डोनल्ड ट्रम्प महाभियोग: अमेरिकामा महाभियोग खेपेका राष्ट्रपतिहरूको यस्तो छ इतिहास

Bill Clinton in 1998
Published

राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले दुई पटक महाभियोग लगाउने इतिहासकै पहिलो राष्ट्रपति बनेका छन्।

उनीसहित अहिलेसम्म तीन जनाले अमेरिकाको संसद्‌मा महाभियोग खेपेका छन् भने एक जनाले महाभियोगको मुखमा परेपछि पदत्याग गरेका थिए।

अरू राष्ट्रपतिलाई किन महाभियोग लगाइएको थियो र पछि के भएको थियो?

Presentational grey line

एन्ड्रू जनसन

एन्ड्रू जोनसन
तस्बिरको क्याप्शन, एन्ड्रू जनसन अमेरिकाको इतिहासमा महाभियोग लाग्ने प्रथम राष्ट्रपति हुन्

उनले के गरेका थिए?

गृहयुद्धको छायामा डेमोक्र्याट राष्ट्रपति एन्ड्रू जनसनले दक्षिणी अमेरिकालाई कसरी पुन: एकीकरण गर्ने भन्ने विषयमा रिपब्लिकनहरूको बाहुल्य रहेको कङ्ग्रेससँग लगातार विवाद गरे।

त्यस बेलाका 'कट्टरपन्थी रिपब्लिकनहरू'ले पूर्वकन्फेडरेट नेताहरूलाई दण्डित गर्न र मुक्त गरिएका दासहरूको अधिकार रक्षाका लागि कानुन अघि सारे।

जनसनले रिपब्लिकनहरूको प्रत्येक प्रयास रोक्न 'भीटो' अर्थात् राष्ट्रपतीय विशेषाधिकार प्रयोग गरे।

मार्च महिनामा कङ्ग्रेसले सिनेटको अनुमोदनबिना राष्ट्रपतिले मन्त्रिपरिषद् सदस्यलाई बर्खास्त गर्न नसक्नेगरी राष्ट्रपतिको अधिकार कटौती गरिएको कानुन 'टेन्यर अफ अफिस एक्ट' बनायो।

कङ्ग्रेस अधिवेशन स्थगित भएका बेला त्यसलाई चुनौती दिँदै जनसनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी र मन्त्रिपरिषद् सदस्य एविन स्ट्यान्टनलाई निलम्बन गरे।

तर त्यसको प्रतिवादमा स्ट्यान्टनले कार्यालय छाड्न अस्वीकार गर्दै आफूलाई कार्यालयभित्र बन्द गरे। तल्लो सदनका रिपब्लिकनहरूले हतारमा महाभियोगको प्रस्ताव तयार पारे।

काठमा कुँदिएको यो दृश्यमा सिनेटमा एन्ड्रू जनसनविरुद्ध महाभियोगको सुनुवाइ देखाइएको छ
तस्बिरको क्याप्शन, काठमा कुँदिएको यो दृश्यमा सिनेटमा एन्ड्रू जनसनविरुद्ध महाभियोगको सुनुवाइ देखाइएको छ

मतदान भएपछि त्यो प्रस्ताव माथिल्लो सदन सिनेटमा प्रस्तुत भयो।

परिणाम के भयो?

तर महाभियोग पारित हुन आवश्यक दुईतिहाइ मतका लागि एक सांसदको समर्थन नपुगेर उनी जोगिए।

आफूविरुद्ध महाभियोग पारित नभएपछि उनी भावुक भएर रोएको र आफ्नो प्रतिष्ठा पुनः स्थापित गर्ने वाचा गरेको बताइन्छ।

तर त्यसो हुन सकेन। उनले आफ्नो बाँकी कार्यकाल त पूरा गरे तर अन्तिमतिर फेरि महाभियोगअघि जस्तै शक्तिसङ्घर्ष भयो।

अन्ततः सन् १८६९ को निर्वाचनमा डेमोक्र्याटहरूले ह्वाइट हाउसको सत्ता गुमाए। रिपब्लिकन दल विजयी भयो।

अमेरिकाले उनकै कार्यकालमा सन् १९६७ मा अलास्का ७२ लाख डलर तिरेर किनेको थियो।

उनी विपन्न राष्ट्रपति थिए। उनले विद्यालय गएर अध्ययन गरेका थिएनन्।

सन् १८६४ को निर्वाचनमा रिपब्लिकन दलले छापेको पोस्टर
तस्बिरको क्याप्शन, सन् १८६४ को निर्वाचनमा रिपब्लिकन दलले छापेको पोस्टर
Presentational grey line

रिचर्ड निक्सन

रिचर्ड निक्सन

उनले के गरेका थिए?

