अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग प्रयास हुनुका कारणहरू

ट्म्प
Published

अमेरिकामा डेमोक्र्याटिक दलका नेताहरू राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोगसम्बन्धी संसदीय छानबिन अघि बढाउन चाहिरहेका छन्।

यदि उनीहरू सफल भए त्यो प्रयास राष्ट्रपति ट्रम्प हटाइनुको कारण बन्न सक्छ। तर वासिङ्टनका दलहरूमा रहेको विभाजनका कारण महाभियोगबाट राष्ट्रपति हटाउने कार्य निकै कठिन प्रक्रिया हो।

महाभियोगको प्रक्रियाको जटिलताकै कारण इतिहासमा हालसम्म यस्ता प्रयास सफल हुन सकेको छैन।

महाभियोगको प्रस्तावले काम नगर्ने सम्भावना पनि भएको र यसले डेमोक्र्याटिक दललाई जोखिममा पनि पार्न सक्ने आकलन भएको अवस्थामा किन डेमोक्र्याट सांसदहरू यो प्रस्तावलाई किन अगाडि सारिरहेका छन्?

अमेरिकामा महाभियोग किन जटिल छ र डेमोक्र्याटिक दल किन जोखिम मोल्न तयार छ भन्ने विषयका पछाडि केही कारणहरू छ।

महाभियोग किन कठिन छ?

महाभियोगको प्रस्ताव संसद्को दुवै सदनबाट अघि बढ्ने हुँदा राष्ट्रपतिलाई यो प्रकियाबाट हटाउन गाह्रो हुन्छ।

"हाउस अफ रिप्रजेन्टेटिभ्सलाई सामान्य बहुमतको मात्र खाँचो पर्छ। डेमोक्र्याटहरूको नियन्त्रणमा रहेको संसद्ले रिपब्लिकन दलका राष्ट्रपतिलाई अपराध गरेको पुष्टि गर्न सके महाभियोग लगाउन सक्छ," जर्ज वासिङ्टन विश्वविद्यालयमा कानुन विषयका प्राध्यापक जोनाथन टुर्लेएले भने।

राष्ट्रपति एन्ड्रिउ जनसन र बिल क्लिन्टन
तस्बिरको क्याप्शन, अमेरिकामा हालसम्म दुई जना राष्ट्रपतिले महाभियोगको सामना गरेका छन्। सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जनसन र सन् १९९८ मा बिल क्लिन्टन तर ती दुवैजनालाई सिनेटले दोषमुक्त गरिदिएको थियो।

राष्ट्रपतिमाथि लगाइएका आरोप सही छ कि छैन र कस्तो अवस्थामा राष्ट्रपतिलाई महाभियोग लगाउन सकिन्छ भन्ने विषयको निर्णय सिनेटले गर्छ। तर त्यसका लागि सामान्य बहुमत पर्याप्त हुँदैन।

"राष्ट्रपति ट्रम्पलाई सिनेटमार्फत् दोषी करार गर्ने सम्भावना निकै कम छ।"

"सिनेटमा रिपब्लिकनहरूको बहुमत छ जबकि दोषी करार गर्न दुई तिहाइ बहुमतको आवश्यकता पर्छ," प्राध्यापक टुर्लेएले भने।

राष्ट्रपतिलाई हटाउन सिनेटका दुई तिहाइ सदस्यहरूले उनीविरुद्ध मत खसाल्नुपर्ने हुन्छ। त्यो भनेको १०० सिनेट सदस्यमध्ये ६७ सांसदले राष्ट्रपतिविरुद्ध मतदान गर्नुपर्ने हुन्छ।

तर हाल सिनेटमा रहेका ५३ सदस्य रिपब्लिकन दलका छन् जसकारण ट्रम्पलाई हटाउन आवश्यक पर्ने मतको अभाव देखिन्छ।

अमेरिकामा हालसम्म दुई जना राष्ट्रपतिले महाभियोगको सामना गरेका छन्। सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जनसन र सन् १९९८ मा बिल क्लिन्टनविरुद्धको आरोप सिनेटले खारेज गरिदिएको थियो।

कानुनी शासनको रक्षा

सभामुख न्यान्सी पेलोसी
तस्बिरको क्याप्शन, ट्रम्पमाथि महाभियोगको छानबिन सुरु गर्ने घोषणा गर्दै सभामुख न्यान्सी पेलोसीले 'कोहीपनि कानुन भन्दा माथि नरहेको' र ट्रम्पलाई उनको कदमकालागि 'जवाफदेही ठहर्‍याउनुपर्ने' बताएकी थिइन्।

सफलताको सम्भावना कम भएपनि किन डेमोक्र्याटहरू महाभियोगको जटिल प्रक्रियामा जान खोजेका हुन्?

"मलाई लाग्छ कि कङ्ग्रेसका केही सदस्यहरूको मुख्य अभिप्राय कानुनी शासनको रक्षा मात्रै हो," क्यालिफोर्निया स्टेट विश्वविद्यालयकी अमेरिकी राजनीतिका प्राध्यापक किम्बर्ली नाल्डेरले बीबीसीसँग भने।

"राष्ट्रपति वा अन्य कोही पनि कानुनभन्दा माथि छैन भन्ने कुराको पुष्टि गर्ने खोजिएको हुनसक्छ।"

"यदि संसद्ले कुनै प्रतिक्रिया नजनाएको खण्डमा भविष्यमा ट्रम्प वा अन्य राष्ट्रपतिले संविधानलाई नमान्ने खतरा हुन्छ।"

