कोरोना भाइरस भारतः कोभिड-१९ महामारीका कारण दिल्लीमा उत्पन्न अक्सिजन सङ्कट

गुरुद्वारामा अक्सिजन लिइरहेकी एक कोभिड-१९ भएकी महिला
तस्बिरको क्याप्शन, गुरुद्वारामा अक्सिजन लिइरहेकी कोभिड-१९ भएकी एक महिला
    • Author, विकास पाण्डे
    • Role, बीबीसी न्यूज दिल्ली
  • Published
  • पढ्ने समय: ४ मिनेट

दिल्लीका अस्पतालहरूमा अक्सिजन अभाव हुन थालेको दुई हप्ता हुन लागिसक्यो। तर सङ्कट समाधान हुने कुनै सङ्केत देखिएको छैन।

एक चिकित्सकसहित कम्तीमा १२ बिरामी दिल्लीको एउटा प्रमुख अस्पतालमा अक्सिजन अभाव भएका कारणले ज्यान गुमाएका छन्।

अस्पतालबाहिर अस्पतालमा शय्या पाउन नसकेकाहरू बोक्न सकिने किसिमको अक्सिजन सिलिन्डर हात पार्न सङ्घर्ष गरिरहेका छन्। कोही त लाइनमा बसेको १२ घण्टा भइसकेको बताउँछन्।

दिल्लीका कैयौँ अस्पतालमा दैनिक अक्सिजन आउने गरेको छ तर उनीहरूले आपत्कालका लागि आवश्यकताभन्दा बढी ल्याएर भण्डारण गर्न सकेका छैनन्।

एक डाक्टरले स्थिति भयावह भएको बताए। "अस्पतालको मुख्य ट्याङ्की सकिएपछि भण्डारमा केही बाँकी छैन," उनले भने।

साना अस्पतालमा स्थिति झन् गम्भीर छ। उनीहरूसँग भण्डारण ट्याङ्की छैन र उनीहरू ठूलाठूला सिलिन्डरमा भर पर्छन्।

कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या बढिरहेका बेला अक्सिजन सङ्कट आइपरेको छ।

दिल्लीमा दिनहुँ हजारौँ सङ्क्रमित थपिन्छन् र सयौँ जनाको मृत्यु हुन्छ।

भारतमा सप्ताहान्तमा महामारी सुर भएयताकै सबभन्दा धेरै दैनिक सङ्क्रमण पुष्टि भएको छ। एक दिनमा चार लाखभन्दा बढी सङ्क्रमण भएको एक मात्र मुलुक बनेको छ।

'यो दैनिक सङ्घर्ष हो'

श्रीराम सिंह अस्पताल सञ्चालक डाक्टर गौतम सिंहले उनको अस्पतालमा ५० कोभिड शय्या र १६ आईसीयू शय्या रहेको बताए। तर उनले अक्सिजन आउने निश्चित नभएकाले बिरामी भर्ना गर्न अस्वीकार गर्नुपरिरहेको बताए।

उनले सहयोगको याचना गर्दै अक्सिजन उपलब्ध गराइदिन सार्वजनिक रूपमा सहयोगको याचना गरिरहेका छन्।

उनी भन्छन्, "हामीले हरेक दिन सङ्घर्ष गरिरहेका छौँ। मेरा आधाजसो कर्मचारीहरू एक ठाउँबाट अर्को गर्दै अक्सिजन सिलिन्डर भर्न चहारिरहेका छन्।"

उनले गरेको त्यस्तै अपील मैले पनि ट्वीट गरेको थिएँ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational grey line

अक्सिजन नपाएकै कारण बिरामीको ज्यान जाने अवस्था सम्झेर आफूलाई निद्रा नआउने गरेको उनले बताए।

"म अक्सिजन खोज्न भौँतारिने होइन कि बिरामीको उपचारमा केन्द्रित हुन पाउनुपर्ने हो," उनी भन्छन्।

अरू अस्पतालमा पनि त्यस्तै समस्या परिरहेको बताइएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले सङ्घीय सरकारबाट आवश्यक परेको मात्रामा अक्सिजन प्राप्त गर्न नसकेको बारम्बार बताउँदै आएका छन्। भारतमा सङ्घीय सरकारले प्रदेश सरकारलाई अक्सिजनको कोटा उपलब्ध गराउने गर्छ।

