनकारीले यसरी पौडी खेले

मैले राष्ट्रपति राजपक्षलाई शासनको चरम उचाइमा देखेको छु।

उनी निर्मम र अरूमा डर पैदा गर्ने मानिस थिए।

पत्रकारसहित अरू कोही पनि उनको आक्रोशको अगाडि पर्न चाहन्नथे।

उनको सत्ताका कडा आलोचकहरूलाई या त कडा दण्ड दिइयो या बेपत्ता पारियो- तर राजपक्षहरू- राष्ट्रपति र उनका भाइ पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षले- सधैँ हिंसा वा बेपत्तासँग सम्बन्ध भएको कुरा अस्वीकार गरे।

प्रधानमन्त्रीको घरमाथि पुगेका प्रदर्शनकारीहरू
तस्बिरको क्याप्शन, प्रधानमन्त्रीको घरमाथि पुगेका प्रदर्शनकारीहरू

अहिले राष्ट्रपति राजपक्ष सुरक्षाका लागि उनको सरकारी निवास छोडेर भाग्नु नाटकीय छ- केही महिना अगाडि त्यो सोच्न पनि सकिन्नथ्यो।

पृथकतावादी तमिल टाइगरहरूलाई तह लगाउन सेनाको अघि अघि लागेपछि यी व्यक्तिलाई सिन्हाला बौद्धमार्गी समुदायको समर्थन थियो।

राजपक्ष दाजुभाइलाई त्यसपछि युद्ध नायकका रूपमा स्थापित गराइयो।

र अहिले नाटकीय मोडमा उनीहरूलाई सत्तामा ल्याएका जनताहरूले नै कलङ्कित बनाएर सत्ताच्युत गरिदिने अवस्था आएको छ।