कोरोना भाइरस उपचारः रुसी नागरिकहरू किन स्पुत्निक खोपबारे विश्वस्त हुनसकेका छैनन्

खोप
Published

डिसेम्बर महिनाको सुरुमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले धेरैलाई आश्चर्यचकित पार्दै डिसेम्बर ५ देखि आफ्नो देशमा कोरोनाभाइरसविरुद्ध ठूलो परिमाणमा खोप कार्यक्रम सुरु हुने घोषणा गरे।

"खोपबारे मलाई मात्रै जानकारी दिनुभन्दा आगामी सातादेखि खोप दिन नै सुरु गरौँ," उनले उपप्रधानमन्त्री तातियाना गोलिकोभालाई त्यसको केही दिनअघि भनेका थिए।

"पक्कै पनि," उनले उत्तर दिइन्।

स्पुत्निक खोप सार्वजनिक गर्ने विषय साँच्चै सुरु भइसकेको छ। तर यसबारे सर्वसाधारणहरूको संशय व्यक्त गरिरहेका छन्।

विश्वभरि लाखौँको मृत्युको कारण बनेको कोरोनाभाइरसविरुद्धको खोप लगाएर बस्न आखिर किन रुसीहरू आनाकानी गरिरहेका छन् त?

खोप लगाउन हतार छैन

खोप
तस्बिरको क्याप्शन, सुरुमा चिकित्सकीय सेवामा कार्यरत, शिक्षक र सामाजिक सेवामा लागेका व्यक्तिहरूलाई स्पुत्निक खोप दिइएको थियो

मस्कोमा बस्ने रुसीहरूका लागि खोप लगाउने काम सहज नै देखिन्छ। उनीहरूले एउटा वेबसाइटमा गएर खोपका लागि आफ्नो नाम दर्ता गर्न सक्छन्।

सुरुमा १८ देखि ६० वर्षका चिकित्सकीय सेवामा लागेका, शिक्षक र सामाजिक सेवामा लागेका मानिसहरूलाई खोप दिइएको थियो।

खोप निःशुल्क रूपमा उपलब्ध गराइएको थियो र मस्कोका नगरप्रमुखको कार्यालयका अनुसार ५,००० मानिसले सुरुका केही घण्टामै आफ्नो नाम दर्ता गरेका थिए।

बीबीसी संवाददाताहरूले त्यसको दुई हप्तासम्म मस्कोका कैयौँ क्लिनिक खाली देखे।

एउटा रुसी पत्रिकाका अनुसार एक नर्सले सोमवार खोप लिन कोही पनि नआएपछि स्पुत्निकको मात्रा फ्याँक्नुपरेको थियो।

कम सङ्ख्या

खोप

मस्कोको एउटा खोप केन्द्रमा उपस्थित केही यस्ता सर्वसाधारण थिए जो खोपबारे पूर्ण रूपमा विश्वस्त थिए। तर सङ्ख्या कम हुनुले त्यस्तो विश्वास सबैमा नरहेको सङ्केत गर्छ।

सुरुमा खोप दिइने भनिएकाभन्दा फरक समूहका मानिसहरूलाई समेत खोप दिइएको प्रमाण छन्।

बीबीसीले कुरा गरेको धेरैले आफूहरूलाई खोप प्राप्त गर्ने समूहमा रहेको प्रमाणित गर्नका लागि आवश्यक पर्ने कागजपत्र पनि नमागिएको बताए।

भरोसा

खोप

रुसी खोप गत अगस्ट महिनाको ११ तारिखमा त्यहाँको स्वास्थ्य मन्त्रालयमा दर्ता गरिएको थियो। दोस्रो चरणको क्लिनिकल परीक्षण सम्पन्न भएको भोलिपल्टै हतारहतार त्यसो गरिएको थियो।

