ध्रुवीय भालुसँग पौडी खेलेर आफ्नो विचित्र सपना पूरा गर्ने फोटोग्राफर

तीनवटा ध्रुवीय भालु
तस्बिरको क्याप्शन, डेढ दशकको प्रतीक्षा र ठूलो खर्च गरेपछि खिचिएको तस्बिर
Published

"डरले मलाई चनाखो बनाउँछ, तर त्यसले मलाई कुनै पनि काम गर्न रोक्न सकेको छैन," समुद्रमुनिका तस्बिरका खिचेर अन्तर्राष्ट्रिय ख्याति कमाएका फोटोग्राफर आमोस नाचोम भन्छन्।

एन्टार्क्टिकादेखि हाई आर्क्टिकसम्म उनले एकदमै जोखिमपूर्ण वातावरणमा पानीमुनि बस्ने विश्वकै केही उत्कृष्ट र खतरनाक जीवहरूको तस्बिर खिचेका छन्।

उनले ब्लू ह्वेल, ओर्का, एनकोन्डा, नाइल गोहीँ र शार्कजस्ता जीवको फोटो खिचेका छन्।

तर अन्य अधिकांश फोटोग्राफरहरूले प्रयोग गर्ने जस्तो सुरक्षाकवच उनी प्रयोग गर्दैनन्।

ह्वाइट शार्क
तस्बिरको क्याप्शन, आमोस कुनै सुरक्षाकवचबिनै तस्बिर खिच्छन्

"म तस्बिरमा शार्कसँग जुध्नका लागि के आवश्यक पर्छ भनेर देखाउन चाहान्छु," उनले बीबीसीको रेडिओ कार्यक्रम आउटलुकसँग भने।

"हामीले जिस्काएनौँ भने वा हामीले उत्तेजित बनाएनौँ भने हामी उससँग शान्तपूर्वक रहन सक्छौँ।"

'राक्षस होइन'

भीमकाय ह्वाइट शार्कको तस्बिर खिच्दा उनी जम्मा एक मिटर टाढा रहेका थिए।

हामी शार्कको दाँतलाई आतङ्कको प्रतीकका रूपमा लिन्छौँ।

शार्क
तस्बिरको क्याप्शन, डरलाग्दा मानिने जीवहरूको तस्बिर खिच्नु आमोसको रुचि हो

तर यी इजरेली फोटोग्राफरले शार्कमा लालित्य, शक्ति र सुन्दरता देख्छन्।

विगत ४५ वर्षदेखि उनी शार्कजस्ता जीवहरू मानिसको ज्यान लिने निर्मम जीव हुन् भन्ने अवधारणा यथार्थपरक नभएको विश्वास दिलाउने प्रयास गरिरहेका छन्।

उनी बारम्बर भन्छन्, "समुद्रमा कुनै राक्षस छैनन्।"

कैयौँ पुरस्कार जितेका आफ्नो विधाका चर्चित फोटोग्राफर आमोसले १२ वर्षको उमेरमा पहिलो पटक आफ्नो बुवाको सामान राख्ने कक्षमा पहिलो पटक क्यामरा देखेका थिए।

लिबियाबाट भागेका उनका यहुदी मातापिता त्यसबेला तेलअभिभमा बस्थे।

शिकार
तस्बिरको क्याप्शन, पेन्गुइनको सकार गर्न लागेको एउटा सील

आमोसले पुरानो क्यामरा चलाउन सिके र फोटो खिच्न थाले।

फोटोग्राफीले आफूलाई अभिव्यक्त गर्ने अवसर दिएको भन्दै उनले १४ वर्षको उमेरमा घर छाडेका थिए।

उनले स्थानीय माझीहरूबाट पौडी खेल्न सिकेका थिए।

इजरेलबाट पर

इजरेलमा विद्यमान अनिवार्य सैन्य सेवाको नियमानुसार उनी सन् १९७३ को अरब-इजरेल युद्धमा सहभागी भए।

ह्वेल
तस्बिरको क्याप्शन, क्यामरामा हेरिरहेको बेलुगा ह्वेल

आमोस हिंसाबाट आफूलाई आघात पुगेको भन्दै उनी नयाँ जीवन थाल्न इजरेल छाडेर संयुक्त राज्य अमेरिका पुगेको बताउँछन्।

