नेपाल क्रिकेट: त्रिदेशीय टी-२० शृङ्खलामा दोस्रो विजय, मलेशिया नौ विकेटले पराजित

कुशल भु्र्तेल
Published
पढ्ने समय: २ मिनेट

नेपालले लगातार दोस्रो विजय हात पार्ने क्रममा कीर्तिपुर क्रिकेट मैदानमा मलेशियालाई सजिलै हराएको छ।

त्रिकोणात्मक टी-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेशियालाई सोमवार नौ विकेटले पराजित गरेको हो।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो ब्याटिङ प्रदर्शन गरेकाले नेपालले मलेशियाले दिएको ११० रनको लक्ष्य १२.१ ओभरमै पूरा गर्‍यो।

शनिवार आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई पनि नेपालले नौ विकेटले नै पराजित गरेको थियो।

कीर्तिपुरमा आयोजित खेलमा उल्लेख्य सङ्ख्यामा नेपाली दर्शकहरू उपस्थित थिए।

नेपालको लय

नेदरल्याण्ड्स विरुद्धको पहिलो खेलमा जमेका कुशल भुर्तेल र आशिफ शेखले फेरि पनि प्रभावकारी ओपनिङ गरे।

आक्रामक खेलेका भुर्तेलले २६ बलमा अर्धशतक पूरा गरेका थिए। उनी तीन चौका र पाँच छक्का प्रहार गर्दै ६१ रनमा नटआउट रहे।

शेखले भने २९ बलमा ४२ रन बनाए। उनले चार चौका र एक छक्का प्रहार गरेका थिए।

दीपेन्द्रसिंह ऐरीले छ रनमा नटआउट रहे। उनले विजयी चौका प्रहार गरे।

राष्ट्रिय टोलीबाट दोस्रो खेल खेलिरहेका भुर्तेलको यो लगातार दोस्रो अर्धशतक हो।

पूर्वकप्तान पारस खड्काले नेपाली टोलीको प्रदर्शनको प्रशंसा गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

अभ्यास गर्ने क्रममा घाइते भएकाले खड्काले यो शृङ्खलामा खेल्न पाएनन्। उनको दाहिने काँधमा चोट लागेको छ

मलेशियाको कमजोर ब्याटिङ

टस जितेर फिल्डिङ रोजेको नेपालले परिचित प्रतिद्वन्द्वी टोली मलेशियालाई १६.५ ओभरमा १०९ रनमा रोकेको थियो।

यसअघि मलेशियाले निरन्तर विकेट गुमाउन पुगेपछि फितलो स्कोरमै अलआउट भएको थियो।

नेपालका लागि करण केसीले तीन, सन्दीप लामिछानेले दुई र अन्य चार खेलाडीले एक-एक विकेट लिएका थिए।

मलेशियाका लागि सैयद अजीजले २७, शर्भीन मुनियान्डीले २० र शफिक शरिफले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन्।

करण केसी

आइतवार नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट खेल्दै ८७ रन बनाएका वीरनदीप सिंहले नेपालविरुद्ध छ रन मात्रै बनाएका थिए।

म्यान अफ द म्याच केसीले तीन ओभरमा १७ रन खर्चेर तीन विकेट लिए भने सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र साहब आलमले १/१ विकेट हात पारेका थिए।

ऐरीले टी-ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक बलिङ गरेका हुन्।

नेपाल र मलेशियाबीच अहिलेसम्म भएका पाँच टी-ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा यो नेपालको चौथो विजय हो।

नेपाली खेलाडीहरू

अबको खेल

दुई खेलमा दुवै जितेको नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ।

नेपालले मङ्गलवार नेदरल्यान्ड्सविरुद्ध र बिहीवार मलेशियाविरुद्ध खेल्नेछ।

बुधवार मलेशियाका सामु नेदरल्यान्ड्सविरुद्ध आइतवारको पराजयको बदला लिने मौका हुनेछ।

शीर्ष दुई टोलीबीच शनिवार फाइनल खेल हुनेछ।

Presentational grey line

यो पनि पढ्नुहोस्