खोपको परीक्षण सामान्यतया तीन चरणमा गरिन्छ। सामान्यतया पश्चिमा राष्ट्रका नियामकहरूले तेस्रो चरणको परीक्षणको नतिजा आएपछि मात्रै खोप लाई प्रमाणित गर्ने गर्छन्।

स्पुत्निकको तेस्रो चरणको परीक्षण अझै जारी छ भने यसको दोस्रो चरणको परीक्षण पनि निकै कम अनुपातमा गरिएको थियो।

खोप
तस्बिरको क्याप्शन, स्पुत्निकबारे निकै कम तथ्य सार्वजनिक गरिएको छ

दोस्रो चरणको परीक्षणमा जम्मा ७६ जना स्वयंसेवक सहभागी भए। त्यसमा पनि सबै स्वस्थ पुरुष अनि महिला सहभागी थिए। साठी वर्षभन्दा माथिका कोही थिएनन्।

यूकेको अक्सफर्ड यूनिभर्सिटीले बनाएको खोपको सुरक्षासम्बन्धी परीक्षणमा २५६ जना सहभागी थिए।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

त्यस्तै फाइजर-बायोएन्टेकले विकास गरेको खोपको उहीँ चरणको परीक्षणमा ४५६ र मोडेर्नाको हकमा ६०० जना सहभागी भएका थिए।

यीमध्ये कुनै पनि खोपलाई दोस्रो चरणको परीक्षणलगत्तै दर्ता गरिएको थिएन।

तथ्याङ्कको कमी

खोप
तस्बिरको क्याप्शन, स्पुत्निक खोप कोरोनाभाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको दाबी रुसको छ

हाल उपलब्ध खोपमध्ये रुसको स्पुत्निकबारे सबैभन्दा कम जानकारी उपलब्ध छ। यसको परीक्षणको तथ्याङ्कमा वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय समुदायलाई पहुँच उपलब्ध गराइएको छैन।

प्रेस विज्ञप्तिका रूपमा सामान्य तथ्याङ्क मात्रै सार्वजनिक गरिएको छ।

योभन्दा नितान्त फरक फाइजरले २०,००० मानिसमा गरेको परीक्षणको तथ्याङ्क उपलब्ध छ भने मोडेर्नाको १५,००० अनि अक्सफर्डको १०,००० सर्वसाधारणको परीक्षणको जानकारी उपलब्ध छ।

अमेरिका र युरोपमा विकास गरिएका खोपजस्तै स्पुत्निकले कोरोनाभाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको दाबी रुसको छ।

तर उसको दाबी अन्तरिम नतिजाका आधारमा तय गरिएको छ। त्यस्तै परीक्षणकै बेला ३९ जना सहभागीलाई कोरोनाभाइरस लागेको थियो।

परीक्षणमा स्वयंसेवक

खोप

परीक्षणकै चरणमा समेत केही रुसीहरूमा संशय र अविश्वास देखिएको थियो। स्पुत्निकको परीक्षणमा ४०,००० स्वयंसेवकहरूको सहभागिता हुने अपेक्षा गरिएको थियो।

अक्टोबरमा बीबीसीले मस्कोस्थित परीक्षण केन्द्रको भ्रमण गरेको थियो र स्वयंसेवकहरूसँग कुराकानी गरेको थियो।

तीमध्ये धेरै वास्तविक स्वयंसेवक थिएनन्। सहरका विभिन्न निकायहरूमा कार्यरत मानिसहरूलाई त्यहाँ पठाइएको थियो।

उनीहरूलाई परीक्षणमा सहभागी भएको प्रमाण आफ्ना व्यवस्थापकलाई देखाउन प्रोत्साहन गरिएको थियो।

सहभागीहरूले बीबीसीलाई बताएअनुसार त्यसो नगर्दा तीन महिनाको अवधिमा बाँडिने अतिरिक्त रकम (बोनस) जोखिममा पर्न सक्ने हुन्थ्यो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसको खोप कहिले तयार हुन्छ?