टोक्यो ओलिम्पिक्स: १०० मिटर दौडमा स्वर्ण पदक जित्ने लेमन्ट मार्सेल जेकोब्स को हुन्?

लमोन्ट मार्सेल जेकोब्स
तस्बिरको क्याप्शन, इट्लीका लमोन्ट मार्सेल जेकोब्सले सय मिटरमा स्वर्ण पदक जितेर विश्वलाई आश्चर्यमा पारिदिएका छन्
    • Author, पिटर बल र सोफिया बेटिजा
    • Role, बीबीसी वर्ल्ड सर्भीस
  • Published

लेमन्ट मार्सेल जेकोब्सले टोक्यो ओलिम्पिकको १०० मिटर दौडको फाइनलमा स्वर्ण पदक जितेर एथलेटिक्स जगत् र स्वयं आफूलाई आश्चर्यमा पारिदिएका छन्।

स्वर्ण पदक हात पारे लगत्तै सञ्चारमाध्यमले 'पदक जित्ने अपेक्षा गर्नु भएको थियो' भनेर प्रश्न सोध्दा उनले सामान्य ढङ्गले 'थिएन' भनेर जवाफ फर्काए।

तर उक्त दौड पूरा भएको केही मिनेटपछि पृथ्वीका सबैभन्दा तीव्र गतिका धावकले आफ्नो मानसिक लडाइँ, भत्किएको पारिवारिक जीवन र कम्प्युटर खेल खेल्दा एक दिन स्वर्ण पदक जित्ने सपना देखेको खुलासा गरेपछि मानिसहरू आश्चर्यमा परे।

भविष्यवाणी

लमोन्ट मार्सेल जेकोब्स र जानमार्को टामबेरी
तस्बिरको क्याप्शन, जेकोब्सले दौड रेखा पार गरेपछि हाइ जम्पमा स्वर्ण पदक जितेका आफ्ना सहकर्मी खेलाडी जानमार्को टामबेरीको अंकमाल गरेका थिए

जब जेकोब्सले दौड रेखा पार गरे र केही क्षणअघि पुरुष हाइजम्पमा स्वर्ण पदक जितेका आफ्ना सहकर्मी खेलाडी जानमार्को टामबेरीको अँगालोमा पुगे, कसैलाई पनि थाह थिएन कि ती दुवैले एक दिनअघि उनीहरूले 'स्वर्ण पदक जित्ने है' भन्दै रमाइलो गरेका थिए।

"अघिल्लो साँझ मैले मेरो कोठामा जानमार्कोसँग प्लेस्टेशनमा खेलेको थिए र हामीले, के तपाईँ कल्पना गर्न सक्नुहुन्छ हामीले…..," उनले भने।

तर दुवै जनाले स्वर्ण पदक जित्ने सपना देखेको केही समयमा उनीहरूले त्यसलाई बिर्सने प्रयास गरेका थिए।

"नाइँ त्यो असम्भव छ। हुँदैन, हुँदैन। यसबारे नसोचौँ।"

आफ्नो जीवन परिवर्तन गर्ने दौडअघि जेकब्सले उक्त कुराकानी सम्झिएको बताएका छन्।

"जब मैले आफूभन्दा पाँच मिनेटअघि उनले स्वर्ण पदक जितेको देखेँ, मैले सोचेँ म पनि गर्न सक्छु र मैले गरेँ। त्यो उद्भूत थियो।"

मानसिक रूपमा बलियो

इट्ली
तस्बिरको क्याप्शन, जेकोब्सले ९.८० सेकेन्डमा दौड पूरा गरेका थिए

जेकोब्सले विगतमा आफ्नो प्रदर्शनको मानसिक पक्षले पछाडि पारेको बताए।

उनले आफ्नो जितमा आफूले वरिपरि राखेका खेल क्षमता राम्रो बनाउन मद्दत गर्ने मानिसहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए।

"मैले मलाई समर्थन गर्ने साँच्चै राम्रो टोली बनाए। र मैलै यसका लागि मेरो टोलीलाई धन्यवाद भन्नै पर्छ।"

"हामीले मानसिक पक्ष, राम्रो खानेकुरा र राम्रो फिजिओथेरापीमा ध्यान दिऔँ। मैले मानसिक पक्षमा एकदमै मेहनत गरे किनभने ठूला अवसरहरूमा मेरो खुट्टाले एकदमै राम्रोसँग काम गर्दैन थियो तर अहिले महत्त्वपूर्ण अवसरमा मेरो खुट्टाले एकदमै राम्रो गर्छन्।"

पारिवारिक विभाजन

इट्ली लमोन्ट मार्सेल जोकोब्स
तस्बिरको क्याप्शन, अमेरिकामा जन्मिए पनि उनी आफूलाई शत प्रतिशत इट्लीयन ठान्छन्

तर उनको पारिवारिक अवस्थाले पनि आंशिक प्रभाव पारेको देखिन्छ। आफ्ना छोराले जितेको केही बेरमा नै इटलीको टेलिभिजनसँग कुरा गर्दै उनकी आमा भीभयाना मजीनेले आफू १८ वर्षको मात्रै हुँदा २० वर्षका अमेरिकी पिताबाट जेकोब्स जन्मिएको सुनाइन्।

उनीहरू त्यस बेला टेक्ससको एल पासोमा बसिरहेका थिए तर जेकोब्सका बाबु तुरुन्तै दक्षिण कोरिया सरुवा गरिएपछि भीभयाना छोरा लिएर इटली आइन् जहाँ उनले एक्लै उनलाई हुर्काएकी थिइन्।

"उनी आफ्ना बुवाविना नै हुर्किए। म उनको आमा र बुवा दुवै हुँ। त्यो एकदमै कष्टप्रद जीवन थियो," उनले भनिन्।

"तर आज उनले आफ्नो त्यागको सम्पूर्ण प्रतिफल प्राप्त गरेका छन्। उनले संसार जितेका छन्।"

"जब उनी सानै थिए, म उनलाई भन्थेँ कि उनी एक दिन यूसेन बोल्ट जत्तिकै हुनेछन्। त्यो अर्को लक्ष्य थियो र मलाई थाहा थियो, उनले गर्न सक्छन्।"

लमोन्ट मार्सेल जेकोब्स

जेकोब्सले आफ्नो जीतमा आफूले एक वर्षअघि पहिलोपटक कुराकानी गरेका आफ्ना बुवासँगको सम्बन्ध सुधारको पनि आंशिक हात रहको उल्लेख गरेका छन्।

"र यसले मलाई राम्रो मनस्थितिसहित यहाँ (टोक्योमा) आइपुग्न मद्दत गर्‍यो।"

उनले थपे, "मैले उनलाई (सानो हुँदादेखि) कहिल्यै देखेकै थिइन। जब मानिसहरूले मलाई तिम्रो बुबा को हो भनेर सोध्थे, मसँग जवाफ हुँदैन थियो।"

परिवार प्रेम दर्शाउँदै ट्याटु

रिओ ओलिम्पिक्समा युसेन बोल्ट दौडिएको भन्दा तेज गतीमा ज्याकोबले दौड पुरा गरेका थिए

जेकोब्सका लागि परिवारको महत्त्व वास्तवमा उनको शरीरमा लेखिएको छ।

धेरै ट्याटुमध्ये एउटामा उनको मातृ भाषामा 'परिवार जहाँबाट जीवन सुरु हुन्छ र माया कहिल्यै मर्दैन' भनेर लेखेका छन्।

आफ्नी प्रेमिका निकोल डाजाबाट जन्मिएका दुईसहित तीन सन्तानको नाम पनि उनले खोपेका छन्।

निकोलले कोभिडले १०० मिटरको जित अघिको समयमा सबैलाई अप्ठेरोमा परेको बताइन्।

"महामारीका कारण सजिलो थिएन। हामीले एक अर्कालाई एक महिनादेखि देखेका छैनौँ जुन हामीले एक अर्कालाई नभेटेको सबैभन्दा लामो अवधि हो।"

"त्यो उनका लागि अप्ठेरो थियो तर मौका पाउने बित्तिकै भिडिओ कल गर्थ्यौँ। उनी बच्चाहरूलाई हेर्न चाहन्थे।"

जेकोब्स
तस्बिरको क्याप्शन, आफ्ना दुई सन्तानसहित जेकोब्स

टोक्योमा उपस्थित नभए पनि जेकोब्सको जितमा उनको उत्साहमा रत्तीभर कमी देखिएन।

"जब हामीले उनले जित्न लागेको बुझ्यौ, म पागल मान्छे जस्तै कराए। चिच्याएर मेरो स्वर नै बसेको थियो।"

जेकोब्सको ओलिम्पिक्स विजयको अर्थ उनी रातारात विश्व चर्चित भएका छन् तर निकोल द्रुत प्रसिद्धिले उनलाई प्रभावित नपार्ने ठान्छिन्।

"म बुझ्छु हाम्रो जीवनमा परिवर्तन देखा पर्नेछ तर म विश्वस्त छु, उनी फेरिने छैनन्।"

लामोन्ट मार्सेल जेकोब्स
तस्बिरको क्याप्शन, जेकोब्सकी प्रेमिका निकोल

"उनकी आमा विशेष रूपले प्रेरणाकी स्रोत हुन्। उनी आफूमा एकदमै विश्वास गर्छन् र त्यो आफू वरपरका सबैमा सार्छन्," निकोलले भनिन्।

"एक जना पिताका रूपमा अझ विशेष ढङ्गले उनी त्यसो गर्छन्। उनी असाधारण पिता हुन्।"

एथलेटिक्सका समर्थकहरूले यी तेज धावकको शक्तिशाली जोस आगामी केही वर्षका लागि ट्र्याक एन्ड फिल्डको महत्त्वपूर्ण हिस्सा हुने ठानेका छन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, १००-मिटरमा दौडिने र जित्ने तरिका