कोरोना भाइरस खोपः चिनियाँ कम्पनी सिनोभ्याकले बनाएको खोपबारे हामीलाई के थाहा छ?

कोरोनाभ्याक
तस्बिरको क्याप्शन, धेरै देशले चीनमा उत्पादित कोरोनाभ्याक प्रयोग गर्ने योजना बनाएका छन्
Published

चीनको सिनोभ्याक नामक कम्पनीले उत्पादन गरेको कोभिड खोपको प्रभावकारिता पहिलेको तथ्याङ्कभन्दा उल्लेख्य कम अर्थात् ५०.४ प्रतिशत पाइएपछि त्यसप्रति चिन्ता व्यक्त हुन थालेको छ।

केही देशले उक्त खोपको आपत्कालीन प्रयोग थालिसकेका छन् भने केहीले त्यसो गर्ने योजना बनाएका छन्। दशौँ लाख खोपको मात्रा तयार भइसकेको छ।

अन्तिम चरणको परीक्षण गरिरहेका बुटान्टान इन्स्टिट्यूटका अनुसन्धानकर्ताहरूले कोरोनाभाइरसको मध्यमदेखि गम्भीर प्रकृतिको सङ्क्रमणमा उक्त खोप ७८ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक रूपमा बताएका थिए।

तर मङ्गलवार उनीहरूले आफ्नो तथ्याङ्कमा खोप लिए पनि थप उपचारको सहयोग नचाहिने एकदमै मध्यम खालको सङ्क्रमण देखिएका मानिसहरूको तथ्याङ्कलाई समावेश नगरिएको बताए।

उक्त तथ्याङ्कलाई समावेश गर्दा खोपको प्रभावकारिता ५०.४ प्रतिशतमा झरेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

कोरोनाभ्याकले कसरी काम गर्छ?

सिनोभ्याक
तस्बिरको क्याप्शन, सिनोभ्याक बेइजिङमा आधारित औषधि निर्माता कम्पनी हो

बेइजिङमा अवस्थित सिनोभ्याक बायोटेकले 'कोरोनाभ्याक' खोप विकास गरेको हो।

यस्तो खालको खोपमा भाइरस वा ब्याक्टेरियालाई निष्क्रिय पारी रोगको जोखिम नहुनेगरी शरीरमा प्रवेश गराइन्छ।

“कोरोनाभ्याक बढी परम्परागत किसिमको विधि हो जुन रेबीजसहित अरू चर्चित खोपमा सफलतापूर्वक प्रयोग गरिएको छ,” नान्याङ टेक्नोलजिकल यूनिभर्सिटीका सहप्राध्यापक लुओ दाहाई भन्छन्।

बीसीजी, दादुरा र रुबेला तथा ठेउलाको खोपमा निस्तेज भएको तर जीवित भाइरस वा ब्याक्टेरिया प्रयोग गरिन्छ।

‍सार्स-कोभ-२ कोरोनाभाइरसलाई लक्षित गरी बनाइएका फाइजर र मोडेर्नाका खोपहरूमा एमआरएनए विधि अवलम्बन गरिएको छ।

त्यसमा कोरोनाभाइरसको आनुवंशिक संरचनाको अंशलाई सुईको माध्यमबाट दिएर शरीरमा पूरा भाइरस नभएर भाइरसको प्रोटीन उत्पादन गर्न लगाइन्छ जुन शरीरको प्रतिरोध प्रणालीलाई सक्रिय बनाउन पर्याप्त हुन्छ।

प्राध्यापक लुओका अनुसार एमआरएनए नयाँ प्रकारको खोप हो र मानिसमा विगतमा सफलतापूर्वक यसको प्रयोग गरिएको उदाहरण छैन।

कोरोनाभ्याकका फाइदा र घाटा के हुन्?

कोरोनाभ्याक ब्रजिल
तस्बिरको क्याप्शन, कोरोनाभ्याक ब्रजिल (तस्बिरमा), टर्की र इन्डोनेशियामा परीक्षण गरिएको छ

कोभिड-१९ विरुद्धको खोप स्वीकृत हुनका लागि कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनुपर्ने प्रावधान विश्व स्वास्थ सङ्गठनले तोकेको छ। कोरोनाभ्याकको प्रभावकारिता त्यो सीमाभन्दा अलिकति मात्र माथि छ।

तर टर्की र इन्डोनेशियामा गरिएको परीक्षणको नतिजा भने फरक पाइएको थिएन।

डिसेम्बरमा टर्कीमा गरिएको ठूलो स्तरको परीक्षणले उक्त खोप ९१.२५ प्रतिशत प्रभावकारी देखाएको थियो।

यो साता अन्तरिम तथ्याङ्कलाई उद्धत गर्दै इन्डोनेशियाले ६५.३ प्रतिशत प्रभावकारी रहेको पाइएको घोषणा गरेको थियो।

प्रतिस्पर्धी खोपमध्ये फाइजर र बायोएन्टेक खोप ९५ प्रतिशत, मोडेर्ना खोप ९४ प्रतिशत, रुसी स्पुत्निक-भीले ९० प्रतिशत र एस्ट्राजेनेका/अक्सफर्ड खोप ६२ देखि ९० प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ।

मोडेर्नाको खोप माइनस २० डिग्री र फाइजरको खोप माइनस ७० डिग्री सेल्सीअस तापक्रममा भण्डारण गर्नुपर्छ।

चिनियाँ खोपको प्रमुख लाभ भनेको त्यसलाई एस्ट्राजेनेका-अक्सफर्ड खोपजस्तै साधारण रेफ्रिजेरेटरमा दुई देखि आठ डिग्री सेल्सीअस तापक्रममा भण्डारण गर्न सकिन्छ।

यसको अर्थ एकदमै चिसो तापक्रम कायम गर्ने सीमित क्षमता भएका विकासशील देशहरूका लागि यी खोप बढी प्रभावकारी हुनसक्छन्।

तर के अरू देशले यो खोप प्रयोग गर्लान्?

