समुद्रको पीँधमा पत्ता लागेको एउटा विशाल जीव

बेथिनोमस
तस्बिरको क्याप्शन, नयाँ जीव बेथिनोमस प्रजातिको हो र यो गहिरो समुद्रमा बस्छ
Published

कोरोनाभाइरसको विश्वव्यापी महामारीदेखि सलहको ठूलो बथानसम्मका कारण यो वर्ष विज्ञानसम्बन्धी समाचार एकदमै अस्वभाविक रह्यो।

अहिले इन्डोनेशियामा वैज्ञानिकहरूले समुद्रको गहिरो भागमा बस्ने एउटा ठूलो जीव भेटिएको घोषणा गरेका छन्।

उनीहरूले बाहिरी हाड हुने त्यस्तो पानी जीवलाई एउटा विशाल साङ्लो जस्तो भनी व्याख्या गरेका छन्।

नयाँ जीव बेथिनोमस प्रजातिको हो र यो गहिरो समुद्रमा बस्छ। यसको शरीरको माथिको भाग काठजस्तै सारो खालको हुन्छ।

बेथिनोमस राक्सा (इन्डोनेशियाली भाषामा "एकदमै विशाल") इन्डोनेशियाको समुद्री तट जाभा र सुमत्राको बीचमा रहेको सुन्डाको खाडीमा पाइएको हो।

यो हिन्द महासागरको समुद्री सतहभन्दा ९५७ मिटरदेखि १,२५९ मिटरको बीचमा पाइएको हो।

वयस्क हुँदा ३३ सेन्टिमिटर औसत भए यो जीवलाई आकारमा "अतिविशाल" भनिन्छ।

बेथिनोम प्रजातिका अन्य जीव टाउकोदेखि पुच्छरसम्म ५० सेन्टिमिटर पनि हुन्छन्।

बेथिनोमस
तस्बिरको क्याप्शन, बेथिनोमस प्रजातिको यो जीव टाउकोदेखि पुच्छरसम्म ३३ सेन्टिमिटर लम्बाइको छ

"यसको आकार खासमा एकदमै ठूलो छ र बेथिनोमस प्रजातिमध्ये दोस्रो ठूलो जीव हो," इन्डोनेशियन इन्स्टिट्यूट अफ साइन्सेजका प्रमुख अनुसन्धानकर्ता कोनी मार्गरेथाले भने।

विश्वमा यो प्रजातिका अहिलेसम्म पत्ता लागेका जम्मा सातवटा मात्रै जीव छन्।

जूकिज नामक जर्नलमा बताइए अनुसार इन्डोनेशियाको गहिरो समुद्री क्षेत्रमा यस्तो खालको अनुसन्धान बिरलै भएका छन् र त्यहाँ बेथिनोमस पत्ता लागेको यो पहिलोपटक हो।

लीपीका पशुशास्त्रका कार्यवाहक प्रमुख चाह्यो रहमादीले यो अन्वेषणले "इन्डोनेशियाको जैविक विविधताको क्षमता कति छ भनेर खुलासा हुन बाँकी नै रहेको" सङ्केत गरेको बताए।

एकदमै ठूलो

बथिनोमस
तस्बिरको क्याप्शन, अतिविशाल आइसोपड्स ५० सेन्टिमिटरसम्म बढ्न सक्छ

लन्डनको न्याचुरल हिस्ट्री म्यूजियम एनएचएमका अनुसार गहिरो समुद्रमा पाइने आइसोपड्सहरू किन धेरै ठूला हुन्छन् भन्ने व्याख्या गर्न थुप्रै सिद्धान्तहरू छन्।

एउटा सिद्धान्त अनुसार समुद्रको गहिरो भागमा बस्ने जनावरलाई धेरै अक्सिजन चाहिन्छ त्यसैले लामो खुट्टासहित उनीहरूको शरीर पनि ठूलो हुन्छ।

अर्को कारण भनेको गहिरो समुद्रमा बस्ने हुँदा यिनीहरूलाई अन्य जीवको खतरा हुँदैन र सुरक्षित भएर ठूलो आकारमा हुर्किन पाउँछन्।

साथसाथै, यो प्रजातिको शरीरमा कम मासु हुने भएकोले अन्य जीवको शिकार हुने सम्भावना पनि कम रहन्छ।

बेथिनोमसको लामो एन्टेना र ठूलो आँखा हुन्छ जसका कारण अँध्यारोमा पनि राम्रोसँग देख्न सक्छ।

तर अनौठो र डरलाग्दो देखिने भए पनि खासमा यो खतरनाक जीव होइन।

यो जीवले समुद्रको तल मरेर रहेका जीवहरू खोजेर खान्छ।

एनएचएमका अनुसार यो जीवलाई भोक कम लाग्छ किनभने जापानमा नियन्त्रणमा राखिएको एउटा विशाल आइसोपड पाँच वर्षसम्म केही नखाइ पनि बाँचेको बताइन्छ।

बेथिनोमस
तस्बिरको क्याप्शन, बेथिनोमस गहिरो समुद्रमा पाइने मरेका अन्य जीव खाएर बस्छ र यसलाई एकदमै कम भोक लाग्छ

इन्डोनेशियाको सरकारी निकाय लीपी, सिङ्गापुरको न्याश्नल युनिभर्सिटी र न्याचुरल हिस्ट्री म्यूजियमले यो अनुसन्धान गरेका हुन्।

सन् २०१८मा भएको दुई साता लामो अभियानका क्रममा अनुसन्धान गर्ने उक्त टोलीले ६३ वटा फरक क्षेत्रका हजारौँ जीवहरू जम्मा गरेका थिए र दर्जनौँ नयाँ जीव पत्ता लगाएका थिए।

उक्त टोलीका अनुसार बेथिनोमसको भाले र पोथी भेटिएको थियो र तिनीहरूको लम्बाइ ३६.३ सेन्टिमिटर र २९.८ सेन्टिमिटर रहेको छ।