सङ्घीय अधिकारीहरूले अक्सिजन अभाव नभएको तर यातायातको समस्या भएको बताउँछन्।

मानिसहरू अक्सिजन सिलिन्डरमा अक्सिजन भर्न १२ घण्टासम्म लाइन बस्नुपरेको बताइएको छ
तस्बिरको क्याप्शन, अक्सिजन सिलिन्डरमा अक्सिजन भर्न मानिसहरू १२ घण्टासम्म लाइन बस्नुपरेको बताइएको छ

दिल्लीको उच्च अदालतले शनिवार भन्यो, "यो अति भयो।"

"सरकारले अब सबै कुरा उपलब्ध गराउनुपर्छ। किनभने कोटा बनाएको सरकारले हो, उसैले त्यो परिपूर्ति गर्नुपर्छ।"

'मानिसहरू मूल्य चुकाइरहेका छन्'

स्थिति गम्भीर छ।

"सङ्घ र प्रान्त सरकारबीचको खिचातानीको मूल्य सर्वसाधारणले चुकाउनुपरिरहेको छ," एक विश्लेषकले भने।

अस्पतालमा शय्या पाएका बिरामीका परिवार पनि अक्सिजनको अभावका कारण गम्भीर तनावमा परेका छन्।

अस्पतालमा शय्या पाउन नसकेका र अक्सिजन सिलिन्डर किन्न सक्ने हैसियत नभएका मानिसहरूलाई केही परोपकारी संस्थाले सहयोग गर्ने गरेका छन्
तस्बिरको क्याप्शन, अस्पतालमा शय्या पाउन नसकेका र अक्सिजन सिलिन्डर किन्न सक्ने हैसियत नभएका मानिसहरूलाई केही परोपकारी संस्थाले सहयोग गर्ने गरेका छन्

विगत ४८ घण्टा अल्ताफ शमसीका लागि असह्य रह्यो।

उनी र उनका परिवार गत हप्ता कोरोनाभाइरस पोजिटिभ भए।

उनकी गर्भवती श्रीमती गम्भीर बिरामी परिन् र उनलाई अस्पताल लगियो। गत शुक्रवार उनले छोरी जन्माइन्। जटिल प्रक्रियापछि उनले बच्चा जन्माइन् तर उनलाई भेन्टिलेटरमा राख्नुपर्‍यो, अहिले पनि उनको अवस्था गम्भीर छ।

त्यसपछि अल्ताफले उनका बुवा अर्को अस्पतालमा बितेको खबर पाए।

उनकी श्रीमती र छोरी भएको अस्पतालमा अक्सिजन अभाव भयो।

कतैबाट अस्पतालले एक दिनका लागि अक्सिजन व्यवस्था गर्‍यो। तर अल्ताफलाई त्यो समस्या फेरि आउला भनेर तनाव भइरहेको छ।

"भोलि के होला कसलाई के थाहा," उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस भारतः गुरुद्वारामा कोभिड-१९ का बिरामीलाई निःशुल्क अक्सिजन

अक्सिजन अभावको तनावका बीच अस्पतालले कर्मचारी अभाव रहेको भन्दै उनकी श्रीमतीलाई अन्यत्र सार्न भनिरहेको छ।

त्यसको अर्थ हो उनकी श्रीमतीको अक्सिजनको तह र ज्वरो नाप्ने काम उनले नै गरिरहनुपरेको छ।

"म कति पीडामा छु भन्ने तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न," उनले भने।

'मेरा बुवालाई अक्सिजन अभाव भयो'

दिल्लीमा अस्पतालको शय्या पाउन नसकेका कैयौँले घरमै अक्सिजन सिलिन्डर लगाएर बस्नुको विकल्प छैन।

कोरोनाभाइर सङ्क्रमित महिला
तस्बिरको क्याप्शन, गुरुद्वारामा अक्सिजन लिन आइपुगेकी एक कोरोनाभाइरस सङ्क्रमित महिला

अभिषेक शर्माका बाबुको अक्सिजन तह शनिवार घट्न थाल्यो। उनी अक्सिजन सिलिन्डर किन्न दौडिँदै बजाए गए। एक दर्जनभन्दा बढी स्थानमा पुगेपछि उनले सानो एउटा सिलिन्डर पाए जुन छ घण्टाका लागि मात्र पर्याप्त हुन्थ्यो।