उनले पौडी खेल्न सिकाउने प्रशिक्षक को काम नपाउन्जेलसम्म उनले न्यूयोर्कमा ट्याक्सी चलाउने काम गरे।

पर्यटकहरूको एउटा समूहलाई गोता लगाउन लिएर जाँदा एक ज्येष्ठ अमेरिकी नागरिकले समुद्रमुनि क्यामराबाट फोटो खिचेको देखेपछि उनलाई पनि त्यसै गर्न सक्छु जस्तो लाग्यो।

आमोस
तस्बिरको क्याप्शन, डाइभिङ र फोटोग्राफीको आफ्नो सोखलाई उनले व्यवहारमा उतारेका छन्

डाइभिङ र फोटोगाफ्रीलाई मिसाएर उनले समुद्रमुनि बस्ने ठूला जीवहरूको तस्बिर खिच्न थाले।

"शार्क, ह्वेलजस्ता ठूला जनावरहरूसँगको सम्बन्धलाई एकदमै नकारात्मक मानिन्थ्यो। तर मेरो सम्बन्ध एकदमै सकारात्मक रह्यो।"

मुख्य सपना

पानीमुनि पोलर बेअर अर्थात् ध्रुवीय भालुको फोटो खिच्ने पहिलो व्यक्ति बन्ने आमोसको ठूलो लक्ष्य थियो।

त्यो कुरा सुन्दा उनका पिताले "आत्मघाती अभियान" भनेको उनी अझै सम्झन्छन्।

तर त्यसबाट विचलित नभई उनी सन् २००० को वसन्तयाममा उत्तर आर्क्टिक क्षेत्रको यात्रामा निस्किए।

स्थानीय पथप्रदर्शकको सहयोगले उनले एउटा भाले भालु देखे र पानीमा हाम फाले। "यस्तो गर्नुअघि तपाईँसँग एउटा कुशल पथप्रदर्शक र अनुभव हुनुपर्छ किनभने त्यहाँ दुर्घटनाको जोखिम रहन्छ।"

त्यस बेला भालु नजिक आइरहँदा हावाले डुङ्गालाई आमोसभन्दा परपर धकेलिरहेको थियो।

तर आमोसले त्यसअघि नै गृहकार्य गरेका थिए। उनलाई ध्रुवीय भालुहरू १० मिटरभन्दा मुन्तिर पौडी खेल्न असक्षम भएको ज्ञान थियो।

"पोलर बेअर गह्रुँगो भएकाले उसको शरीरमा अत्यधिक बोसो हुन्छ र रौँ पनि हुन्छ। तर मुन्तिर जान उसले निक्कै मेहनत गर्नुपर्ने हुन्छ।"

हडसन बेमा खिचिएका तीनवटा पोलार बेयर
तस्बिरको क्याप्शन, उनले खिचेका फोटोहरू लोकप्रिय छन्

दशकौँ लामो अनुभवले उनलाई आक्रमण हुन लागेको अवस्थामा सङ्केतहरू बुझ्न सहयोग गर्‍यो।

धन्न बाँचेको क्षण

उक्त भालु छ मिटरको दूरीमा अइपुग्दा आमोस पौडिएर तलतिर जान थाले र भालुले उनलाई पछ्याउन थाल्यो।

"त्यसपछि सबै नाटकीय भयो। म १५ देखि १७ मिटरमा थिएँ र त्यो तल आइरह्यो। मैले उसको पञ्जा, नाक र नाकवरिपरिको भाग मात्रै देखेँ। वास्तवमै म डराएँ।"

आमोससँग उक्त विशाल भालुसँग लड्नु वा भाग्नुबाहेक अरू विकल्प थिएन।

"झन्डै ७५ फीटमा हुँदा मैले माथि हेरेँ। ठाडिएर मलाई हेर्नुको साटो भालु तेर्सो परेर पानीको सतहमा पौडिरहेको थियो।"