ट्रम्पमाथि महाभियोगको छानबिन सुरु गर्ने घोषणा गर्दै सभामुख न्यान्सी पेलोसीले 'कोही पनि कानुनभन्दा माथि नरहेको' र ट्रम्पलाई उनको कदमकालागि 'जवाफदेही ठहर्‍याउनुपर्ने' बताएकी थिइन्।

यही सिद्धान्त कायम राख्नका लागि विफल हुने भएपनि उक्त कदम उठाइएको हुनसक्छ।

महाभियोग

"ट्रम्पमाथि महाभियोगको सम्भावना उनी राष्ट्रपति भएदेखि नै थियो। प्रत्येक नयाँ रहस्योद्घाटन र अभियोगबारे कङ्ग्रेसले कदम चाल्नुपर्ने आवाज उठेका थिए," बीबीसीका उत्तर अमेरिकी संवाददाता एन्थनी जाकर बताउँछन्।

युक्रेनी राष्ट्रपतिसँग ट्रम्पको फोन वार्ताबारे विवाद सुरु भए पछि ती भावना झन् उग्र भएका छन्।

"ट्रम्पले आफ्नो अधिकार प्रयोग गर्दै अन्य देशको सरकारलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई नोक्सान पुर्‍याउन सक्ने सूचना खोतल्न (वा उत्पादन गर्न) भनेको हुन सक्ने आशङ्काले डेमोक्र्याटहरुलाई महाभियोग बारे अघि बढ्ने स्पष्ट अधिकार दियो," जाकरले भने।

यस बाहेक थुप्रै अन्य कारणहरू पनि हुनसक्छ।

ट्रम्पका अजेन्डा तुहाउने प्रयास

क्लिन्टन
तस्बिरको क्याप्शन, क्लिन्टनको कार्यकाल सम्झँदा धेरैको मन मस्तिष्कमा उनको यौनकाण्ड आउँछ।

राष्ट्रपतिमाथि संसदीय प्रक्रियाको असर पक्कै पनि पर्ने छ।

महाभियोगको आरोपको प्रतिकार गर्न सजिलो हुँदैन।

सन् २०१८ मा महाभियोगको प्रस्तावको सामना गरेका क्लिन्टनको पछिल्लो दुई वर्ष संसदीय प्रक्रिया र त्यसले निम्त्याएका परिणाममै रुमलियो।

बीबीसी संवाददाता निक ब्रायन्टका अनुसार क्लिन्टनको विवेकहीन कदम र महाभियोगले सन् २०१६ मा राष्ट्रपति पदकी उम्मेदवार उनकी पत्नी हिलरीलाई समेत असर पार्‍यो।

आगामी चुनाव अभियानलाई धक्का

ट्रम्प
तस्बिरको क्याप्शन, सन् २०२० को निर्वाचनका लागि ट्रम्पले चुनावी अभियान सुरु गरिसकेका छन्।

सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनका लागि ट्रम्पले आफ्नो चुनावी अभियान सुरु गरिसकेका छन्।

जून १८ मा फ्लोरिडामा गरिएको औपचारिक अभियानमा हजारौँको सहभागिता थियो।

महाभियोगका कारण ट्रम्पको ध्यान मोडिने र त्यसले आगामी निर्वाचनमा उनलाई समस्या पर्न सक्ने बताइएको छ।

सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पका गतिविधि हेर्दा उनी निकै समय आफूलाई लागेका अभियोगबारे सोच्नमा खर्चिन्छन्।

तर कतिपय विश्लेषकहरूले भने उक्त परिस्थितिले डेमोक्र्याटहरुको समेत ध्यान मोड्ने बताएका छन्।

उनीहरूले ट्रम्पको महाभियोगमा समय खर्चनभन्दा विभिन्न मुद्दामा बहस गर्नु फाइदाजनक हुने विश्लेषकहरूको तर्क छ।

ट्रम्पविरुद्ध जनमत

निक्सन
तस्बिरको क्याप्शन, महाभियोगबाट बच्नका लागि निक्सनले राजिनामा गरेका थिए।

रिपब्लिकनहरूको बहुमत रहेको सिनेटबाट उक्त प्रस्ताव पारित नभए पनि समग्र प्रक्रियाले सर्वसाधारणको रायमा भने असर पार्न सक्छ।

डेमोक्र्याटिक दलबाट सन् २०२० को राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार जो बाइडनमाथि छानबिन गर्न युक्रेनलाई दबाब दिनका लागि सैन्य सहायता कटौती गरेको पुष्टि भए महाभियोगको समर्थन गर्ने ५५ प्रतिशत अमेरिकीहरूले एउटा सर्वेक्षणमा बताएका छन्।

यस्तै नयाँ कुराहरू खुल्दा राष्ट्रपतिले बचाउ गर्नै नसक्ने अवस्था उत्पन्न हुने सम्भावना छ र यसको इतिहास पनि छ।

"सन् १९७० को वाटरगेट काण्डको उदाहरण हेर्ने हो भने संसद्‍मा सुनुवाइ सुरु हुँदा जम्मा १९ प्रतिशत सर्वसाधारणहरूले राष्ट्रपति निक्सनलाई पदबाट निष्कासन गरिनुपर्ने र महाभियोग लगाइनुपर्ने बताएका थिए," प्राध्यापक नाल्डेरले बीबीसीसँग भने।

तर उक्त घटनाबारे नयाँ तथ्य बाहिरिन थाले पछि त्यो सङ्ख्या बढ्दै गयो।

"महाभियोगबाट बच्नका लागि राजीनामा गर्दा उनीविरुद्ध ५७ प्रतिशत सर्वसाधारण थिए," उनले भने।