कोरोना भाइरस ब्रजिल: सङ्क्रमितको सङ्ख्या २० लाख, देश कसरी जेलियो कोभिड-१९ महामारीको जालोमा

ब्राजिल
तस्बिरको क्याप्शन, मृत्यु हुने क्रम बढेपछि शवहरू गाड्न ठूला चिहानहरू खन्न थालिएको छ
Published

ब्रजिलमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या २० लाख नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यहाँ अमेरिकापछि सबैभन्दा धेरै ७४,००० भन्दा बढी मानिसको कोभिड-१९ का कारण मृत्यु भइसकेको छ।

तर त्यहाँ पर्याप्त परीक्षण नभएको भन्दै प्रभावित व्यक्तिको वास्तविक सङ्ख्या निकै धेरै हुनसक्ने ठानिएको छ।

प्रभाव

अधिकारीहरूले ब्रजिलको अतिप्रभावित अमेजन क्षेत्रमा शवपेटिका सकिन लागेको बताएका छन्।

मृत्युको क्रम बढेपछि शवहरू गाड्न ठूला चिहानहरू खन्न थालिएको छ।

वर्षावन भएको उक्त क्षेत्रमा गरिबी र कुपोषणका कारण कोभिड-१९ सँगको सङ्घर्ष चुनौतीपूर्ण हुने ठानिएको छ।

ब्रजिल
तस्बिरको क्याप्शन, जुन २० मा ब्रजिलमा सङ्क्रमितको सङ्ख्या १० लाघ नाघेको थियो

त्यहाँ आदिवासी समुदायहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

उनीहरूको पहुँच स्वास्थ्यसेवामा छैन।

तर मुख्य सहरहरू रीओ ड जनीरो र साउ पाउलोमा सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ।

घटनाक्रम

सङ्क्रमणको केन्द्रबिन्दु बनेको साओ पाउलोका नगरप्रमुखले मे महिनामा एउटा चेतावनी दिँदै पर्याप्त बजेट नभएकाले स्वास्थ्य प्रणाली धराशायी हुने अवस्थामा रहेको बताएका थिए।

त्यहाँ अस्पतालहरूमा बिरामीको चाप थामिनसक्नु भएको बताइन्छ।

अहिले थुप्रै अस्थायी संरचनामा अस्पतालहरू बनाइएको छ।

राष्ट्रपति बोल्सोनारुले अर्थतन्त्रलाई असर गर्ने भन्दै कडा प्रतिबन्धहरू लगाउन मानेका छैनन्।
तस्बिरको क्याप्शन, राष्ट्रपति बोल्सोनारुले अर्थतन्त्रलाई असर गर्ने भन्दै कडा प्रतिबन्धहरू लगाउन मानेका छैनन्

जुन २० मा ब्रजिल सङ्क्रमितको सङ्ख्या १० लाख नाघ्ने दोस्रो मुलुक बनेको थियो।

बीबीसीकी केटी वाट्सन भन्छिन्, "यहाँको अवस्था अगस्ट वा सेप्टेम्बरको अन्त्यसम्म सहज हुने देखिँदैन। तर यसबीचमै प्रमुख सहरहरूमा पसल, बार र रेस्टुराँहरू खुल्न थालिसकेका छन्।"

राष्ट्रपतिको आलोचना

कोभिड-१९ महामारीबाट अतिप्रभावित उक्त दक्षिण अमेरिकी देशका नागरिकहरूले राष्ट्रपति बोल्सोनारू त्यस्तो अवस्था आउनका लागि जिम्मेवार भएको आरोप लगाएका छन्।

बोल्सोनारुले 'सामान्य रुघा' भन्दै कोरोनाभाइरस सङ्क्रमणलाई गम्भीरतापूर्वक लिएका थिएनन्।

राजधानी ब्राजिलियामा आयोजित एउटा विरोधप्रदर्शनमा राष्ट्रपति बोल्सोनारू पनि सहभागी भएका थिए
तस्बिरको क्याप्शन, राजधानी ब्राजिलियामा आयोजित एउटा विरोधप्रदर्शनमा राष्ट्रपति बोल्सोनारू पनि सहभागी भएका थिए

तर यतिखेर उनलाई नै सङ्क्रमण भएको छ।

राष्ट्रपति बोल्सोनारूले अर्थतन्त्रलाई असर गर्ने भन्दै कडा प्रतिबन्धहरू लगाउन मानेका छैनन्।

अवस्था बिग्रिँदै जाँदा केही ठाउँमा राज्य र स्थानीय निकायहरूले आफैँ प्रतिबन्धहरू लगाउन सुरु गरेका छन्।

घरमै बस्ने आदेश र अन्य केही प्रतिबन्धहरूलाई उग्र दक्षिणपन्थी बोल्सोनारूले आलोचना गर्दै त्यो 'तानाशाही' हुने बताएका थिए।

राजधानी ब्राजिलियामा लकडाउन विरोधीहरूको एउटा प्रदर्शनमा उनि पनि सहभागी भएका थिए।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर