खाद्यसु्रक्षा: इथियोपियामा पाइने इनसेट जलवायु परिवर्तनको चुनौतीबीच सुपरफुड' बन्न सक्ने

इनसेटको बोट १० मिटरसम्म अग्लो हुन्छ
तस्बिरको क्याप्शन, इनसेटको बोट १० मिटरसम्म अग्लो हुन्छ
    • Author, हेलेन ब्रिग्स
    • Role, विज्ञान सम्वाददाता
  • Published

वैज्ञानिकहरूले इथियोपियाको मुख्य खाद्य बालीको रूपमा रहेको इनसेट नामको फल जलवायु परिवर्तनको चुनौतीबीच जीवन रक्षक 'सुपरफुड' हुनसक्ने बताएका छन्।

एक नयाँ अध्ययनले तापमान वृद्धिको सामना गरिरहेको विश्वमा केराजस्तै देखिने यो फलले १० करोड मानिसहरूलाई खाना पुर्‍याउने सम्भावना बोकेको देखाएको छ।

इथियोपियामा लिटो र पाउरोटी बनाउन प्रयोग गरिने यो फल त्यस देशबाहिर भने करिब अज्ञात जस्तै छ। अनुसन्धानहरूले यो बाली अफ्रिकाको अझै ठूलो क्षेत्रमा उमार्न सकिने देखाएका छन्।

"खाद्य सुरक्षा र दिगो विकासको आवश्यकताका लागि यो फलले साँच्चिकै महत्त्वपूर्ण भूमिका खेल्न सक्छ," इथियोपियाको अवेजास्थित हवासा विश्वविद्यालयका डाक्टर वेन्द्वीक अबीबीले भने।

नक्कली केरा अर्थात् इनसेट केरा प्रजातिकै एउटा फल हो। तर यो इथियोपियाको एउटा क्षेत्रमा मात्रै खाने गरिएको छ।

यो फलको केरा जस्तो देखिने फल चाहिँ अखाद्य हो। तर यसको माड आउने डाँठ र जराहरू प्रशोधन गरेर लिटो र पाउरोटी बनाउन सकिन्छ।

केराको फल बायाँ र इनसेट दायाँ
तस्बिरको क्याप्शन, केराको फल बायाँ र इनसेट दायाँ

इथियोपियाका करिब २ करोड मानिसहरूका लागि इनसेट मुख्य खाद्य बाली हो। तर त्यस भन्दा अन्यत्र यसको खेती भएको छैन। तर यसका जङ्गली प्रजातिहरू दक्षिण अफ्रिकासम्म फैलिएका छन्। जसले यो फल पनि अझै फराकिलो क्षेत्रमा हुर्कन सक्ने देखाएको छ।

कृषि सर्वेक्षण र केही नमुना कार्यहरूका आधारमा वैज्ञानिकहरूले आगामी चार दशकसम्म इनसेटको खेती र खाद्य आपूर्तिको सम्भावनाबारे आकलन गरेका छन्।

उनीहरूले यो फलले इथियोपिया, केन्या, युगान्डा र रुवान्डा सहितका अरू अफ्रिकी देशहरूमा करिब १० करोड मानिसहरूलाई खाद्य सुरक्षामा बढावा दिने बताएका छन्।

अनुसन्धानमा संलग्न रोयल बोटानिक गार्डेनका अनुसन्धाता डा जेम्स बोरेल जग्गाहरू खाली भएका ठाउँमा इनसेट रोप्दा खाद्य सुरक्षामा बढावा पुग्ने बताउँछन्।

"यसमा भएका केही असाधारण विशेषताहरूका कारण यो विलकुलै अनौठो बाली हो," उनले भने।

"यसलाई जुनसुकै समयमा रोप्न सकिन्छ, जुनसुकै समयमा काट्न सकिन्छ। यो बाह्रमासे बाली हो। त्यसैले उनीहरू यसलाई भोकमरी विरुद्धको रूख भन्छन्।"

इथियोपिया अफ्रिकाको बाली उत्पादनका लागि मुख्य देश हो। यो देशले कफीसहित धेरै बालीको खेती गर्दै आएको छ।

जलवायु परिवर्तनले अफ्रिका र त्यस बाहिरका मुख्य खाद्य बालीहरूको उत्पादन र वितरणलाई गम्भीर रूपमा असर गर्ने भविष्यवाणी गरिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, हिन्दी गीतको टिकटक भिडिओ बनाएर प्रख्यात अफ्रिका दाजुबहिनी

केही मुख्य खाद्य बालीहरूमा मात्रै सीमित रहेको हाम्रो निर्भरतालाई ध्यानमा राख्दै, विश्वलाई खुवाउन नयाँ बालीहरूको खोजीमा रुचि बढ्दै गएको छ। हामीले खाने क्यालोरीमध्ये करिब आधा क्यालोरी चामल, गहुँ र मकैले धानेका छन्।

"विश्वव्यापी रूपमा हामीले प्रयोग गर्दै आएका बोटबिरुवाहरूको प्रजातिलाई विविधीकरण गर्न आवश्यक छ। किनभने हाम्रा खानेकुरा अहिले एकदमै सानो टोकरीमा सीमित छन्," डा बोरेलले भने।

यो अनुसन्धान इन्भायरभेन्ट रिसर्च लेटर्समा प्रकाशित छ।