बच्चासँग पोलार बेयर
तस्बिरको क्याप्शन, ध्रुवीय भालु गहिरो ठाउँमा पौडिन सक्दैन

उनी धन्न जोगिए। माथि सतहमा आइपुग्दा त्यो भालु गइसकेको थियो।

आर्क्टिकमा यात्रा गर्न धेरै खर्चको जोहो गर्नुपर्छ। त्यहाँ जान विमान भाडामा लिनुपर्ने र पालको व्यवस्था पनि गर्नुपर्छ।

आफ्नो सपना पूरा गर्न ध्रुवीय भालुको तस्बिर खिच्न आमोस दोस्रो पटक प्रयास गर्ने सङ्कल्प गरे।

दोस्रो परीक्षा

उक्त अवसर वर्षौँपछि आयो। उनका विद्यार्थी योनाटन मिरले आमोसबारे वृत्तचित्र बनाउँदै थिए।

त्यसका लागि दुवै जना सन् २०१५ मा आर्क्टिक गएका थिए।

दश लाख डलर बजेको उक्त परियोजनाले उनीहरूलाई त्यहाँ पाँच दिन मात्रै बस्न समय उपलब्ध गराउँथ्यो।

आमोस
तस्बिरको क्याप्शन, आफूलाई लखेट्दै भालु आएपछि आमोस डराएका थिए

उनीहरूले चार दिन प्रयास गर्दा केही हात परेन। तर अन्तत: उल्लासको क्षण आएरै छाड्यो।

उनले भने, "हामीले उनीहरू पहाडबाट तल पानीतर्फ आउँदै गरेको देख्यौँ।"

उनीहरूले दुइटा डमरुसहित एउटी पोथी भालु देखेका थिए।

ध्रुवीय भालुलाई दुइटा बच्चासँग तस्बिर खिच्नु स्टिल फोटोग्राफरका लागि पहिलो अवसर हुन्थ्यो।

यसपालि आमोससँगै एडम पनि गोता लगाउँदै थिए।

A group of fish swimming together
तस्बिरको क्याप्शन, आमोसले चार दशक भन्दा बढी समयदेखी समुद्रलाई पछ्याइरहेका छन्

"उनीहरू नजिकै आउँदै गए र सीधै हामीतिरै आइरहे। मैले एड‍मलाई हेरेँ र मुखबाट रेगुलेटर बाहिर निकालेँ। म मुस्कुराएँ र पुन: रेगुलेटर लगाएर पानीमुनि गएँ।"

उक्त पोथी भालु टाउकोमाथि आउँदा उनले तस्बिर खिचे।

उक्त तस्बिरमा भालुको आकृति देखियो। केही समय कुरेर उनले भालुले आफूलाई हेरिरहेको फोटो खिचे।

"सुरुमा पोथी भालु पानीमाथि नै थिई। त्यसपछि उसले टाउको तल राखी। मैलै आफूले चाहे जति धेरै तस्बिर खिचेँ।"

आमोस

'मेरो नायक'

ध्रुवीय भालुबारे सम्झना गरिरहँदा यी वृत्तचित्र निर्माताले इजरेलमा ओछ्यानमा परेका आफ्ना पितासँग कुरा गरेका थिए।

उनले आमोसलाई "मेरो राम्रो बाबु, मेरो उन्मत्त छोरा र मेरो नायक" भनेका थिए।

आफ्नो वयस्क जीवनको अधिकांश समयमा आमोसले आक्कलझुक्कलमात्रै आफ्ना बुवासँग कुरा गरेका थिए।

"म अक्क न बक्क भएँ। उनको मुखबाट निस्केका कुरा र उनले मेरा बारेमा राखेका धारणा मलाई विश्वास गर्न गाह्रो लाग्यो।"

अमोस
तस्बिरको क्याप्शन, सन् २०२१ को ज्यानुअरीमा उनले आफ्नो ७० औँ जन्मदिन मनाए

उनी इजरेल नफर्की उनका पिताको निधन भयो।

तर फर्किएपछि उनले आफ्नो पिताको समाधिमा आफूले खिचेको ध्रुवीय भालुसहितको तस्बिर लगेका थिए।

"बुवाले प्राप्त गर्न सकिँदैन भनेको उपलब्धि मैले हात पारेको थिएँ," चर्चित फोटोग्राफर थप्छन्, "उनले मलाई आफ्नो उत्कृष्टता प्रस्तुत गर्न चुनौती दिएका थिए।"