उनलाई वाशिङ्टन डीसीस्थित डेमोक्र्याटिक पार्टीको मुख्यालय रहेको वाटरगेट भवनमा सन् १९७२ मा भएको चोरीका कारण महाभियोग लगाइएको हो।

अनुसन्धानहरूबाट वाटरगेटमा छिरेका चोरहरूले निक्सनको पुनर्निर्वाचन अभियानबाट रकम लिएको रहस्योद्घाटन भएको थियो। त्यसमा ह्वाइट हाउसका उच्च अधिकारीहरूको संलग्नता देखियो।

निक्सनले उक्त षड्यन्त्रमा आफ्नो भूमिका नभएको देखाउन झन्डै दुई वर्ष निकै सङ्घर्ष गरे। तर ती रिपब्लिकन राष्ट्रपतिको प्रयास निरर्थक बन्यो।

अगस्ट १९७४ मा तल्लो सदनको न्यायिक समितिले महाभियोग प्रस्ताव तयार गरेपछि उनी ओभल अफिसका रिकर्डिङहरू उपलब्ध गराउन बाध्य भए।

तिनमा उनले वाटरगेट भवनमा भएको चोरीको अनुसन्धान रोक्न सङ्घीय जाँच ब्यूरोलाई आदेश दिन आफ्ना कर्मचारीलाई अह्राएको सुनिन्छ।

ढाकछोप गर्ने निक्सनको अन्तिम प्रयास त्यहीँ अन्त्य भयो।

जुलाई २७ मा न्यायिक समितिले निक्सनले न्यायमा अवरोध, शक्तिको दुरुपयोग र संसद्को अपमान गरेको अभियोगको पक्षमा मतदान गर्दै पूर्ण बैठकमा पठाउने निधो गर्‍यो। तर मतदान भएन।

रिचर्ड निक्सन
तस्बिरको क्याप्शन, राजीनामा घोषणा गरेपछि रिचर्ड निक्सनले आफ्ना कर्मचारी र सहयोगीहरूसँग बिदा मागेका थिए

सन् १९७४ अगस्ट ८ मा उनले राजीनामा दिए।

अमेरिकाको इतिहासमा राजीनामा दिएर पदत्याग गर्ने उनी एक मात्र राष्ट्रपति हुन्।

आफूले कहिल्यै पराजय स्वीकार नगरेको भन्दै उनले राजीनामा घोषणा गर्दा कार्यकाल सकिनुअघि नै पद छोड्नु आफ्नो इच्छा नभए पनि अमेरिकाको हितलाई प्राथमिकतामा राख्नु परेको बताएका थिए।

परिणाम के भयो?

निक्सनले पदत्याग गरेको छ सातापछि उपराष्ट्रपति जेरल्ड फोर्ड राष्ट्रपति बने। फोर्डले निक्सनलाई पदासीन हुँदा गरेका सबै अपराधका लागि क्षमादान दिए।

झन्डै दुई वर्षपछि भएको निर्वाचनमा फोर्ड डेमोक्र्याटिक पार्टीका जिमी कार्टरसँग पराजित भए।

निक्सनले कहिल्यै कुनै फौजदारी अपराध गरेको स्वीकार गरेनन्। तर वाटरगेट काण्डमा उनको कदम राष्ट्रपतीय अधिकारको दुरुपयोगको एउटा उदाहरणका रूपमा स्थापित भएको छ।

राजीनामा दिएको २० वर्षपछि सन् १९९४ को एप्रिल महिनामा उनको निधन भयो।

उनको अन्तिम संस्कारमा बोल्दै राष्ट्रपति बिल क्लिन्टनले विदेश नीतिमा निक्सनले गरेको कामको चर्चा गरेका थिए।

Presentational grey line

बिल क्लिन्टन

बिल क्लिन्टन

उनले के गरेका थिए?