इन्डोनेशिया कोरोनाभ्याक
तस्बिरको क्याप्शन, इन्डोनेशियाका राष्ट्रपति विदोदो कोरोनाभ्याक खोप लिँदै

ब्रजिलका अनुसन्धानकर्ताहरू खोप आवश्यक पर्ने मध्यम सङ्क्रमणमा अझै पनि ७८ प्रतिशत प्रभावकारी रहेको र मध्यमदेखि गम्भीर प्रकृतिको सङ्क्रमण रोक्न शत प्रतिशत प्रभावकारी रहेको बताउँछन्।

ब्रजिलको खोप समाजकी उपाध्यक्ष इजाबेला बलालाईले कुनै खोपभन्दा पनि खोप रणनीति महत्त्वपूर्ण रहेको बताइन्।

उनले शिशु र साना बच्चालाई सङ्क्रमण गरिरहेको रोटाभाइरस सफलतापूर्वक नियन्त्रण गर्न ब्रजिलका स्वास्थ्य अधिकारीहरू सफल भएको उदाहरण दिइन्।

सन् २००६ यता व्यापक रूपमा प्रयोग भइरहेको उक्त खोपको प्रभावकारिता ४० देखि ५० प्रतिशत छ तर त्यसले ज्यान लिने र अस्पताल नै भर्ना हुनुपर्ने तहको जोखिम भने नियन्त्रण गर्छ।

ब्रजिलका अधिकारीहरूले तथ्याङ्कलाई थप अध्ययन गरिरहेका छन् र त्यसपछि खोपको प्रयोगलाई अनुमति दिने या नदिने निर्णय लिनेछन्।

अरू देशमा यो खोप प्रयोगमा आइसकेको छ।

चीनले जुलाई महिनामै उच्च जोखिममा रहेको समूहलाई आपत्कालीन रूपमा यो खोप प्रयोग गर्न अनुमति दिएको थियो।

टर्कीले केही दिनभित्रै यो खोप कार्यक्रम अघि बढाउन लागेको छ।

इन्डोनेशियामा त्यहाँका राष्ट्रपतिले बुधवारमात्रै खोप लिएका छन् र बृहत् खोप कार्यक्रम भर्खरै अघि बढेको छ।

केही देशहरूले ब्रजिलको परीक्षणको परिणामलाई सावधानीपूर्वक लिएका छन्।

युक्रेनले ७० प्रतिशतभन्दा कम प्रभावकारी देखिए १९ लाख खोपको मात्राको रकम फिर्ता माग्ने बताएको छ।

थाईल्यान्डले कोरोनाभ्याक प्रयोग गर्ने योजनामा फेरबदल नभएको भए पनि सिनोभ्याकसँग थप जानकारी मागेको जनाएको छ।

सिङ्गापुरले मोडेर्ना, कोरोनाभ्याक र फाइजर बायोएन्टेक तीनथरी खोप भित्र्याउने योजना भए पनि फाइजर बायोएन्टेकले मात्रै अनुमति पाएको जनाएको छ।

कोरोनाभ्याकको मूल्य कति पर्छ?

कोरोनाभ्याक
तस्बिरको क्याप्शन, कोरोनाभ्याकको प्रभावकारितासम्बन्धी नयाँ तथ्याङ्कप्रति केही देशले चासो व्यक्त गरेका छन्

यो खोपको मूल्य अझै स्पष्ट भइसकेको छैन।

यसै वर्षको सुरुमा बीबीसीको टोलीले चिनियाँ सहर यीउमा नर्सहरूले कोरोनाभ्याक खोप झन्डै ४०० युआन अर्थात् ६० डलर शुल्क लिएर लगाइरहेको देखेको थियो।

इन्डोनेशियाको सरकारी फर्म बायोफर्माका अनुसार स्थानीय बजारमा मूल्य झन्डै १३.६ डलर रहेको छ।

यो प्रतिमात्रा चार डलरमा उपलब्ध अक्सफर्ड खोपभन्दा निकै बढी हो। तर ३३ डलर प्रतिमात्रा पर्ने मोडेर्ना खोप भन्दा कम हो।

सिनोभ्याकले २० हजार वर्गमिटर क्षेत्रफलमा स्थापना गरिएको नयाँ उद्योगमार्फत् एक वर्षमा ३० करोड मात्रा खोप उत्पादन गरिने जनाएको छ।

मोडेर्नाले सन् २०२१ सम्ममा ५० करोड मात्रासम्मको खोप बजारमा पठाउने लक्ष्य लिएको छ।

अक्सफर्ड एस्ट्राजेनेकाले चाहिँ सन् २०२१ को पहिलो चार महिनामा ७० करोड खोपका मात्रा उत्पादन गर्ने बताएको छ।