पछि उनी बाहिर गएर करिब ९४४ डलर तिरेर एउटा ठूलो सिलिन्डर पाए तर त्यो रित्तो थियो। त्यसलाई उनले अक्सिजन भर्ने विभिन्न केन्द्रमा लगे। एक ठाउँमा उनले भर्न पाउने कुरा भयो तर त्यहाँ निकै लामो लाइन थियो।

"प्रत्येक मिनेट मेरा बुवाको अक्सिजन घट्दै गइरहेको थियो। मैले अरूको पालो मिच्न पनि सकिनँ किनभने सबैको हालत उस्तै थियो।"

उनले छ घण्टापछि पालो पाएर अक्सिजन सिलिन्डर भरे। "तर भोलि पनि मैले यही गर्नुपर्छ" उनले भने।

"सिलिन्डर भर्न सकिनँ भने के हुने होला भन्ने सोचेर म दिक्क हुन्छु," उनले भने।

सार्वजनिक नीति र स्वास्थ्यप्रणालीका विज्ञ डा. चन्द्रकान्त लहरिया भन्छन्, "सरकारलाई बेलैमा सम्भावित सङ्कटबारे चेतावनी दिइएको थियो तर सरकारले कामै गरेन।"

भारतको संसदीय समितिले पनि नोभेम्बर महिनामै अक्सिजन र शय्या अभावबारे सचेत गराएको थियो।

दिल्लीमा शवदाह
तस्बिरको क्याप्शन, दिल्लीमा मसानघाटहरू दिनरात व्यस्त रहन्छन्

डा. लहरिया भारतमा मेडिकल अक्सिजन सङ्कट योजनाको अभाव र वितरण तथा यातायात प्रणाली निश्चित नगरिएकाले आइलागेको ठान्छन्।

सङ्कट सुरु भएको दुई हप्तापछि पनि सास फेर्न आवश्यक अक्सिजन नपाउँदा मानिसहरू स्तब्ध छन्। अनि समस्या कहिले समाप्त होला त्यो देखिएको छैन।

'हामीले सहयोग केन्द्र (वार रूम) खोलेका छौँ'

सङ्कटका समयमा चिन्तित नागरिकहरू सहयोगका लागि तत्पर देखिन्छन्।

तीमध्ये सामाजिक अभियन्ता तथा राजनीतिकर्मी तेहसिन पुनावाला, राजनीतिकर्मी दिलीप पाण्डे, अभियानकर्मी तथा राजनीतिकर्मी श्रीनिवास बीभी र नायक सोनु सूद पनि छन्।

पुनावालाले अक्सिजन अभाव भोगिरहेका साना अस्पताललाई सहयोग गरिरहेका छन्।

उनी भन्छन्, "समस्यामा परेका र सहयोग गर्न सक्ने स्थितिमा रहेका बीच सम्पर्कको माध्यम बनिरहेको छु।"

"हामीले एउटा केन्द्र खोलेका छौँ। मैले चिनेका मानिसलाई मैले फोन गरिरहेको छु," उनी भन्छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दिल्लीमा बिरामीका आफन्त अक्सिजन खोज्न यताउता भौँतारिँदै

उनी भन्छन्, "स्थिति हरेक दिन गम्भीर बन्दै गइरहेको छ।"

"सरकारले अग्रसर हुन आवश्यक छ किनभने हामीजस्ता व्यक्तिसँग असीमित सहयोग गर्ने स्रोत हुँदैन।"

दिल्लीमा अस्पताल चलाइरहेकी एक महिला भन्छिन्, "अक्सिजन नपाएर ज्यान गुमाएका मानिस सम्झेर मेरो निद्रा बिथोलिएको छ।"

"कैयौँका परिवार छन् र केहीका साना बालबच्चा छन्। उनीहरू पछि हुर्किएर 'हामीलाई के भएको थियो' भन्ने प्रश्न सोध्दा हामी के जबाफ दिन सकौँला?"

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड सङ्कट भारतः 'एकैदिन गर्भको बच्चा र पत्नी गुमाएँ'