इजरेलः विमानस्थलमा जब नपड्किएको बम देखाउँदै यात्रुले सोधे 'के यो सुटकेसमा लैजान पाइन्छ'

विस्फोटक पदार्थ
तस्बिरको क्याप्शन, अधिकारीहरूका अनुसार एउटा अमेरिकी परिवारले नपड्किएको एउटा गोला चिनोका रूपमा लैजान खोजेको थियो
Published
पढ्ने समय: १ मिनेट

इजरेलको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा अमेरिकी परिवारले सुरक्षा जाँचका क्रममा विस्फोटन नभएको एउटा बम निकालेपछि त्यहाँ केही बेर आतङ्कको स्थिति सिर्जना भयो।

सिरियासँगको युद्धपछि इजरेलले कब्जा जमाएको गोलन हाइट्स क्षेत्रको भ्रमणका क्रममा भेटिएको उक्त गोला उक्त परिवारले अमेरिका लैजान खोजेको थियो।

सामाजिक सञ्जालमा प्रेषित भिडिओमा मानिसहरू आतङ्कित भएर भागदौड गरेको देखिन्छ।

सुरक्षाकर्मीहरूले सोधपुछ गरेर यात्राको अनुमति दिएपछि उक्त परिवारले चढ्न पाएको थियो।

इजरेलले सन् १९६७ मा भएको युद्धपछि गोलन हाइट्सको अधिकांश भाग कब्जा गरेको थियो र अझै पनि त्यहाँ लडाइँका चिह्नहरू पाइन्छ।

इजरेलको वाइनेट समाचार साइटले बिहीवार रातिको घटनामा परिवारका सदस्यहरूले आफ्नो झोलामा उक्त सामग्री निकालेको र सुरक्षा अधिकारीलाई त्यसलाई सुटकेसमा राख्न मिल्छ कि भनेर सोधेका थिए।

ती अधिकारीले तुरुन्तै उक्त स्थानवरपर खाली गराउन आदेश दिए। तर अर्का यात्रुले सुरक्षाकर्मीले भनेको अन्यथा सुने। ती यात्रुले "आतङ्कवादीले गोली चलाए" भनेर चिच्याएपछि त्यहाँ आतङ्कित अवस्था सिर्जना भएको उक्त साइटले जनाएको छ।

इजरेलको सार्वजनिक प्रसारक कानले दर्जनौँ मानिसहरू कराइरहेको र चेक-इन क्षेत्रबाट भागिरहेको र अरू अन्योलमा परी भुइँमा बसेको देखिन्छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

अन्योलको त्यस्तो अवस्थामा एक ३२ वर्षीय युवक भाग्न खोज्दा घाइते भएका थिए र उनलाई अस्पताल लगिएको थियो।

"म विमानस्थलमा चेक-इन काउन्टरमा पुग्नुअघि एक घण्टादेखि लामबद्ध थिएँ। अकस्मात् पाँच मिटर परसम्मका मानिसहरू सामान छाडेर भाग्न थाले," उनले वाइनेटसँग भनेका छन्।

"कसैले गोली बर्साइरहेको भन्ने लाग्यो, मलाई भाग्नुपर्छ भन्ने भयो। म चेक-इनतर्फ दौडिएँ, तर त्यहाँ कन्भेयर बेल्टमा ठेस लागेपछि म छ मिटरसम्म उडेँ।"

तेल अभिभबाहिरको बेन गुरिओन विमानस्थललाई उच्च तहको सुरक्षा भएको विमानस्थलमध्ये एक मानिन्छ।

यात्रु र सवारी साधनहरू सम्पूर्ण जाँचपछि मात्रै टर्मिनल क्षेत्रमा पुग्न पाउँछन्।

केही सातायता साङ्घातिक आक्रमणहरू भएपछि इजरेलमा उच्च सुरक्षा सतर्कता कायम छ।