कोरोना भाइरस भारत: उत्तर प्रदेशमा कोभिड बिरामीलाई अक्सिजन दिने व्यक्तिविरुद्ध किन पर्‍यो उजुरी

विक्की अग्रहरि
तस्बिरको क्याप्शन, विक्की अग्रहरि
Published

भारतको उत्तर प्रदेश राज्यस्थित जौनपुरको एउटा सरकारी अस्पतालबाहिर अक्सिजन अभावमा तड्पिरहेका बिरामीहरूलाई आफ्नो एम्बुलेन्सबाट अक्सिजन दिने युवकविरुद्ध स्थानीय प्रशासनले उजुरी दर्ता गरेको छ।

उक्त कदमलाई कैयौँले अरूलाई सहायता गर्न चाहने मानिसलाई प्रशासनले अवरोध गर्न खोजेको रूपमा हेरिरहेका छन्।

ती युवकले अस्पतालबाहिर "अव्यवस्था उत्पन्न गरेको र स्वास्थ्यकर्मीलाई समस्या भएको" प्रशासनको तर्क छ।

जौनपुर जिल्लाका प्रमुख अधिकारी मनीष वर्माले बीबीसी हिन्दीसँग कुराकानी गर्दै भने, "अहिले ती युवकविरुद्ध कुनै कारबाही गरिएको छैन, एडीएमको समूहले पूरै मामिलाबारे जाँच गरिरहेको छ। प्रशासनको उद्देश्य कसैलाई बिनाकारण दण्डित गर्ने होइन।"

विक्की अग्रहरि

जौनपुर कोतवालीमा विक्की अग्रहरि नामका ती युवकविरुद्ध महामारी ऐनको दफा ३ र भारतीय दण्डसंहिताको दफा १८८ तथा २६९ अनुसार जाहेरी दर्ता गरिएको छ।

यो जाहेरी जौनपुरका मुख्य चिकित्सा अधीक्षक (सीएमओ) को उजुरीका आधारमा दर्ता गरिएको हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दिल्लीमा बिरामीका आफन्त अक्सिजन खोज्न यताउता भौँतारिँदै

विक्की अग्रहरिले बीबीसी हिन्दीसँग कुरा गर्दै भने, "मैले बिरामीहरू अक्सिजन नभएर तड्पिरहेको देख्न सकिनँ। त्यसैले आफ्नै एम्बुलेन्सबाट सिलिन्डर निकालेर अक्सिजन दिएँ।"

आफ्नो उजुरीमा सीएमओले भनेका छन्, "विक्की र अन्य व्यक्तिहरू टिकट काउन्टरनजिकै सास फेर्न समस्या भइरहेका बिरामीहरूलाई सिलिन्डरबाट अक्सिजन दिइरहेका थिए र भिडिओ बनाइरहेका थिए।"

"उनीहरूले त्यहाँ रहेका व्यक्तिहरूलाई शासन-प्रशासनका तर्फबाट केही व्यवस्था गरिएको छैन र हामीहरू बिरामीहरूलाई बताउने कोसिस गरिरहेका छौँ भनिरहेका थिए।"

विक्की अग्रहरि

सहयोग गर्ने युवकविरुद्ध जाहेरीले प्रशासनको छविप्रति नकारात्मक असर पर्न सक्ने हुँदाहुँदै किन जाहेरी दर्ता गरियो भन्ने प्रश्नमा डीएम मनीष वर्माले भने, "मेरो जानकारी अनुसार ती युवक अस्पतालबाहिर बिरामीहरूलाई अक्सिजन दिएर भिडिओ बनाइरहेका थिए।"

"त्यस बेला अस्पतालमा शय्याहरू उपलब्ध थिए। जसलाई बाहिर अक्सिजन दिइयो उनीहरू सबैलाई अस्पतालमा भर्ना गरिएको थियो।"

"हाम्रा अधिकारी र स्वास्थ्यकर्मी पनि आफ्नो ज्यान खतरामा राखिरहेका छन्। उनीहरूको कोसिसले त मिडियामा स्थान पाउँदैन। तर जब कुनै नकारात्मक खबर आउँछ त्यसलाई ठूलो बनाइन्छ। यसले अधिकारीहरूको मनोबल गिर्छ।"

उनले कोरोनाभाइरसको दोस्रो लहरका बीच पनि जौनपुरमा स्थिति धेरै हदसम्म नियन्त्रणमा रहेको र अक्सिजन तथा शय्याको सङ्कट नभएको दाबी गरे।

विक्की अग्रहरि

विक्की अग्रहरि को हुन्?

चौतीस वर्षीय विक्की अग्रहरि एम्बुलेन्स चालक हुन्।

बीबीसी हिन्दीसँग कुरा गर्दै उनले भने, "मसँग एम्बुलेन्समा दुईवटा सिलिन्डर थिए। दुई साताअघि मैले आफ्नी पत्नीको सुन बेचेर अन्य चार सिलिन्डर किनेँ।

"दुई सिलिन्डर मलाई दानमा प्राप्त भयो। मैले हालसम्म १०० जनाभन्दा बढीलाई अक्सिजन दिएर मद्दत गरिसकेको छु।"

उनका अनुसार उनले २०,००० भारु प्रतिसिलिन्डरका दरमा अक्सिजन किनेका हुन्।

विक्की अग्रहरि

बुधवार एकजना गम्भीर बिरामीलाई अस्पतालमा लिएर जाँदा त्यहाँ अक्सिजन नपाएर छटपटाइरहेका बिरामी देखेपछि आफूले एम्बुलेन्सको अक्सिजन दिएको उनी बताउँछन्।

एक जनालाई अक्सिजन दिएपछि अन्य बिरामी पनि आएर भिड लागेको उनको दाबी छ।

उत्तर प्रदेश सरकारको कोभिड नीतिलाई लिएर चर्को आलोचना गर्ने सूर्यप्रताप शाहीले सरकारले सहायता गर्नेविरुद्ध जाहेरी दर्ता गरेर उनीहरूलाई हतोत्साह गर्ने कोसिस गरेको बताए।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड सङ्कटः 'एकैदिन गर्भको बच्चा र पत्नी गुमाएँ'