निक्सनका गल्तीलाई क्षमा गर्नुपर्ने धारणा राख्ने बिल क्लिन्टन पछि आफैँ राजनीतिक सङ्कटमा परे।

राष्ट्रपति बनेको एक वर्षभित्रै क्लिन्टन न्याय मन्त्रालयका विशेष अभियोजनकर्ताको अनुसन्धानमा परे।

विशेष काउन्सेल केनथ स्टारको नेतृत्वमा घरजग्गा कारोबारसम्बन्धी अनुसन्धान सन् १९९८ को ज्यानुअरीमा विस्तार भएर राष्ट्रपति क्लिन्टनको ह्वाइट हाउसकी पूर्वकर्मचारी मोनिका लेविन्स्कीसँगको सम्बन्धसम्म पुग्यो।

जोन्समाथि यौन दुर्व्यवहार गरेको फरक अभियोगका क्रममा क्लिन्टनसँग उनको लेविन्स्कीसँगको सम्बन्धबारे सोधपुछ गरिएको थियो।

उनले ज्यानुअरी १७ मा आरोप अस्वीकार गरे।

मोनिका लेविन्स्की
तस्बिरको क्याप्शन, बिल क्लिन्टनमाथि भएको अनुसन्धानमा मोनिका लेविन्स्की सहभागी हुन सहमत भएकी थिइन्

केही दिनपछि उनले ह्वाइट हाउसमा फेरि लेविन्स्कीसँगको सम्बन्ध अस्वीकार गरे।

"मैले कहिल्यै ती महिला मोनिका लेविन्स्कीसँग यौन सम्बन्ध राखेको छैन। मैले कहिल्यै कुनै व्यक्तिलाई ढाँट्न भनेको पनि छैन," उनले भने।

सन् १९९८ को सेप्टेम्बर ९ तारिखमा स्टारले संसद्‍लाई आफ्नो प्रतिवेदन दिए।

सर्वसाधारण जनताले पनि हेर्न पाएको ४४५ पृष्ठको उक्त प्रतिवेदनमा लेविन्स्कीको यौनसँग सम्बन्धित बयान समाविष्ट छ।

त्यसमा उनले अनुसन्धानलाई सहयोग गरेबापत उन्मुक्ति पाउने सम्झौता गरिएको उल्लेख छ।

प्रतिवेदनमा महाभियोग लगाउन सकिने सम्भावित ११ वटा कारण प्रस्तुत गरिएको थियो।

सन् १९९८ को डिसेम्बरमा हाउस अफ रेप्रिजेन्टेटिभ्समा क्लिन्टनमाथि झुटो बयान दिएको र संसद्लाई अवरोध गरेको भन्दै महाभियोग लगाउने पक्षमा मतदान भयो।

न्यूयोर्क टाइम्स

फेब्रुअरीमा रिपब्लिकनहरूको को बाहुल्य भएको सिनेटले उनलाई सफाइ दियो।

परिणाम के भयो?

उक्त यौन प्रकरण अमेरिकामा वर्षौँसम्म चर्चामा रह्यो। तर राजीनामाको बढ्दो मागलाई राष्ट्रपतिले भने बेवास्ता गरिरहे।

उक्त प्रकरणपछि १९९८ को उपनिर्वाचनमा आफूलाई लाभ हुने रिपब्लिकनहरूको अपेक्षा पूरा भएन।

दुवै सदनमा डेमोक्र्याटिक दलको अवस्थामा सुधार भयो।

क्लिन्टनले जनमत सर्वेक्षणमा ६५ प्रतिशतको अनुमोदन प्राप्त गर्दै सन् २००१ को ज्यानुअरीमा कार्यालय छाडे। त्यस्तो समर्थन विगत ५० वर्षमा सबै पूर्ववर्तीको भन्दा धेरै थियो।

तर उनको पार्टीले फ्लोरिडामा भएको पुनर्गणनामा ह्वाइट हाउस गुमायो। एल गोरलाई हराउँदै जर्ज डब्ल्यू बुश राष्ट्रपति बने।

तर सम्पूर्ण प्रक्रियामा उनको उच्च लोकप्रियताको दरले देखाउँछ अघिल्ला दुई राष्ट्रपतिले सामना गरे जस्तो महाभियोगले उनलाई कुनै क्षति पुर्‍याएन।