क्रिप्टोकरेन्सीः उत्तर कोरियाली ह्याकरले ४० करोड डलर मूल्य पर्ने डिजिटल मुद्रा चोरेको दाबी

साइबर क्राइम स्टक तस्बिर
Published

गत वर्ष उत्तर कोरियाली ह्याकरहरूले विभिन्न क्रिप्टोकरेन्सी मञ्चमा कम्तीमा सात पटक आक्रमण गरेर झन्डै ४० करोड अमेरिकी डलरजतिको डिजिटल मुद्रा चोरेको दाबी एउटा प्रतिवेदनले गरेको छ।

ब्लकचेनबारे अनुसन्धान गर्ने संस्था 'चेनएनलिसिस'का अनुसार उत्तर कोरियाका साइबर अपराधीका लागि सन् २०२१ एउटा सफल वर्ष प्रमाणित भयो।

उत्तर कोरियाली ह्याकरहरूले मुख्यतया लगानी गर्ने कम्पनी तथा क्रिप्टोकरेन्सी किनबेच गर्न मध्यस्थता गरिदिने केन्द्रीकृत मञ्चलाई लक्ष्य बनाएका थिए।

उत्तर कोरियाले आफू त्यस्ता आक्रमणमा संलग्न भएको भन्ने आरोपको बारम्बार खण्डन गर्ने गरेको छ।

"सन् २०२० बाट २०२१ मा पुग्दा उत्तर कोरियासँग सम्बन्धित 'ह्याक' आक्रमणको सङ्ख्या चारबाट बढेर सात भयो अनि ती ह्याकबाट दोहन गरिएको [डिजिटल मुद्राको] मूल्य ४० प्रतिशतले बढ्यो," चेनएनलिसिसले एउटा प्रतिवदेनमा भनेको छ।

चेनएनलिसिसका अनुसार ह्याकरहरूले लक्षित संस्थाका "हट" वालेटबाट सम्पत्ति चोरेर उत्तर कोरियाको नियन्त्रणमा भएका स्थानमा पठाउन विभिन्न विधि प्रयोग गरेका थिए।

त्यस्ता विधिमा फिशिङ, सफ्टवेअरको कमजोरी पत्ता लगाउने विशेष कोड र मालवेअर थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सारा संसारलाई झुक्याउने जाली 'सुपरडलर' को कथा

क्रिप्टोकरेन्सी कसरी चोरी हुन्छ?

क्रिप्टोकरेन्सी हट वालेटहरू इन्टरनेट तथा क्रिप्टोकरेन्सी नेटवर्कसँग जोडिएका हुन्छन्। त्यसैले ती ह्याकिङमा पर्ने जोखिममा हुन्छन्।

क्रिप्टोकरेन्सी पठाउन र लिन ती वालेटको प्रयोग गरिन्छ। तिनले प्रयोगकर्तालाई आफूसँग कति वटा टोकन छन् भनेर देखाउँछन्।

आफूलाई दैनिक आवश्यक नपर्ने हुँदा ठूलो परिमाणको क्रिप्टोकरेन्सी "हट"वालेटको सट्टा "कोल्ड" वालेटमा राख्ने सल्लाह धेरै विज्ञले दिएका छन्। किनभने कोल्ड वालेटहरू बृहत्तर इन्टरनेटसँग जोडिएका हुँदैनन्।

चेनएनलिसिसका अनुसार गत वर्ष भएका आक्रमणमध्ये धेरैमा तथाकथित 'ल्याजरस ग्रूप' को संलग्नता छ। अमेरिकाले प्रतिबन्ध लगाएको उक्त समूह उत्तर कोरियाको जासुसी संयन्त्रले सञ्चालन गर्ने ठानिएको छ।

यसअघि 'वानाक्राई' नाम दिइएको 'र्‍यान्समवेअर' आक्रमणमा 'ल्याजरस' समूह संलग्न भएको आरोप लागेको थियो। सन् २०१४ मा अन्तर्राष्ट्रिय ब्याङ्क तथा ग्राहकका खाता ह्याक तथा सोनी पिक्चर्समा साइबर आक्रमण गरिएको थियो।

उत्तर कोरियाको झण्डाअगाडि बसेका ह्याकरको स्टक तस्बिर

कहाँ गयो पैसा?

सम्पत्ति हात परेपछि उत्तर कोरियाले घटना ढाकछोप गर्न तथा पैसा निकाल्न सावधान भएर सम्पत्ति शुद्धीकरण गर्ने प्रक्रिया थालेको उक्त प्रतिवेदनले जनाएको छ।

उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरूको अनुगमन गर्ने एउटा राष्ट्रसङ्घीय समितिले प्योङ्याङले परमाणुअस्त्र कार्यक्रम तथा बलिस्टिक क्षेप्यास्त्रमा चोरिएको धन प्रयोग गरेको आरोप लगाएको छ।

गत वर्ष संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाका तीन कम्प्युटर प्रोग्र्यामरलाई १.३ अर्ब डलरबराबरको पैसा र क्रिप्टोकरेन्सी चोर्ने उद्देश्यले शृङ्खलाबद्ध ह्याकिङ गरेको अभियोग लगाएको थियो।

अमेरिकी न्याय मन्त्रालयका अनुसार त्यस्ता साइबर आक्रमणले ब्याङ्कदेखि हलीवुड चलचित्र उद्योगका स्टूडिओसम्म प्रभावित भएका थिए।

2px presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, न सिक्का न नोटः बिटकोइन के हो?